s

मानवतस्करीको एउटा कुरुप कथा

देवेन्द्र भट्टराई

'सुरक्षित र व्यवस्थित आप्रवासन'को होहल्लासहित डिसेम्बर १८ मा अन्तर्राष्ट्रिय आप्रवासन दिवस मनाउने तयारी जुटिरहेका बेला काभ्रेको फूलबारी, पीपलचौर गाउँमा भेटिए— १५ वर्षीय सन्तोष श्रेष्ठ । यही 'माइग्रेसन' मामलामा प्रत्यक्ष/परोक्ष जोडिएको मानवतस्करी सञ्जालको जिउँदोजाग्दो भुक्तभोगी रहेछन् सन्तोष । 

२०६६ जेठ २१ गतेको घटना हो यो । सुनधारास्थित प्रभात माविमा ६ कक्षामा पढ्दै गरेका १२ वर्षे बालकलाई एउटा मारुती भ्यानवालाले नजिकै आएर भन्यो—'तिम्रो दाइ लगनखेलमा छन् । तिमीलाई उतै बोलाएका छन् ।' आफ्नो माइलो दाइ मधुकर ड्राइभर पेसामै भएकाले र लगनखेल रुटकै गाडी चलाउने भएकाले 'होला नि त' भन्दै त्यही भ्यानमा सन्तोष चढे । तर त्यो लगनतखेलतर्फ लागेन र कहीं कतै रोकिएन पनि । सिधै थानकोट हुँदै नारायणगढ हुँदै तीन दिन लगातार कुदाउँदै भारत भूमिको कुनै अज्ञात गन्तव्यमा पुगेर गाडी रोकियो । 'मलाई कता लगेको, किन लगेको' भनेर जिज्ञासु बनिरहे पनि 'चुप लाग, हल्ला गर्ने होइन' भन्दै भ्यानमा आफूसँगै बसेका व्यक्तिले चर्को स्वरमा दप्काइरहने रहेछन् । भ्यानको अगाडि दुईजना पालैपालो ड्राइभिङ गर्ने भारतीयजस्ता व्यक्ति थिए भने पछाडि सन्तोषसँग रामेछाप घर भएका सुवर्ण नामका अमूक पात्र थिए । चिसो ठिहीले भरिएको जंगल बीचको एकान्त होटलमा पुगेपछि सन्तोषलाई होटलवालाको जिम्मा लगाइएछ र भ्यान त्यहींबाट फर्किएछ । मालिकले डोर्‍याउँदै त्यो होटलको अन्डरग्राउन्ड कोठामा लगेपछि मात्रै सन्तोषले देखेछन्— आफूजस्तै र उस्तै उमेरका अरु ४/५ जना नेपाली केटाहरु त्यहाँ भाँडा माझिरहेका छन् ।

'कहाँ, के, कसो' भन्न नपाउँदै सन्तोषको दैनिकी सुरु भैहाल्यो— बिहानदेखि बेलुकीसम्मै भाँडा माझ्ने । तलब, सेवा-सुविधाको कुरा भएन । उमेश, मनोज, सागर नाम गरेका नेपाली केटाहरुसँगै भाँडा माझ्ने, सुत्ने र दुई छाक खाने बाहेकको दैनिकी उनले बेहोर्न पाएनन्— अढाई वर्षसम्म । त्यो होटलको माथिल्लो लबीमा के, कस्ता ग्राहक आउँथे— उनले कहिल्यै देख्न पाएनन् । किनभने भूमिगत कोठा सलाइको बट्टाजस्तो रहेछ, फोहोर भाँडामात्रै बाहिरबाट ल्याइन्थ्यो । तर आफू भने बाहिर जान, हेर्न नमिल्ने परिबन्द थियो । सन्तोषको बुझाइमा काठमाडौं आसपासका जिल्लाहरुबाट लगिएका अरु केटाहरु पनि आफ्नै हविगतमा थिए, उनीहरु पनि कसले किन यहाँ ल्यायो— पत्तो नपाइरहेको स्थितिमा थिए ।

भूमिगत कोठरीमा दिनरात भाँडा माझ्नुभन्दा 'धेरै भए मरिन्छ' भनेर एकरात सन्तोष भूमिगत कोठाबाट भागेर जंगलै-जंगलको अनकन्टार गन्तव्यतर्फ हानिएछन् । हिउँ जमेको भुइँ र पहाडी उकालो-आरोलो हुँदै दुई दिन दुई रात हिँडेपछि मान्छेको चहलपहल भएको हिमाञ्चल प्रदेशको रोडु भन्ने ठाउँमा पुगेछन् । त्यहाँ एउटा बिजुली कम्पनीका लागि सुरुङ खन्ने काम भैरहेको रहेछ । त्यहीका हर्ताकर्तालाई काम मागेपछि कहिले भाँडा माझ्ने, कहिले सुरुङ खन्ने काम पाएछन् । दुई/चार दिन काम गरेपछि पाएको ज्यालादारी पैसाले पीपलचौर गाउँमा बस्ने बाबु मोहनदास श्रेष्ठलाई फोन गरेछन्—'बा, म सन्तोष । भारतको हिमाञ्चलतिर छु, म छिट्टै घर आउँछु ।'

यता पीपलचौर गाउँमा बस्ने बाबु-आमा नाबालक कान्छा छोराको बेपत्ता स्थितिमा चिन्ताले चाउरिएका थिए । बाबु मोहनदास हनुमानढोका प्रहरीमा उजुरी गर्नदेखि नेपाल टेलिभिजनका विज्ञापन कक्षसम्म खुरुखुरु धाइरहेका थिए । रेडियो, एफएम र पत्रपत्रिकामा उनले छोरो बेपत्ताको सूचना निरन्तर बजाइरहे । र यसरी बेपत्ता बनाउनमा अभ्यस्त माओवादी पार्टी कार्यालयमा पनि मोहनदास पुगे । यी सबै कामकुरा फत्ते गर्नमा कति खर्च सकियो, कति समय र श्रम खर्चनुपर्‍यो—यसको हिसाब गर्ने कुरा आएन पनि । यी अनेक प्रक्रिया टुंग्याउँदासमेत छोराको खुटपत्तो नपाइरहेका बेला गत २०६८ माघ १ को रातमा त्यही बेपत्ता छोराको आवाज सुनियो— 'बा, म छिट्टै घर आउनेछु ।'

त्यसपछिका केही महिना सुरुङ खन्ने काम गरेर केही बाटा खर्च जोहो गर्दै गत बैसाख ३० गते बेलुका सन्तोष घर फिरेर आएका छन् । तर छोरो आए पनि घरपरिवार र आफन्तजनमा छाएको आशंका, भय र त्रासको छट्पटी भने सानोतिनो छैन । 'छोराको पढाइ छुटिसकेको छ, ऊ मनोवैज्ञानिक रूपमा तर्सिएको अवस्थामा छ,' स्थानीय भीमेश्वर निमाविको व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका मोहनदास भन्छन्— 'नाबालाक छोराछोरी कहाँ हराइरहेछन् भन्ने चिन्ताले धेरैजना बाबुआमाको ज्यान खाएको छ । तर मानवतस्करीको यो चंगुलबारे हाम्रो प्रहरी, प्रशासन र राज्य बेखबरझैं छ । हारगुहार माग्दा पनि सुनिदिने कोही छैन । यो कस्तो अनौठो कुरा हो ?'

हो, यसरी काठमाडौंको सुनधारा हुँदै दर्जनौं प्रहरी चेकपोष्ट र काउन्टर छिचोल्दै महेन्द्रनगर (सायद वनबासा नाका) बाट भारतको हिमाञ्चल प्रदेशको कुनै अज्ञात गन्तव्यमा पुग्नलाई एउटा तस्करले कस्तो 'संयन्त्र' बनाउनुपर्ला ? यो अन्तर्राष्ट्रिय तस्करीको गिरोह र सञ्जालबारे प्रहरी अथवा अनुसन्धानको कुनै तह-तप्कामा कुनै जानकारी होला ? यदि जानकारी छ भने सन्तोषकै जस्तो दुर्दान्त नियति बेहोरेर भारतको हिमाञ्चल अथवा आसपासका मुकामहरुमा बेपत्ता दैनिकी गुजारिरहेका उमेश, मनोज र सागरहरुको उद्धारमा नेपाल-भारत सुरक्षा संयन्त्रमार्फत केही काम गर्न सकिन्थ्यो कि ? यदि केही गर्न सकिन्न भने सुरक्षित-मर्यादित-व्यवस्थित आप्रवासनको र माइग्रेसन-डे मनाउनाको तुक केही रहन्छ र ? यो एउटा सर्वसाधारण नागरिकले राज्यलाई राख्ने जिज्ञासा हो ।

Published on: 17 December 2012 | Kantipur

Back to list

;