s

मानव तस्करीको नयाँ रूट: भारतबाट म्यानमार हुँदै इराक

खिलानाथ ढकाल  

वैदेशिक रोजगारीका लागि प्रतिबन्धित देश इराकमा भारत–म्यानमार हुँदै मानव तस्करी गर्ने गिरोह सक्रिय रहेको पाइएको छ। यो बाटो भएर हिँडिरहेका झन्डै दुई सय नेपाली मणिपुरबाट फर्काइएका छन्।

इराक लैजान लागिएका १७९ जना नेपालीलाई सरकारले भारतको मणिपुरबाट नेपाल फर्काएपछि मानव तस्करीको नयाँ गन्तव्य पहिचान भएको हो। यसरी फर्काइएकामा १४७ महिला र ३२ जना पुरुष छन्। दिल्लीस्थित दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश अधिकारीले मणिपुरमा रोकिएका नेपालीलाई बुधबार काठमाडौं ल्याएका थिए। उनका अनुसार मणिपुरस्थित भारतीय प्रहरीले शंका लागेर ती नेपालीलाई झन्डै तीन सातादेखि रोकेर राखेको थियो।

उनीहरूलाई इराक पुर्‍याउन हिँडेका ९ जना दलाल पनि समातिएका छन्। मणिपुर प्रहरीले उनीहरूलाई हिरासत राखेर अनुसन्धान गरिरहेको छ।फेब्रुअरी १ तारिखमा भारतीय प्रहरीले इराक जान लागेका ती नेपालीलाई म्यानमार सीमाछेउमा रोकेको थियो। नेपालीहरू रोकिएको खबर भारतीय प्रहरीले दूतावास हुँदै महिला तथा बालबालिका मन्त्रालयमा पुर्‍याएको थियो। मन्त्रालयको निर्देशनमा दूतावासले एसएसपी अधिकारीलाई साथ लगाएर ती नेपालीलाई स्वदेश फर्काएको हो।

अधिकारीका अनुसार समातिएका दलाल सबै नेपाली नै हुन्। प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन। अनुसन्धान सिलसिलामा उनीहरूलाई नेपाल ल्याउन सकिने प्रहरीले जनाएको छ। उनीहरूले नेपालका विभिन्न ठाउँबाट मान्छे जम्मा पारेर म्यानमार हुँदै स्थलमार्गबाट इराक पुर्‍याउने गरेको खुलेको छ। नेपालबाट इराक जान श्रम स्वीकृति छैन। अधिकारीका अनुसार यी नेपाली म्यानमार हुँदै तिर्दिस्थान जान लागेका थिए। तिर्दिस्थान इराकको एउटा सहर हो। धेरैजसो काँकडभिट्टा नाकाबाट नेपाली लगिएको शंका प्रहरीको छ। ‘बागडोग्राबाट मणिपुरको इम्फाल सहरमा हवाइजहाजमा लगिएको खुलेको छ,’ एसएसपी अधिकारीले भने। इम्फालबाट म्यानमार सिमाना १२० किलोमिटर टाढा छ। नेपालीहरू समातिएको त्यहीँबाट हो।

नेपालगञ्ज र विराटनगरको जोगबनी नाका प्रयोग गरेर पनि नेपाली लगिएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।पहिले म्यानमारको त्यो नाका प्रतिबन्धित थियो। तीन महिनाअघि भारत सरकारले सो नाका खुलाएको थियो। कानुनी वैधता प्राप्त भएपछि त्यहाँ एकीकृत जाँचचौकी, अध्यागमन, भन्सार लगायत कार्यालय सक्रिय छन्। नाका खुलेपछि घुम्नका लागि म्यानमार जाने भन्दै इम्फालबाट इ–भिसा बनाएर जानेको संख्या बढेको छ। त्यही भिसा बनाएर नेपालीहरू म्यानमार जान लागेका थिए। प्रहरीले म्यानमारबाट इराकको रुट भने पत्ता लगाइसकेको छैन।‘पीडितहरूले दलाल समूहबारे केही पनि बोलेका छैनन्, उनीहरूलाई परामर्शमा राखिएको छ,’ केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक निरजबहादुर शाहीले बताए।

श्रम स्वीकृति नभएको मुलुकमा मान्छे ओसारपसारमा मानव तस्करी कानुन आकर्षित हुन्छ। यो मार्गमा दलाल सक्रिय रहेको पाइएपछि नेपाल प्रहरीले अनुसन्धान थालेको छ। फर्काइएका नेपालीलाई परामर्शमा राखेर मानव तस्करी गर्ने गिरोहबारे अनुसन्धान थालिएको र चाँडै दलाल समूह पहिचान हुने शाहीले बताए। ‘भर्खरै ल्याइएका कारण नेपालीहरूले राम्रोसँग बोल्न सकेका छैनन्, उनीहरूलाई परामर्शमा राखिएको छ,’ उनले भने। प्रहरीले उद्धार गरिएका नेपालीहरूबाट पासपोर्ट र मोबाइल बरामद गरेको छ। त्यसैका आधारमा मानव तस्कर समूहको पहिचान गर्ने प्रहरीको योजना छ। उद्धार गरेर ल्याइएकाहरूलाई माइती नेपाललगायत ६ वटा संस्थाको परामर्शमा राखिएको छ। प्रहरी तथा ती संस्थाले परामर्शमा राखिएका नेपाली भेट्न दिएको छैन।

माइती नेपालका कार्यालय प्रमुख विश्वराम खड्काले परामर्श चलिरहेका क्रममा व्यक्तिहरूलाई भेट्न नदिइएको बताए। ‘अहिले हामीले कसैलाई भेट्न दिएका छैनौं, केही दिन परामर्शमा राखेपछि मात्रै भेट्न सम्भव होला,’ खड्काले भने। मानव तस्कर समूहको पहिचानमा जुटेको प्रहरीले पनि परामर्शमा रहेका व्यक्तिहरूसँग कुराकानी गर्न नदिइएको बतायो। ‘हामीले पनि राम्रोसँग सोधपुछ गर्न पाएका छैनौं,’ उनले भने।

सरकारले हिंसाग्रस्त मुलुकमा वैदेशिक रोजगारी बन्द गरेको छ। त्यसैले, नेपालीहरू मानव तस्कर समूहको सम्पर्कमार्फत त्यस्ता मुलुक जान खोज्छन्। इराकमा आकर्षक पारिश्रमिक पाइने लोभमा नेपाली त्यताको गन्तव्य रुचाउँछन्। इराकसँग जोडिएको देश कुवेत हो। श्रम खुल्ला रहेको त्यहाँबाट पनि इराक जाने क्रम बढ्दो छ। इराक, कुवेत र थाइल्याण्डमा ‘हाउस किपिङ’को काममा महिला बढी जाने गरेका छन्।

Published on: 21 February 2019 । Setopati

Back to list

;