s

म्यानपावर निर्देशकलाई राजदूत सिफारिस

होम कार्की 
  
सरकारले नेपाली कामदार वैदेशिक रोजगारीमा पठाउने व्यक्तिलाई रोजगारदाता मुलुक ओमनका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गरेको छ । दुबईलाई बेस बनाएर खाडी तथा मलेसियाका कम्पनीलाई कामदार पठाउने कार्यमा क्रियाशील सर्मिला पराजुलीलाई मन्त्रिपरिषद्को बैठकले ओमनको राजदूतमा सिफारिस गरेको हो ।
 
उपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदारको पार्टी मधेसी जनधिकार फोरम लोकतान्त्रिकको कोटामा उनी राजदूत सिफारिसमा परेकी हुन् ।
 
सन् २०१४ सेप्टेम्बरदेखि ओमनमा नेपाली दूतावास खुलेको थियो । संसदीय सुनुवाइपछि उनी ओमनका लागि नेपाली पहिलो राजदूत हुनेछिन् । उनको परिवारै म्यानपावरको क्षेत्रमा क्रियाशील छ ।
 
उनी दुबईमा रहेको ‘बीएसडी ह्युमन रिसोर्स सोलुसन’, ‘रोयल डाइमन्ड रिक्रुटमेन्ट, एलएलसी’ र नेपालमा रहेको म्यानपावर फ्लोरिड ह्युमन रिसोर्स सोलुसनका निर्देशक भएको बंगलादेशमा रहेको ग्रिनल्यान्ड ओभरसिज/ट्रेनिङ सेन्टरको वेबसाइटमा उल्लेख छ । पराजुली त्यस ओभरसिजका ‘ओभरसिज डाइरेक्टर’ हुन् ।
 
पूर्वराजदूत सूर्यनाथ मिश्रले ‘म्यानपावरका डाइरेक्टरलाई राजदूत बनाउने कार्य गलत’ भएको बताए । ‘खाडीमा जति नेपालीको दयनीय स्थिति छ, त्यो सबै म्यानपावरवालाहरूको बदमासीले हो,’ चार वर्ष कतारमा सफल कार्यकाल पूरा गरेर फर्केका मिश्रले कान्तिपुरलाई भने, ‘म्यानपावरवालाहरू कामदारको हितभन्दा व्यवसायको उत्थानमा लाग्ने कार्य स्वाभाविक छ । यो त माछोको रेखदेख गर्न बकुलोलाई जिम्मा दिएजस्तै हो ।’
 
बीएसडीले खाडीका विभिन्न कम्पनीलाई स्रोत देशबाट कामदार आपूर्ति गरेर दिने काम गर्छ । ‘१० वर्षभन्दा बढी समयदेखि मानव संसाधन आउटसोर्सिङ (सप्लाई) गर्ने कार्यमा उच्च अनुभव छ,’ बीएसडीको वेबसाइटमा उल्लेख छ, ‘कामदारको सप्लाई लाइनको अन्त्यसम्म गएर काम गर्नुका साथै सही कामदारको आपूर्ति तथा छनोट गर्नेछौं ।’
 
रोयल डाइमन्ड कम्पनीले यूएई तथा खाडी क्षेत्रका कम्पनीको मागअनुसार कामदार आपूर्ति गर्ने गर्छ । यसले कम्पनीमा गएर मागपत्र खोज्ने र नेपालसहित स्रोत देशमा पुगेर कामदार खोजेर दिने काम गर्ने रोयलको वेबइसाइटमा उल्लेख छ ।
 
‘दुबई बेस यो कम्पनी कामदार आपूर्तिको क्षेत्रमा अग्रणीमा पर्छ । हामी उड्डयन, इन्जिनियरिङ, स्वास्थ्य सेवा, हस्पिटालिटी, कार्यालय सहायक, सुरक्षा गार्ड तथा व्यवस्थापन सहजीकरणका लागि कामदार आपूर्ति गर्छौं,’ रोयलको वेबसाइटमा उल्लेख छ, ‘निजी, सार्वजनिक, अर्धसरकारी र सरकारी क्षेत्रमा कामदार आपूर्ति गरिरहेको छ । कामदार आपूर्ति गर्ने कार्य दैनिकजसो बढिरहेको छ ।’
 
पराजुलीको बंगलादेशमा रहेको ग्रिनल्यान्ड ओभरसिजले कामदारको भिसा पठाउने काम गर्छ । उनी र उनका श्रीमान् बिमल ढकाल यूएईमा बसेर काम गर्छन् भने जेठाजु कमल ढकाल काठमाडौं बसेर फ्लोरिड म्यानपावरको काम हेर्छन् ।
 
नेपाल बिजनेस काउन्सिल यूएईको उपाध्यक्षसमेत रहेकी पराजुली यूएई आउनुअघि उनी मलेसियामा कार्यरत थिइन् । उनले आफू म्यानपावरसँग सम्बन्धित कम्पनीमा आबद्ध नरहेको भन्दै ‘ग्रिनलाइनको वेबसाइट अपडेट नभएको’ बताइन् ।
 
‘ग्रिनल्यान्ड ट्रेनिङ सेन्टरको मात्रै निर्देशक हो । रोयल डाइमन्ड, बीएसडी र फ्लोरिड म्यानपावरमा म छैन । मेरो पारिवारिक बिजनेस हो,’ उनले कान्तिपुरलाई भनिन्, ‘काठमाडौंमा डिस्काउन्ट कार्डबाट बिजनेस सुरु गरेको हो । अहिले मेरो शैक्षिक, हाइड्रोपावर र ट्राभलको क्षेत्रमा लगानी छ ।’
 
आफू १७ वर्षको उमेरदेखि पढाइ र बिजनेसलाई सँगै लिएर जान सकेकाले छोटो समयमा सफलता लिन सकेको उनले बताइन् । ‘मेरै मध्यस्थतामा बहराइन र नेपालबीच श्रम सम्झौता भएको हो,’ उनको दाबी छ, ‘अब ओमनमा राजदूत भएर जान पाएमा मैले दुई देशबीच हुन नसकेका सम्झौता गराउन सक्छु । नेपाली कामदारको हितका लागि महत्त्वपूर्ण काम गर्न सक्छु ।’
 
Published on : 11 May 2016 | Kantipur

Back to list

;