s

मानव तस्करी नियन्त्रण अन्तर्राष्ट्रिय कार्यसमुहको संयोजक नेपाल

मानवतस्करी रोक्न नेपालको नेतृत्वमा अन्तर्राष्ट्रिय कार्य समुहको गठन भएको छ । नेपाल प्रहरीको अगुवाइमा कार्ययोजना र संरचना बनाउन काठमाडौंमा भएको मानवतस्करी नियन्त्रणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलनले अन्तरदेशीय संरचनाको समुहको गठन गरेको हो ।
 
अफ्रिकी, खाडी, युरोपियन र केही एसियाली मुलुकमा बैदेशिक रोजगारी, आप्रवासन, भ्रमण, विवाहलगायतकाको आवरणमा नेपाली युवा–युवतीको तस्करी बढेपछि नेपाल प्रहरीले आठ देशका प्रतिनिधिसहितको अन्तराष्ट्रिय सम्मेलनको आयोजना गरी बिहीबार अन्तरदेशीय सहकार्यका लागि कार्यसमुहको गठन गरेको हो ।
 
तीन दिनको सम्मेलनको अन्तिम दिन बिहीबार पाँच बुँदे कार्ययोजना सार्वजनिक गर्दै मानव ओसारपसार रोकथाम र अनुसन्धानमा संलग्न विभिन्न देशको प्रहरी संगठन सहभागी कार्य समूह गठन गरेको हो । नेपाल प्रहरी, अपराध अनुसन्धान विभागका प्रमुख एआइजी सुरेन्द्रबहादुर शाहका अनुसार मानव तस्करीको स्रोत राष्ट्र, ट्रान्जिट र लक्षित मुलुकका अपराध अनुसन्धान गर्ने निकायका प्रतिनिधि रहनेगरी गठन भएको समुहको पहिलो नेतृत्व नेपालले पाएको छ ।
 
कार्यसमूहको संयोजक नेपाल प्रहरी अपराध अनुसन्धान विभाग प्रमुख शाह छन् भने सम्मेलनमा सहभागी बंगलादेश, थाइल्यान्डलगायत ८ मुलुकका अपराध अनुसन्धान निकाय सदस्य छन् । सरकारी तथा गैरसरकारी प्रतिनिधिको रुपमा नेपालबाट महिला बालबालिका, गृह, परराष्ट्र र कानुन र श्रम मन्त्रालय, महान्यायधिवक्ताको कार्यालयका प्रतिनिधि सदस्य छन् । अन्तराष्ट्रिय संस्था आईओएम, युएनओडिसी, इन्टरपोल, युएसएड, एसियन फाउन्डेशनसँगै अष्ट्रेलियन र अमेरिकी एम्बेसी र गैरआवासीय नेपाली संघका प्रतिनिधि सदस्य छन् ।
 
'मानव ओसारपसारलगायतका संगठित रुपमा हुने अन्तरदेशीय अपराध नियन्त्रणमा निकट रहेर सहकार्यका लागि कार्य समुहको गठन भएको छ,' शाहले नागरिकसँग भने 'सो समुहले संगठित अपराधसम्बन्धी सूचना आदानप्रदान, प्रविधि संयोजन लगायतका काम गर्ने उदेश्य छ।'
 
पाँच बुँदे कार्ययोजनामा उल्लेख भएअनुसार कार्य समुहले तीन महिनाभित्रमा यसको पूर्ण कार्ययोजनाको निर्माण गर्ने छ । विस्तृत कार्ययोजनाको निर्माणपछि सन् २०१६ जनवरीमा सरोकारवाला निकायका प्रतिनिधिको बैठक राखेर भावी कार्ययोजना तयार गर्ने सहमती भएको एआइजी शाहले जानकारी दिए ।
  
Published on: 8 October 2015 | Nagarik
 

Back to list

;