s

मानव तस्करीको सञ्जालमा परेपछि

होम कार्की

संयुक्त अरब इमिरेट्सस्थित दुबईमा 'क्यासिएर' को काम गर्न आएकी काठमाडौं सीतापाइलाकी रिना लामा -नाम परिवर्तन) घरेलु कामदारमा परिन् । त्यहाँबाट एकजना ओमनी नागरिकले किनेर ओमन लिएर गयो । घरको काम सहन नसकेर भाग्दा नेपाली युवक कमल थापाबाट पनि उनले शारीरिक, मानसिक यातना पाइन् । उनले आफूलाई परेको समस्या यसरी बताइन्- '१२ कक्षामा फेल भएपछि मेरो नजिकको साथीले दुबईमा जाने बताइन् । साथीको श्रीमान् मित्र लामाले एजेन्टको काम गर्दोरहेछ । उसले दुबईमा क्यासिएरको काम भनेपछि ५० हजार रुपैयाँ दिए । त्यसमा टिकट, मेडिकल पनि मेरै थियो । 

दुबईमा आइपुग्नासाथ कम्पनी होइन रहेछ । घरेलु कामदार सप्लाई गर्ने अफिसमा लगियो । त्यहाँ नेपाली, फिलिपिनी, श्रीलंकालीलाई छुट्टाछुट्टै राख्ने कोठा रहेछ । मसँग अर्की मेरो साथी पनि थिई । घरमा काम भनेपछि स्वदेश फिर्ने बताए । अफिसमा मिश्री महिलाले घर फिर्ने भए पाँच हजार डिनार फिर्ता दिन भनिन् । त्यत्रो पैसा दिन सक्ने अवस्था थिएन । त्यस अफिसमा तलब नपाएर, घरमालिकको पिटाइ खाएर भागेर आउने महिलाहरू धेरै थिए । एकजना नेपाली दिदीलाई हाम्रै सामुन्ने अगाडि लात्तै लत्ताले पिटियो । हाम्रो फोटोहरू अरबीलाई दिएको रहेछ । हामीलाई एउटै कोठामा राखेको थियो । कपडा किन्न आएर छानेको जसरी छान्यो । 

मलाई ओमनीले रोज्यो । ओमनीले दुबईबाट हाउसमेड लिएर जाँदो रहेछ । उसले ओमनको निजुवा भन्ने ठाउँमा ल्यायो । विदेश आउँदा मेरो एक लाख रुपैयाँ जति खर्च भएकाले जसरी पनि काम गर्नुपर्ने बाध्यता थियो । त्यस घरमा काम गर्न थाले । बच्चा हेर्नुपर्ने, राति एक/दुई बजेसम्म काम गर्नुपर्ने, दिनभर बस्न नपाइने, सुरक्षागार्ड जसरी उभिएर बस्नुपर्ने । नसक्ने भएपछि घरमा सबै सुतिसकेपछि रातको एक बजे भागे ।

ओमनमा चिनजानको कोही थिएन । एजेन्ट, पठाउने साथी सम्पर्कमा आएनन् । म्यानपावरमा काम गर्ने सुनिता र सन्तोष भन्नेले ओमनको राजधानी मस्कटमा बस्ने कमल थापाको नम्बर दिए । उसले सुरुमा सहयोग गरेजस्तो लागेको थियो । तर, उसको काम केटीलाई भगाउने, राख्ने, आफूअनुकूल काममा लगाउने रहेछ । मलाई पनि उसले भनेजस्तो नगर्दा धेरै पिट्यो । घर जाने भए एक वर्षसम्म काम गरेर पैसा दिनुपर्ने सर्त राख्यो । जहिले पनि आएर 'केही पाउन केही गुमाउनुपर्ने' भन्ने गथ्र्यो । उसबाट मानसिक यातना एकदम पाएँ ।

कमलले बाहिर जान नदिएर कोठामा थुन्थ्यो । भनेको नमान्दा पिट्ने गथ्र्यो । मलाई गाला फुट्ने गरीसमेत हिर्कायो । मैले डटेर ऊसँग लडिरहे । एकदिन बाहिर गएको मौकामा छिमेको कोठामा बस्नेले भगाइदिएपछि थापासँग मुक्त भए । कमलले नेपाली दाजु भएर गर्नुपर्ने सहयोग गरेन । अहिले गैरआवासीय नेपाली संघ ओमनले उपलब्ध गराएको पारिवारिक सेल्टरमा सुरक्षित छु । यहाँ बाबुआमा पाएको जस्तो अनुभव भएको छु ।

एउटा सपना लिएर विदेश आएको थिएँ । पारिवारिक आर्थिक अवस्था कमजोर छ । ऋण भएकाले कुन मुख लिएर घर जाने भन्नेमा एकदमै चिन्तित छु । मसँगै आएकी मभन्दा बढी पढेकी साथीको सम्पर्क छैन । उसको हालत पनि के होला भन्ने लागिरहेछ ।' 

Published on: 24 February 2013 | Kantipur

Back to list

;