s

मणिपुर-म्यानमार मानव तस्करीको नयाँ रुट

उद्धार गरिएका १७९ नेपाली ल्याइए

पर्वत पोर्तेल

विगतमा नेपाली महिलालाई दिल्ली हुँदै अवैध ढङ्गबाट खाडी मुलुक पुऱ्याइन्थ्यो । तर, केही समययता दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा भारत सरकारले कडाइ गरेसँगै मानव तस्करले नयाँ रुट प्रयोग गर्न थालेको पाइएको छ ।

उद्धार गरिएका नेपालीहरुलाई काठमाडौँ लैजान काँकडभिट्टास्थित मेची भन्सार परिसरमा भारतीय बसबाट नेपाली बसमा स्थानान्तरण गरिँदै ।

भारतको पूर्वोत्तर राज्य मणिपुरबाट म्यानमार हुँदै नेपाली महिला र पुरुषलाई खाडीलगायतका मुलुक पठाउने गिरोह सक्रिय बनेको छ । त्यो नाकाको प्रयोग गरेर लैजान लागिएका १ सय ७९ जनालाई मणिपुर सरकारको सहयोगमा उद्धार गरेपछि यो नयाँ रुटको प्रयोग गरेर मानव तस्करी सुरु भएको बुझिएको हो । उद्धार गरिएका महिला र पुरुष मङ्गलवार बिहान ८ बजे नेपाल आइपुगे । करिब ३५ घण्टा लामो यात्रा गरेर आएका उनीहरूलाई माइती नेपाल, स्थानीय प्रशासनको सहभागितामा काठमाडौँ पठाइएको छ । उद्धार गरिएका अधिकांश झापा, मोरड, सुनसरी, सिन्धुपाल्चोक आदि जिल्लाका छन् ।

माइती नेपालका अध्यक्ष विश्वराज खड्काका अनुसार मणिपुरमा नेपालीको उद्धार गरिएको खबर आएपछि माइती नेपालले भारतीय प्रहरी र बेचबिखन विरुद्ध कार्यरत संघसंस्थाहरुसँग समन्वय गरेको जनाए । ‘उद्धारका लागि सरकारले प्रत्यक्ष रूपमा सक्रियता जनायो’, खड्काले भने । उनका अनुसार दिल्लीस्थित दूतावासका वाणिज्यदूत प्रकाश अधिकारीसहितको तीन सदस्यीय टोली खटाएको थियो ।

खड्काका अनुसार अधिकांश दिल्लीबाट जहाजमा मणिपुर पुगेका थिए । केही बंगालको बागडोगरा विमानस्थलबाट, कोही न्यूजलपाइगुडी रेल्वे स्टेसनबाट र कोही बसमार्फत मणिपुरको राजधानी इम्फाल पुगेका थिए । सबैलाई विभिन्न होटेलमा राखिएको थियो । एजेन्टले समयमा म्यानमारको भिसा निकाल्न नसक्दा सबै एकै ठाउँ थुप्रिएका हुन् । ‘केही महिला त तीन चार महिनादेखि घर छाडेर आएका पनि थिए’, खड्काले भने । सबैले दलाललाई २ देखि ४ लाख सम्म बुझाएको बताए । आफूलाई पठाउने दलालबारे भने उनीहरू मौन बसेका थिए । एक महिलासहित ९ जना दलाललाई मणिपुर प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

भारत र नेपाल सरकारले इन्दिरा गान्धी विमानस्थलमा कडाइ गरेको छ । दिल्ली अध्यागमनले ‘नो अब्जेक्स्न लेटर’ अनिवार्य गरेपछि दलालले नाका फेरेको हो । मानव तस्करहरूले अनलाइन भिसा मार्फत श्रीलंका हुँदै खाडी पुऱ्याउने पनि गर्थे । तर, अहिले श्रीलंकामा समेत कडाइ रहेको खड्काले बताए । ‘दिल्ली र श्रीलंका दुवैतिर कडाइ भएपछि दलालले म्यानमारलाई नयाँ रुट बनाएको हो’,उनले भने ।

यो नाका गत नोभेम्बरबाट व्यापारिक प्रायोजनका लागि सुरु गरिएको थियो । अध्यागमनको तथ्याङ्क अनुसार केही समयअघि करिब ३ सय जना नेपाली यही नाकाबाट बाहिरिएको देखिन्छ । यो नाका इराक, किर्गिस्थान लगायतका मुलुक पठाउन सहज रहेको बुझिएको छ । माइती नेपालका अध्यक्ष खड्काले उद्धार गरिएकाहरूलाई पूर्नस्थापनाका सरकारसँग आग्रह गर्ने जनाए ।

Published on: 19 February 2019 । Kantipur

Back to list

;