s

म्यानपावर व्यवसायीद्वारा धरौटीको ब्याज दिन माग

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वाणिज्य बैंकमा धरौटी बापत् बैंकमा राखेको पैसाको ब्याज दिन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । संघले बिमा कम्पनीहरुले बिमा कारोबार गर्न राख्नुपर्ने धरौटी रकमको ब्याज पाउने भन्दै म्यानपावर व्यवसायीलाई पनि ब्याज दिनुपर्ने संघका अध्यक्ष रोहण गुरुङले बताए । संघले यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

श्रम रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार ऐनलाई संशोधन गरी धरौटी रकम बढाएको छ । ऐन अनुसार ३ हजार भन्दा कम कामदार पठाउने म्यानपावरले ५० लाख नगद र एक करोड ५० लाख रुपैयाँ बैंक ग्यारेन्टी, तीनदेखि ५ हजारसम्म कामदार पठाउने म्यानपावरले एक करोड रुपैयाँ नगद र दुई करोड बैंक धरौटी र ५ हजार भन्दा बढी कामदार पठाउने म्यानपावरले दुई करोड रुपैयाँ नगद र तीन करोड रुपैया बैंक ग्यारेन्टी राख्नुपर्ने बाध्यकारी नियम छ । भदौसम्म यो धरौटी नराख्ने म्यानपावरले कामदारलाई विदेश पठाउन पाउने छैन । यसअघि ७ लाख रुपैयाँ नगद र २३ लाख रुपैया बैंक धरौटी राखेपछि म्यानपावरले कामदार पठाउने अनुमति पाउने गरेको थियो । ‘विमा कम्पनी र स्कुल कलेजले पाउने सुविधा म्यानपावर व्यवसायीले पनि पाउनुपर्छ,’ अध्यक्ष गुरुङले भने,‘अन्यथा वैदेशिक रोजगार व्यवसायीहरुप्रति मात्रै अन्याय र विभेदपूर्ण व्यवहार गरेको ठहरिनेछ ।’

Published on: 29 April 2019 | Kantipur

Back to list

;