s

मंसिरमा ५३ हजार बढी नेपाली युवा विदेशिए

गएको मंसिरमा चालू आर्थिक वर्षको पाँच महिना मध्येकै सबैभन्दा धेरै नेपाली युवा वैदेशिक रोजगारीमा गएका छन्। मंसिरमा मात्रै ५३ हजार तीन सय ५४ जना युवा कामको खोजीमा बिदेसिएका हुन्। अघिल्लो महिना कात्तिकमा ४३ हजार दुई सय १३ जना वैदेशिक रोजगारीमा गएका थिए। यो तथ्यांकले आन्तरिक बजारमा रोजगारीको समस्या थप चुलिंदै गएको पुष्टि हुन्छ। सरकारले विभिन्न स्वरोजगारमूलक कार्यक्रम तथा कृषिमा सहुलियतपूर्ण ऋणको व्यवस्था गरी युवा जनशक्तिलाई स्वदेशमै राख्‍ने कोसिस गरेको दाबी गरे पनि त्यो अहिलेसम्म प्रभावकारी नभएको बिदेसिनेको तथ्यांकले देखाएको छ। 

महिनौंजसो बिदेसिनेको संख्या बढ्दो क्रममा छ। चालू आर्थिक वर्षको पाँच महिनामा मात्रै दुई लाख २५ हजार नौ सय ७७ जना वैदेशिक रोजगारीमा गएका छन्। नेपाली युवाको वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक गन्तव्य यस पटक पनि मलेसिया नै भएको छ। विगत केही वर्षयता मलेसिया लगातार धेरै कामदार जानेको सूचीमा पहिलो नम्बरमा पर्दै आएको छ।  

देश

कामदार संख्या

मलेसिया

२२०७४

कतार

१४३५४

साउदी अरब

९३९२

यूएई

४५८३

कुवेत

९७४

मलेसियामा मंसिर महिनामा मात्रै २२ हजार ७४ जना गएका छन्। मलेसियामा कामको अवसर बढी छ। लगानी वातावरण राम्रो भएकाले बहुराष्ट्रिय कम्पनी धमाधम खुलिरहेका छन्। नेपाली कामदारले पाउने न्यूनतम तलब पनि खाडीका अन्य मुलुकको तुलनामा बढी छ। यहाँ नेपाली कामदारले न्यूनतम २७ हजार रुपैयाँ कमाउन सक्ने म्यानपावर व्यवसायी बताउँछन्। यसबाहेक उपयुक्त हावापानी र तुलनात्मक रूपमा खुला समाज भएकाले पनि मलेसियातर्फ नेपाली कामदारको आकर्षण बढेको हो। हाल सरकारी अनुमति लिएरै मलेसियामा काम गर्ने नेपालीको संख्या सात लाखको हाराहारीमा छन्। 

उद्योगधन्दाभित्र काम गर्न पाइने भएकाले पनि कामदार मलेसियातर्फ आकर्षित भएको व्यवसायी बताउँछन्। जाने कामदारको दोस्रो गन्तव्य कतार परेको छ। सन् २०२२ मा हुने विश्वकप फुटबल खेलको तयारीस्वरूप पूर्वाधारका काम धमाधम भइरहेकाले कतारमा पनि विदेशी कामदारको माग बढ्दो छ। धेरैजसो नेपाली कामदार पनि यही कामका क्रममा कतारमा गएको म्यानपावर व्यवसायी बताउँछन्। यसैगरी, बिदेसिने कामदारको तेस्रो रोजाइमा साउदी अरब परेको छ। साउदीमा नौ हजार तीन सय ९२ जना युवा कामको खोजीमा पुगेका छन्। मंसिरमा कुल बिदेसिनेमध्ये पुरु ष कामदार ५१ हजार तीन सय ८२ जना छन् भने महिलाको संख्या १९ सय ७२ जना छ। बिदेसिने महिलामध्ये सबैभन्दा धेरै मलेसियामै गएका छन्। 

वैदेशिक रोजगार विभागका अनुसार मंसिरमा यो मुलुकमा पाँच सय ६४ जना महिला कामदार गएका हुन्। अहिले सरदरमा दैनिक एक हजार पाँच सयजना युवा कामको खोजीमा वैदेशिक रोजगारीमा जाने गरेका छन्।  सरकारी अनुमति लिएर बिदेसिने कामदारको संख्या ३५ लाख पुगिसकेको छ।

Published on: 25 December 2014 | Annapurna Post

 

Back to list

;