s

मानव तस्करले केरलामा बन्धक बनाएका दुई नेपाली युवतीको उद्धार

काठमाडौं : तीन महिनादेखि भारतको केरला राज्यको कोचीमा बन्धक बनाइएका दुईजना नेपाली युवतीको उद्धार गरिएको छ। नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले मंगलबार साँझ उनीहरूलाई उद्धार गरी नेपाल ल्याएको हो।

ललितपुर र सर्लाहीका दुईजना युवतीलाई रोजगारका लागि ओमान लैजाने भन्दै केरलाको कोची पुर्‍याएर बन्धक बनाइएको थियो। उद्धार गरिएका महिला २० र २४ वर्षीया हुन् । मानव बेचविखन अनुसन्धान तथा ब्युरोका प्रमुख ओमबहादुर रानाका अनुसार भारतमा काम गरिरहेका विभिन्न संघसंस्थाको सहयोगमा पीडितलाई उद्धार गरी नेपाल एयरलाइन्सको विमानबाट काठमाडौं ल्याइएको हो ।

उद्धार कार्यमा चेलिबेटी बेचविखनसम्बन्धी काम गर्दै आएको संस्था केआईएन इण्डियाले सहकार्य गरेको थियो । केआईएनका नविन जोशीका अनुसार उद्धार गरिएका दुईसहित पाँचजना किशोरीलाई गत मंसिरमा दिल्लीहुँदै केरलाको कोची पुर्‍याएको थियो । केरलाबाट श्रीलंकाहुँदै ओमान लैजाने क्रममा ती युवतीलाई कोची विमानस्थलबाट फर्काइएको थियो । केरला अध्यागमनका कर्मचारीले नेपाली युवतीको कागजात शंकास्पद लागेको भन्दै फिर्ता पठाएको थियो ।

दिल्ली विश्वविद्यालयमा मानव बेचविखनमा विद्यावारिधि गरिरहेकी अस्भिना बस्नेतले पछिल्लो समयमा नेपालबाट भारतहुँदै ओमनलगायत खाडी मुलुक जाने महिलाहरूको तस्करी बढिरहेको बताइन्। उनले भनिन्,' महिला बेचविखन रोक्न नेपाल सरकार नलाग्ने हो भने भविष्यमा भयावह अवस्था आउन सक्छ।'

मानव बेचविखन अनुसन्धान ब्युरो प्रमुख रानाका अनुसार पीडितले दिएको जानकारी अनुसार उनीहरूलाई सुमन राई नामक एजेन्टले केरला पुर्‍याएको थियो। एजेन्टको समूहले उनीहरूलाई कोचीको एक होटलमा राखेर बन्धक बनाएका थिए । सो समूहले ओमान लैजानको लागि भन्दै उनीहरूबाट पैसा मागेको थियो।

युवतीहरूले एजेन्टलाई पैसा बुझाउन नसकेपछि उनीहरूलाई होटलमा नै बन्धक बनाएर यातना दिने गरेका थिए । ललितपुरकी किशोरीले घरपरिवारमा खबर गरेपछि परिवारका सदस्य मानव बेचविखन अनुसन्धान ब्युरोमा पुगेका थिए । ब्युरोले दिल्लीस्थित नेपाली दूतावास, केरला प्रहरीलगायत विभिन्न मन्त्रालय तथा संघसंस्था संघ सहकार्य गरेर उनीहरूलाई होटलबाट उद्धार गरेको हो ।

प्रहरीका अनुसार पछिल्लो समय बेचविखनको प्रवृति फेरिएको छ । खाडी मुलुक जान नेपालले महिलालाई रोक लगाएपछि उनीहरू भारतको बाटोहुँदै जाने गरेका हुन् । पाँचजनामध्ये अन्य तीनजनालाई मानव तस्करको समूहले ओमन पुर्‍याएको हो। दुईजना भने नेपाल फर्किन सफल भएका हुन्।

Published on: 7 March 2024 | Annapurna Post

Link

Back to list

;