s

म्यानपावर व्यवसायी नसुध्रिए कारबाही गर्ने मन्त्री विष्टको चेतावनी

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण  विष्टले म्यानपावर व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएका छन्। कामदारमाथि ठगी गर्ने अवैधानिक संस्थाको बन्दसँगै मलेसिया रोजगारी बन्द भएको विषयमा छलफल गर्न मन्त्रालयमा पुगेका कर्मचारीलाई सुध्रिएर काम गर्न सुझाव दिँदै मन्त्री विष्टले नसुध्रिए कारबाही गर्ने चेतावनी दिएका हुन्। 
 
व्यवसायीसँगको छलफलमा मन्त्री विष्टले म्यानपावर व्यवसायी निश्चित मापदण्डमा  बस्नुपर्ने बताए। ‘पहिलाको जस्तो अवस्था छैन। यो पेसा व्यवस्थित, मर्यादित र सम्मानित बनोस भन्ने राज्यको चाहना हो’, मन्त्री विष्टले भने, ‘सुधार भएको छैन। तपाईं आफैं सुध्रनु पर्ने हुन्छ।’ व्यवसायीले मन्त्रीसँग मलेसियाको रोकिएको रोजगारी,  कम्पनीको धरौटी वृद्धिलगायतका विषयमा जिज्ञासा राखेका थिए।
 
नेपाली कामदार पठाउने सन्दर्भमा अनाधिकृत पैसा उठाउँदै आएका विभिन्न संस्था फेरि सञ्चालन हुन नसक्ने अडान मन्त्री विष्टले व्यवसायीसँग राखेका छन्। मन्त्रालयले निर्णय गर्नुपूर्व नै सबै प्रक्रिया पूरा गरी अन्तिम श्रम स्वीकृती  गर्न बाँकी रहेका कामदारको विवरण मन्त्री विष्टले व्यवसायीसँग माग गरेका थिए। विवरण आएपछि अध्ययन गरेर उपयुक्त निर्णय लिने मन्त्री विष्टको भनाइ छ। 
 
मन्त्रीले व्यवसायीसँगको भेटमा अबैध ठगीमा संलग्नमाथि छानबिन भइरहेको बताएका छन्। ‘छानबिन जारी छ। दोषी भेटिए जोकोहीलाई कारवाही हुन्छ। सबै कानुनी दायरामा आउँछन्’, मन्त्री विष्टले भने, ‘मन्त्रालय तथा प्रहरीको समन्वयमा अहिले प्रमाणको खोजी भइरहेको छ।’
 
मन्त्री विष्टले अहिलेकै संख्यामा म्यानपावर कम्पनीको आवश्यकता नरहेकोसमेत प्रष्ट पारेका छन्। ‘अहिलेको संख्यामा कम्पनीको आवश्यकता छैन’, मन्त्री विष्टले भने, ‘म्यानपावर कम्पनीका लागि निश्चित मापदण्डमा फेरबदल हुन्छ। संख्या यति नै भन्ने होइन। तर राज्यले निर्धारण गर्ने मापदण्डमा अटाउने मात्रै व्यवसायका लागि योग्य हुन्छन्।’ व्यवसाायीसँगको भेटमा मन्त्री विष्टले जायज मागको मात्र सुनुवाइ हुनेसमेत प्रष्ट पारेका छन्। 
 
Published on: 8 July 2018 | Annapurna Post

Back to list

;