s

मनोरञ्जन क्षेत्र सुरक्षित र मर्यादित बनाउनुपर्ने

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिला श्रमिकको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनुपर्ने देखिएको छ । 

माइती नेपालले आज आयोजना गरेको ‘मानव बेचबिखन तथा लैङ्गिक हिंसा, नियन्त्रणमा सञ्चारमाध्यमसँग सहकार्य’ विषयको कार्यक्रममा सहभागीले मनोरञ्जनका क्षेत्र रेष्टुरेण्ट, डान्सबार, स्पा, मसाज केन्द्रलगायतमा काम गर्ने महिलालाई अत्यन्तै न्यून तलब, र विनानियुक्तिपत्र काम लगाइएको र उमेर नपुगेका बालबालिकाले असुरक्षित रुपमा काम गरेको पाइएको बताए । 

प्रमुख महिला विकास अधिकृत अनिता खनालका अनुसार नेपालभर दर्ता भएका २५ हजार मनोरञ्जनका क्षेत्र छन् । तीमध्ये राजधानीमा १२ हजार छन् । तीमध्ये ५० वटामा अनुगमन गर्दा अधिकांशमा कम उमेरका बालबालिका र केही उमेर पुगेका महिलालाई वेटरलगायत रोजगारी दिएर काम लगाइएको पाइएको छ । ती कामदारसँग नागरिकता प्रमाणपत्र नभएको तथा रोजगारदातासँग कुनै पनि सम्झौता र नियुक्तिपत्र नभएको भेटिएको जनाइएको छ । 
 
माइती नेपालका निर्देशक विश्वराम खड्काले स्थापनादेखि नै माइती नेपालले लामो समयदेखि बेचबिखनमा रोक लगाएको तथा त्यसविरूद्ध काम गर्ने संस्था र राज्यका अङ्गसँग मिलेर काम गरेको बताउँदै यसको न्यूनीकरणका लागि सरकार, विभिन्न संस्था र सञ्चारमाध्यमको समवन्यात्मक भूमिका हुनुपर्नेमा जोड दिनुभयो । 
 
मिडिया एडभोकेसी गु्रपका अध्यक्ष बबिता बस्नेतले मानव बेचबिखन न्यूनीकरणका गर्न सबै महिला सुसूचित र सशक्त हुनुपर्ने जरुरी भएको बताउनुभयो । कानुनी सहयोग तथा परामर्श केन्द्रका अध्यक्ष अनिता न्यौपानेले मनोरञ्जनका क्षेत्र मर्यादित बनाउनका लागि श्रम ऐनसँग गाँसेर महिला कामदारको श्रमको उचित मूल्य माग्नुपर्ने औँल्याउनुभयो ।
 
Published on: 23 January 2018 | Gorkhapatra

Back to list

;