s

मनालीमा रोजगारी गर्ने नेपालीले गरे समानताको माग

कान्तिपुर संवाददाता

नयाँ दिल्ली — हिमाचल प्रदेशको कुल्लू–मनाली जिल्लाका नेपालीहरुले त्यहाँका मुख्यमन्त्री जयराम ठाकुरसँग भारतीय नागरिक सरहका समान व्यवहार र हक अधिकार उपलब्धताको माग गरेका छन् ।

मनाली आएका मुख्यमन्त्री ठाकुरलाई शनिबार मूल प्रवाह अखिल भारतीय नेपाली एकता समाजको नेतृत्वमा नेपालीहरुको एक समूहले भेटेको थियो ।

समाजका अध्यक्ष साँइला लामाले स्वास्थ्य, शिक्षा, रोजगारी, पारिश्रमिक, सुरक्षालगायतका सबैजसो विषयमा आफूहरुले मुख्यमन्त्रीसँग कुरा राखेको बताए । ‘यहाँ हजारौंको संख्यामा नेपालीहरु वर्षौंदेखि बस्दै आएका छौं, हिमाचल प्रदेशको आर्थिक उन्नति र प्रगतिमा हाम्रो ठूलो योगदान छ,’ कान्तिपुरसँग उनले भने, ‘मुख्यमन्त्रीसँग हामीले पाउनु पर्ने सेवा, सुविधा र सम्मानका विषयमा कुरा राखेका छौं ।’

उनका अनुसार सडक, खानेपानी, वन लगायतका सरकारी निकायमा २ हजार जति नेपालीहरु स्थायी जागिरे नै छन् । त्यसबाहेक स्याउ खेती, पशुपालन र अन्य कृषिकर्म गर्नेहरुको संख्या ठूलो छ । अधिकांश नेपालीहरु मजदुर छन् । कुल्लु मनालीको सडक विभागमा १६ वर्षदेखि दैनिक ज्यालादारीमा कार्यरत २० जनालाई स्थायी गर्न पनि मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको लामाले बताए ।

मुख्यमन्त्री ठाकुरले नेपालीहरुको सम्मान, सुरक्षा र सुविधामा कुनै पनि असमानता हुन नदिने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।

Published on: 31 August 2021 | Kantipur

Link

Back to list

;