s

मानव तस्करीको अर्को आयाम

सम्पादकीय

नेपाल हुँदै अमेरिका लैजाने बहानामा बंगलादेशबाट म्यान्मारका रोहिंग्या शरणार्थीहरूलाई काठमाडौं ल्याइने गरेको पाइनु चिन्ताको विषय हो । प्रहरीले यस्तो कार्यमा संलग्न भनिएका तीन जनालाई नियन्त्रणमा लिएको छ । यिनीहरूले अहिलेसम्म अमेरिका जान पाइन्छ भनेर महिला बालबालिकासहित १४ जना रोहिंग्यालाई काठमाडौं भित्र्याएको बताइएको छ ।

नेपाल हुँदै अमेरिका जान पाइन्छ भनेर दलालले बंगलादेशबाट काठमाडौं ल्याएका रोहिंग्या शरणार्थी महिला तथा बालबालिका गत शनिबार काठमाडौंको कपनस्थित प्रहरी कार्यालयको नियन्त्रणमा । फाइल तस्बिर

नेपालबाट अन्यत्र मानव तस्करी त हुँदै आएको थियो, त्यसमाथि अन्य देशबाट नेपालमा पनि त्यस्तै कार्य भइरहेको भेटिनु निकै गम्भीर मामिला हो । मानव तस्करीको यो पाटोबारे प्रहरीले विस्तृत अनुसन्धान गर्नुपर्छ, र यसको सम्पूर्ण सञ्जाल पत्ता लगाउनुपर्छ । जुनसुकै बहानामा जोसुकैलाई नेपाल भित्र्याइएको भए पनि गैरकानुनी ढंगबाट भइरहेको मानव ओसारपसार रोकिनुपर्छ ।

पक्राउ परेकाहरूले नेपाल पुगेपछि अमेरिका जाने परिचयपत्र पाइने र पुरुषलाई मासिक ५ हजार ७ सय ५०, महिलालाई ३ हजार ७ सय ५० र बालबालिकालाई २ हजार ७ सय ५० रुपैयाँ भत्ता पनि मिल्नेजस्ता प्रलोभन देखाएर शरणार्थीहरू ओसारेको पाइएको छ । उनीहरूले बंगलादेशको ढाकादेखि भारतको बाटो हुँदै नेपालसम्म ल्याएबापत प्रतिव्यक्ति झन्डै साढे ३ लाख रुपैयाँ लिएका रहेछन् । विभिन्न पेसाकर्मीको आवरणमा यसरी मानव तस्करी हुनु र रोहिंग्या शरणार्थीहरूको संख्या थपिँदै जानुले मुलुकमा थुप्रै दृश्य–अदृश्य चुनौती थप्ने निश्चित छ । उनीहरूलाई अमेरिका नै लैजान यसरी नेपाललाई ‘ट्रान्जिट’ बनाउन खोजिएको भए पनि मानव बेचबिखनका दृष्टिकोणबाट त्यो आपराधिक कार्य हो । उनीहरूलाई नेपाल नै ल्याएर छाड्ने दलालहरूको नियत हो भने पनि नेपालका निम्ति त्यो आपत्तिको विषय हो ।

नेपालमा अहिलेसम्म साढे ३ सय रोहिंग्या शरणार्थी यूएनएचसीआरको सम्पर्कमा रहेको बताइन्छ । कैयौं शरणार्थी परिचयपत्रको पर्खाइमा छन् । पहिल्यै बूढानीलकण्ठ–११, राममन्दिर र कपन, लसुनटारमा मात्र ४ सय शरणार्थी बस्दै आएका छन् । कतिपय छरिएर डेरामा पनि बसेका छन् । यो संख्या बढ्ने किन देखिन्छ भने अमेरिका जाने सपना देखेर हरेक साताजसो शरणार्थीहरू काठमाडौं आइरहेका छन् । यहाँ आइपुगेका रोहिंग्या शरणार्थीहरूलाई नेपालले कुनै दुःख दिएको छैन, तिमीहरू आफ्नै देश जाऊ भनेको पनि छैन । यसप्रति उनीहरू कृतज्ञ पनि देखिन्छन् । आफ्नो जीवन र स्वतन्त्रतामा गम्भीर जोखिम भएको देशबाट आएका शरणार्थीलाई आश्रय दिएको मुलुकले फिर्ता जाऊ भन्न नमिल्ने अन्तर्राष्ट्रिय कानुनको नेपालले सम्मान र पालना गरेको देखिन्छ, गर्नु पनि पर्छ ।

यसै गरी, शरणार्थी मामिलामा मानवीय पक्ष पनि जोडिन्छ, परन्तु यो मामिला त्यतिमा मात्र सीमित छैन । यसमा सोझै मानव बेचबिखनको पक्ष जोडिएको छ । फेरि शरणार्थीकै मामिलामा पनि रोहिंग्याहरू बंगलादेश र भारतीय भूमि छिचोलेर आश्रय खोज्दै नेपाल आइपुग्नु आफैंमा कति स्वाभाविक हो भन्ने प्रश्न यहाँ नाजायज लाग्दैन । किनभने, आफैं सय दुःख झेलिरहेको नेपालले भुटानी, तिब्बतीलगायतका शरणार्थीलाई यसअघिदेखि नै आश्रय दिइआएकै छ, त्यसका आफ्नै कथा–व्यथा छन् । यही अवस्थामा फेरि हामी अझै कति शरणार्थी धान्न सक्छौं भन्ने पक्ष पनि सरकारले ख्याल गर्नुपर्छ । 

अर्को, अहिले आएका रोहिंग्याहरू पहिलेजस्तो सुरक्षित आश्रयको खोजीमा यहाँ आइपुगेका पनि होइनन्, अमेरिका जाने प्रलोभनमा ठगिएका हुन् । त्यसैले यो मामिलामा संलग्नहरूका विभिन्न पक्षमाथि गहिरो अनुसन्धान गर्नुपर्छ । नेपाल मानव बेचबिखन तथा ओसारपसारको एउटा केन्द्र बन्नबाट जोगिनुपर्छ । नेपालीलाई ग्वाटेमाला र होन्डुरस पुर्‍याएजस्तै अमेरिका जान खोज्ने रोहिंग्या शरणार्थीलाई तस्करले लालाबालासहित नेपाल ओसार्दै जाँदा अन्तर्राष्ट्रियस्तरमा देशकै छविमा पनि आँच आउन सक्छ भन्नेमा सम्बन्धित सबैले विचार पुर्‍याउनुपर्छ । नेपाल आफैंमा दोषी नभए पनि विश्व सञ्चारजगत्मा नकारात्मक शीर्षकमा मुलुकको नाम जोडिनु निश्चय पनि दुःखको विषय हो, यस्तो अवस्था आउन दिनु हुँदैन ।

यसका लागि नेपालले भारत सरकारसित आवश्यक संवाद गरेर भए पनि अन्तर्राष्ट्रिय नाकाबाट तेस्रो देशको नागरिकलाई अवैधानिक रूपमा छिर्नबाट रोक्नुपर्छ । हाम्रो सीमा भारतीयहरूका लागि मात्र खुला हो, तेस्रो विश्वका नागरिकका निम्ति होइन, त्यसैले सीमामा पनि यससम्बन्धी निगरानी बढाइनुपर्छ । नेपालले बेलैमा यस्तो मानव बेचबिखन तथा ओसारपसारलाई नियन्त्रणमा लिन सकेन भने भोलि ‘नेपाल हुँदै अमेरिका जान पाइन्छ भन्ने’ झुटो प्रलोभनको फन्दामा परेर अझै कति विदेशीहरू यहाँ आउलान्, र त्यसबाट कस्तो परिस्थिति सिर्जना होला भन्ने आकलन गर्न सरकारले सक्नुपर्छ । र, त्यहीअनुसार मानव तस्करीविरुद्धका रणनीतिहरू अंगीकार गर्नुपर्छ ।

Published on: 22 September 2021 | Kantipur

Link

Back to list

;