s

‘म्यानपावर नवीकरण गर्न वार्षिक एकसय कामदार पठाएको प्रमाण ल्याउनु’

वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई प्रत्येक वर्ष कम्तिमा एकसय कामदार वैदेशिक रोजगारीमा पठाएको प्रामाणीत कागजात लिएर नवीकरणका लागि उपस्थित हुन आग्रह गरेको छ।

 

एक सूचनामार्फत् विभागले असार मसान्तभित्र इजाजत नवीकरणका लागि आग्रह गरेको हो।

नवीकरणका लागि संस्थाको निवेदनसहित अघिल्लो आर्थिक वर्षको आय विवरण बुझाएको भरपाई वा आयकर दाखिला गरेको प्रमाण समेत पेश गर्नु पर्नेछ।

विभागबाट प्राप्त इजाजतपत्रको प्रतिलिपि, नगद धरौटी र बैंक ग्यारेन्टीको प्रतिलिपिसहित उपस्थित हुन विभागले आग्रह गरेको छ।

 

वैदेशिक रोजगार नियमावली २०६४ (पाँचौँ संसोधन) मा पछिल्ला दुई आर्थिक वर्षमा प्रत्येक वर्ष कम्तिमा एक सय कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपावर कम्पनीको इजाजत स्वतः खारेज हुने व्यवस्था छ। तर, कोरोना महामारीका कारण म्यानपावरहरुले तोकिएको संख्यामा कामदार पठाउन सकेका छैनन्।

गत वर्ष पनि कोभिडका कारण लामो समय वैदेशिक रोजगारी ठप्प हुँदा अधिकांश म्यानपावर खारेजीको जोखिममा परेका थिए। तर कोभिडको कारण देखाउँदै सरकारले तोकिएको संख्यामा कामदार पठाउन नसक्ने म्यानपावरलाई छुट दिएको थियो।

यो वर्ष पनि निषेधाज्ञाका कारण नयाँ श्रम स्वीकृति रोकिएको छ। एकाध म्यानपावर बाहेक अरुले तोकिएको संख्यामा कामदार पठाउन सकेका छैनन्।

महामारीको अवस्थालाई मध्यनजर गर्दै यो वर्ष पनि सरकारले छुट दिनुपर्ने माग व्यवसायीहरुको छ। महामारीको चपेटामा परेका वैदेशिक रोजगार व्यवसायीहरुको समस्या सम्बोधनमा सरकारले चासो नदेखाएको उनीहरुको आरोप छ।

म्यानपावरसँगै अभिमूखिकरण तालिम प्रदायक संस्था, सीपमूलक तालिम प्रदायक संस्थालाई समेत नवीकरणका लागि आवश्यक कागजातसहित उपस्थित हुन विभागले आग्रह गरेको छ।

Published on: 17 June 2021 | Setopati

Link

Back to list

;