s

मनोरञ्जन क्षेत्रमा महिला बढी पीडित

सपना महर्जन

काठमाडौं : मोरङ्की गीता भुषाल (नाम परिवर्तन) काम खोज्दै काठमाडौं आइन्। उनको परिवार गरिब थियो। आयआर्जनको कुनै स्रोत थिएन। कमाउनकै लागि उनले पढाइ छाडिन् र काठमाडौंको एउटा रेस्टुरेन्टमा काम गर्न थालिन्। बिहान ५ बजेदेखि बेलुकी ११ बजेसम्म खटिनु पथ्र्याे। तर काम गरेको वर्षदिनसम्म पनि उनले उचित पारि श्रमिक पाइनन्। रेस्टुरेन्टका मालिकले डराउने धम्काउने गरि नै रहे। समस्या बढ्दै गएपछि उनले माइती नेपालमा सम्पर्क गरिन् र उनको उद्धार गरियो।

सरिता भुजेल पनि रोजगारीकै खोजीमा काठमाडौं आइन्। एक व्यक्तिको सम्पर्कमा आएपछि उनले मनोरञ्जन क्षेत्रमा काम पाइन्। त्यहाँ उनले इच्छाविपरीत अनेकखाले काम गर्नु पर्‍यो। एक वर्षसम्म उनी त्यही काम गर्न बाध्य भइन्। मनोरञ्जन क्षेत्रमा कार्यरत अधिकांश किशोरी र युवती पीडित छन्। कतिपय महिला यौन हिंसाको सिकारसमेत भएका छन्।

०७५ यता माइती नेपाल र महानगरीय प्रहरीवृत गौशालाको सहकार्यमा सञ्चालित चेतनामूलक अभियानमा विभिन्न डान्स बार, गेस्ट हाउस, खाजा घरको अनुगमन गरिएको थियो। यस क्रममा न्यु क्यासल बारमा १८ वर्षमुनिका २ जना किशोरी भेटिएका थिए। उनीहरूलाई त्यहींको साहूले जबरजस्ती करणी गरेको उजुरी परेको छ। यतिबेला उक्त बारका साहू थुनामा छन्।

मुस्कान खाजाघरमा कार्यरत यौनकर्मी महिला ग्राहकसँगै भेटिएको थियो। ०७५ मंसिर २२ देखि ०७६ कात्तिक ८ सम्म चाबहिल, वागमती नदीको किनार, रातोपुल, विजयचोक, रुन्चेडाँडा, गौशाला, मैतीदेवी छेउका क्षेत्र र ठमेल ज्याठामा अनुगमन गरिएको थियो। २ सय ५ खाजाघर, १६ डान्स बार, १८ गेस्टहाउस र १ सय २ होटल तथा भोजनालयको अनुगमन गरिएको थियो। त्यस क्रममा भारतीय र नेपाली बालिकासहित ४३ जनाको उद्धार गरिएको थियो। जसमध्ये एक जनालाई मानव बेचबिखन तथा ओसारपसारमा र अर्को १ जनालाई जबरजस्ती करणीमा मुद्दा चलाइएको छ।

महानगरीय प्रहरी वृत्त गौशालाका डीएसपी प्रदीपकुमार सिंह मनोरञ्जन क्षेत्रमा विकृति र विसंगति नहोस् भन्दै अभियान सञ्चालन गरेको बताउँछन्। अनुगमनका क्रममा मनोरञ्जन क्षेत्रमा महिला असुरक्षित रहेको उनले पाए। ‘मनोरञ्जन क्षेत्रमा यौन उत्पीडनमा परेका धेरै महिला छन्,’ उनले भने, ‘जानकारी भएसम्म हामीले उद्धार गरेका छौं।’

अनुगमनका क्रममा रेस्टुरेन्ट मालिक, त्यहाँका कर्मचारी र कामको प्रकृति अस्वाभाविक देखिएपछि कारबाही र उद्धार अघि बढाउने गरेको उनले बताए। कर्मचारीलाई नियुक्ति पत्र नदिइ काम लगाउने, परिचय लुकाउने र किशोरीको उमेर ढाँट्न लगाउने अनुगमनबाट पत्ता लागेको माइती नेपालले जनाएको छ।

नेपाल रेस्टुरेन्ट व्यवसायी संघका अध्यक्ष विजय नगरकोटी सबै व्यवसायमा अनधिकृत काम नहुने तर्क गर्छन्।

मनोरञ्जन क्षेत्र व्यवस्थित नहुँदा महिला यौन उत्पीडनको सिकार हुनु परेको शक्ति समूहकी कार्यवाहक कार्यकारी सदस्य चरिमाया तामाङ बताउँछिन्। ‘यो क्षेत्रमा लुकेर होइन खुलेर काम गर्ने वातावरण बनाउनुपर्छ,’ उनले भनिन्, ‘मनोरञ्जन क्षेत्रको पेसा पनि व्यावसायिक हुन पर्छ।’

श्रमजीवी महिलाप्रति डान्स रेस्टुरेन्ट, बारजस्ता कार्यस्थलमा हुने यौन उत्पीडन नियन्त्रण ऐन २०६५ मा यौन शोषण र अमर्यादित व्यवहारलाई विस्तृत वर्णन गरिएको छ। यौनजन्य दुव्र्यवहार गरे सजायको भागीदार हुनुपर्ने उक्त ऐनमा उल्लेख छ।

Published on: 5 January 2020 | Annapurna Post

Link

Back to list

;