s

मानव तस्करी रोक्न अमेरिकी आग्रह

अमेरिकाले सबै प्रकारका मानव बेचबिखनविरुद्धको कानुनी कारबाहीमा तीव्रता ल्याउन नेपाललाई सुझाव दिएको छ । सन् २०१५ को मानव बेचबिखनसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै अमेरिकाले नेपाललाई यस्तो सुझाव दिएको हो । प्रतिवेदन अमेरिकी विदेशमन्त्री जोन केरीले सोमबार वासिङ्टनमा सार्वजनिक गरेका थिए ।

श्रम बेचबिखनका शंकास्पद आपराधिक क्रियाकलाप हुने गरेको भन्दै पनि अमेरिकाले चिन्ता व्यक्त गरेको छ । चर्को शुल्क असुल्ने वा जालसाजीपूर्ण छनोट प्रक्रियामा संलग्न रहेको आरोप लागेका नेपाली श्रम छनोटकर्तालाई कारबाही गर्न सरकार लाग्नुपर्ने सुझाव पनि दिइएको छ । नेपाली महिला तथा बालबालिकाहरू नेपालभित्रै तथा अमेरिका, भारत, पश्चिम एसियाली मुलुक र अफ्रिकामा समेत अवैध

यौन व्यापारका लागि लैजाने गरिएकोमा चिन्ता व्यक्त गर्दै नियन्त्रणका लागि अमेरिकाले सुझाव दिएको हो ।

प्रतिवेदनले अमेरिकालगायत १ सय ८८ राष्ट्र तथा क्षेत्रसम्बन्धी विवरण समेटेको छ । नेपाल सरकारले मानव बेचबिखन रोकथाम गर्ने दिशामा प्रगति हासिल गरेको र कानुन कार्यान्वयन तथा पीडितको संरक्षण गर्ने दिशामा सामान्य सुधार गरेको भए पनि पर्याप्त नरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । हरेक वर्ष जारी हुने उक्त प्रतिवेदनमा नेपाल लगातार यस्तै श्रेणीमा पर्दै आएको छ ।

Published on: 29 July 2015 | Kantipur
 

Back to list

;