s

मानका खातिर मान

देवेन्द्र भट्टराई

राजदूतसहितका संवैधानिक पदमा नियुक्ति गर्न सकिने बाधा-अड्चन फुकाउपछि परराष्ट्र मन्त्रालयको माहोल भिन्न बनेको छ । भिन्न यस अर्थमा राजदूत बन्ने, बनाउने होडमा विनयशील हाउभाउ देखाउँदै सम्भावित प्रतिनिधिहरू अलि बढी व्यस्त देखिन थालेका छन् । कोही उमेरले बुढिँदै गएका -सिनियर) र कोही सेवाले सिनियर बनेकाहरूको आ-आफ्नै 'लबिङ' छ— सिनियरको कदर हुनुपर्‍यो । इतिहासविदका अनुसार ज्योतिषीहरूको चिना, साइत र ग्रहदशा हेरेरमात्रै नेपालको कूटनीतिक भाग्य निर्धारण हुने भएकाले इतिहासमा 'जैसीकोठा'बाट परराष्ट्र चल्थ्यो । सय वर्ष पुरानो यो पुरातात्त्विक व्याख्यानबाट धेरै अघि बढिसक्दा पनि आज 'जैसीकोठा' मनस्थिति र मनोविज्ञान हट्नसकेको छैन । देश-दुनियाँ परिवर्तनको कुन चरणमा पुगिसकेको छ भन्ने पत्तो नपाइरहेकै अवस्थामा 'नेपालले बाहिरी विश्वलाई कसरी हेरिरहेको छ ?' भन्ने एकोहोरो रटानमात्रै अहिलेको परराष्ट्रसँग छ । कतारको दोहास्थित नियोगलाई दिइएको बहराइनको सहप्रमाणीकरण जिम्मा किन 'कार्यकारी' हुनसकेन अथवा पाकिस्तान र अफगानिस्तान बीचकै सम्बन्ध के-कस्तो छ भन्ने अनुमान हाम्रो परराष्ट्रले राख्नसकेको छैन । जहिल्यै अंशबन्डा र भागबन्डाका वरपर घुमिरहेको राजदूत नियुक्तिमा इजिप्ट वा म्यानमारसरह कोटा-निर्धारणमा राख्दै दक्षिणको छिमेकी भारतमा तीन वर्षदेखि राजदूत नियुक्त नगर्दा के-कस्तो 'अनर्थकारी सन्देश' गएको छ भन्ने परराष्ट्रलाई पत्तो छैन । अथवा नियुक्त गरिएका राजदूतहरूको कार्यमूल्यांकन, तिनले फैलाएको छवि र कूटनीतिक मर्यादाबारे पनि परराष्ट्र 'बेखबर'झैं छ ।

अहिलेको मिडिया-सन्दर्भ र चासोमा छाएको छ— कतारस्थित महामहिमको तर्कना ।  'नेपालीहरू भाग्यमै हेपिनपर्ने लेखिएको छ' भन्दै बीबीसीको साझा सवालमा राजदूत मायाकुमारी शर्माले गरेको टिप्पणी अहिले एउटा 'निरीह संयन्त्रको बिचरा बोली'झैं सबैतिर छाएको छ । १५ महिनाअघि संसदीय सुनवाइ समितिमा उपस्थित हुँदा तत्कालीन प्रस्तावित राजदूत मायाकुमारीले आफूले अर्थशास्त्रमा पीएचडी गरेको दाबीसहित 'इकोनमी डिप्लोमेसी' -हुबहु साभार) लाई आफूले बढावा दिने बताएकी थिइन् । नैनितालस्थित कुमाउ युनिभर्सिटीबाट अर्थशास्त्र, समाजशास्त्र र राजनीतिशास्त्रका तीनवटा विषयमा एमए गरेको 'बायोडाटा' पेस गर्दै शर्माले आफूलाई माओवादी धारभित्र पनि बौद्धिक र प्राज्ञिक कार्यकर्ताका रूपमा चिनाउन चाहेकी थिइन् । तर तत्कालै सभासद लक्ष्मण घिमिरेले 'तपाईको एउटै बायोडाटामा कुमाउ युनिभर्सिटीका फरक-फरक स्पेलिङ छन्, तपाईले कस्तो पीएचडी गर्नुभएको हो ?' भनी प्रश्न गरेपछि माओवादी कोटाकी शर्माले उही सदावहार र रुन्चे अड्डी लिएकी थिइन्— 'नेपाली समाजकी एउटी महिला अलिकति उठ्न खोज्यो भने त्यसलाई उठ्न दिइन्न, केही गर्न पनि दिइन्न ।'

त्यसपछि न थप प्रश्न, न प्रतिप्रश्न— संसदीय सुनवाइमा खरो उत्रिएर राजदूत शर्मा कतार पुगेकी थिइन् । कूटनीतिको 'क' थाहा नभएको र झन्डै दुई दसकसम्म कृषि विकास बैंकको शाखा अधिकृतमा कर्मशिलता देखाइरहेको अवस्थाकी एक कार्यकर्तालाई माओवादीले राजदूतका रूपमा कसरी र किन सिफारिस गरेको थियो, त्यो कहिल्यै खुल्न नसकेको कुरा हो । परराष्ट्र मन्त्रालय र वृत्तमा पूर्वमन्त्री नारायणकाजी श्रेष्ठको काम गराइप्रति सबैको सन्तुष्टि छ । ५० प्रतिशत परराष्ट्र कोटामा राजदूत पठाउने भन्ने सिफारिसको अनिवार्य कार्यान्वयनसहित अवकाशोन्मुख सहसचिवलाई सेवा/योग्यता आधारमा राजदूत सिफारिस गर्नेसम्मका सैद्धान्तिक आधार निकै प्रशंसनीय छन् । तर नारायणकाजीका सबै राम्रा कामहरू कतारस्थित राजदूतको नाम सिफारिस र नियुक्तिका कारण अहिले छोपिने अवस्थामा पुगेको छ । 'मानका खातिर मान' प्रदान गरिए जस्तो ठान्ने राजदूत पद महामहिम मायाकुमारीका लागि कूटनीतिक मर्यादा र राष्ट्रको छविभन्दा पनि व्यक्तिगत महत्त्वाकांक्षाको पगरीझैं बन्नपुगेको छ । 'कतारमा नेपालीको दुःख र जाँगर' शीर्षकमा साझा सवालमा प्रसारित कार्यक्रमपछि यु-ट्युबमा गएर हेर्ने दर्शकको संख्या एक सातामा ३१ हजार नाघेको छ, यसमा महामहिम शर्माको 'विवेकहीन र सतही' बोलीको खिल्ली उडाउने त कति छन् कति ।

कूटनीतिक छवि र गरिमा भनेको कुनै भ्रष्टाचारमा निर्लिप्त रहेको अवस्थामा मात्रै 'मूल्यांकन' गरिनुपर्ने विषय होइन । स्वयम् माओवादी दलको विदेश विभाग हेर्ने कृष्णबहादुर महरा दोहा भ्रमणमा पुग्दा आफ्नी कार्यकर्ता-राजदूत मायाकुमारी बारेमा कतारस्थित आफ्नै पार्टी पंक्तिबाट आएको 'चर्को गुनासो'लाई महराले बहसमा ल्याउनै चाहेनन् । किनभने बहसमा ल्यायो कि त यो पनि राम कार्की अथवा चन्द्रकान्त पौडेलजस्तै 'हार्न सकिने नाम' बन्न सक्छ भन्ने भय माओवादी दलमा छ ।

४ लाखभन्दा बढी नेपालीको रोजीरोटीसँग सम्बन्ध रहेको कतारमा अहिले कूटनीतिक पहुँच र उपस्थिति 'शून्यप्रायः' छ । उपसचिव र शाखा अधिकृत सरहका कूटनीतिक कर्मचारी नभएको अवस्था एकातर्फ छ भने कूटनीतिको 'कपुरी क' नभएकी राजदूतको उपस्थिति चौतर्फी गुनासो र विरोधमाझ कामचलाउ शैलीमा टिकेको छ । परराष्ट्र मन्त्रालयका सचिवदेखि अरु सम्बद्ध सरोकारसम्बद्ध उच्च अधिकारीलाई यो विषय किन चासोमा छैन भने सबैसँग राजदूत बन्न पाउने मनोकांक्षा छ । जसले जे गरे पनि हुन्छ— कुनै स्पष्टीकरण छैन, कसैले केही सोध्नेवाला छैन । नारी-पुरुष समानताको बेलामा र अझ लैङ्गकि अधिकारको चेतना उग्ररूपमा जागेका बेला एउटा पुरुष पत्रकारले महिला महामहिमबारे यति 'जनगुनासो' लेखिरहनु कतै पूर्वाग्रह पो हो कि ? उसोभए अब पढौं— महिला अधिकारवादी रेणु राजभण्डारीले महामहिम मायाकुमारीलाई दोहा दूतावासमा भेटेर उनीबारे बनाएको आफ्नै अनुभव ।

रेणु— 'खाडीमा घरेलु कामदार भएर आउन ३० वर्ष नाघेको हुनुपर्ने भन्ने नियम आएको छ । तपाईलाई कस्तो लागेको छ ?'  

राजदूत शर्मा— 'ठिकै छ नि त । कुनै बलात्कार अथवा यौन दुव्र्यवहारका घटनाहरूमा परिगए भने पनि ३० वर्षमाथिका महिलाहरू त्यसबारे निकै बुझ्न सक्ने हुन्छन् ! उनीहरू सहन सक्ने, थेग्न सक्ने पनि हुन्छन् नि त !!' -द काठमाडौं पोष्ट, फेव्रुअरी २६, २०१३)


Published on: 8 April 2013 | Kantipur

Back to list

;