s

म्यानपावर खोल्न करोड धरौटी

विदेशमा कामदार पठाउने म्यानपावरको धरौटी एक करोड रुपैयाँ पुर्‍याउने गरी वैदेशिक रोजगार ऐन २०६४ संशोधन मस्यौदा तयार भएको छ । श्रम मन्त्रालयले बनाएको समितिले सोमबार श्रममन्त्री फरमुल्लाह मन्सुरलाई मस्यौदा बुझाएको छ । मन्त्री मन्सुरले संशोधन छिटो पारित गराउन पहल थाल्ने बताए । 
 
मन्त्रालयले ऐनको मस्यौदा तयार गर्न श्रम सहसचिवको संयोजत्कवमा वैदेशिक रोजगार विभागका महानिर्देशक र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रहेको समिति बनाएको थियो । वैदेशिक रोजगार क्षेत्र व्यवस्थित गर्न सरोकारवाला निकायलाई थप जिम्मेवार बनाउन आवश्यक रहेको भन्दै सरकारले ऐन संशोधन गर्न लागेको हो । 
 
विभागका महानिर्देशक विश्वराज पाण्डेले म्यानपावर व्यवसायीलाई थप जिम्मेवार बनाउन धरौटी रकम एक करोड बनाइने बताए । ‘झोलामै कार्यालय सञ्चालन गर्नेहरूसमेत देखिए । यो व्यवसायलाई दिगो र सम्मानित बनाउन धरौटी बढाउने प्रस्ताव गरिएको हो,’ पाण्डेले भने, ‘धरौटी बढाउँदा साना व्यवसायी मर्ज हुनेछन् । काम गर्न सक्नेले मात्रै व्यवसायमा हात हाल्नेछन् । धेरै कामदार ठगिए क्षतिपूर्ति दिन सकिनेछ ।’ हाल ७ लाख रुपैयाँ नगद र २३ लाख रुपैयाँ बैंक धरौटी राखेर म्यानपावर दर्ता गर्न सकिने व्यवस्था छ । 
 
प्रस्तावित मस्यौदामा कामदारको मागपत्र नेपाली दूतावासबाट गर्नुपर्ने, व्यक्तिगत रूपमा भएको ठगी जिल्ला प्रशासनबाट हेर्न मिल्नेलगायत विषय समेटिएको छ । वैदेशिक रोजगार व्यवसायीहरूले भने एक करोड धरौटी राख्ने प्रस्ताव आफूहरूलाई मान्य नभएको भन्दै श्रमसचिव लक्ष्मणप्रसाद मैनालीसमक्ष ध्यानाकर्षण गराइसकेका छन् ।
 
Published on: 12 September 2017 | Kantipur

Back to list

;