s

मानव तस्करको जालो

बालबालिकालाई सुनौलो सपना बाँड्दै चारदेखि २३ महिनासम्म लगाएर अमेरिका पुर्‍याउने जालो यतिबेला मौलाएको छ । यस्ता मानव तस्करको नजर विद्यालय शिक्षा पूरा गर्दै गरेका किशोरकिशोरीमाथि परेको छ । उज्ज्वल भविष्यको सपना देख्ने किशोरकिशोरीलाई फकाइफुल्याई लैजान खोज्नेहरू सक्रिय छन् । कलिलो मस्तिष्कमा अमेरिका पुगेपछि सबै थोक हुन्छ भन्ने भ्रम छर्दै पढाइ छुटाएर पठाउने तस्करको खेलप्रति राज्य संयन्त्रको ध्यान पुगेको देखिँदैन । ज्यान जोखिममा राखेर हवाईपछि जल र स्थलमार्गको उपयोग गरी किशोरकिशोरीलाई लैजाने गरिएको छ । यसअघि युवाहरूलाई लैजाने समूह किशोरकिशोरी तस्करीमा लागेको आशंका छ । मानव तस्करले फैलाएको यति ठूलो विषयमा राज्य संयन्त्र संवदेनशील नहुनु दुर्भाग्य हो । अर्थात्, नेपाल सरकार बेखबरजस्तै छ । मानव तस्करी रोक्ने सम्बन्धमा कुनै ठोस कदम चालेको पाइँदैन ।
 
नेपाली अभिभावकहरू तस्करको आश्वासनमा भर पर्दै लाखौं खर्चेर आफ्ना बालबालिका अमेरिका पठाउँदै छन् । देखासिकी गर्ने र अवसरको चाहनाले मानव तस्कर गर्नेहरूलाई मौलाउन मलजल पुगिरहेको छ । 
 
अमेरिकास्थित नेपाली दूतावासमा कार्यरत अधिकारीहरू अवैध रूपमा स्थलमार्गबाट दैनिक १५ भन्दा बढी नेपाली छिर्ने गरेको र तिनमा बालबालिका बढी भएको अनुमान गर्छन् । अफ्रिकी महादेशबाट दक्षिण अमेरिकाका विभिन्न मुलुक हुँदै रातबिहान, लरी, डुंगा, जंगलको हिंडाइ गर्दै मेक्सिको पुग्ने र त्यहाँबाट अमेरिका छिर्ने गरेका छन् । पानामा, निकारागुवा, होन्डुरस, कोलम्बियालगायत मुलुकका जेलमा नेपाली खाली हुँदैनन् । नेपालीसँग अनुहार मिल्दोजुल्दो हुने विदेशीले पनि नेपाली भन्ने गरेका छन् । भुटानी, फिजी, मरिसस, भारत, मलेसिया, पाकिस्तान र बंगालीलगायतले नेपाली परिचय दिने गरेका छन् भने कतिले नेपाली राहदानी बोकेको पाइएको छ । अमेरिकाले क्युविनहरूलाई छाडेको ‘छिद्र’ बाटोलाई मानव तस्करले उपयोग गरेको पाइन्छ । यसले नेपाल मात्र होइन, दक्षिण एसियाली मुलुकका बासिन्दालाई गाँजेको देखिन्छ । यो धन्दामा अफ्रिकी र दक्षिण अमेरिकी नागरिक बढी सक्रिय छन् ।
 
बालबालिकाका सवालमा निकै गम्भीर रहने अमेरिकी सरकारले आफ्ना माइनर केन्द्र (बालबालिकालाई राख्ने ठाउँमा) मा नेपालबाट हवाई, जल तथा स्थलमार्गबाट किशोरकिशोरी आएको सुनेपछि जानकारी गराएको हो । दूतावासले पनि यसमा थप अध्ययन भन्दै कन्सुलर विभागलाई जानकारी पठाएको छ । विभागले त्यसमा अध्ययन गर्न अनुसन्धान ब्युरो र अध्यागमनसँग मिलेर काम गर्नुपर्ने देखिन्छ । आठ/नौ कक्षा अध्ययनरत विद्यार्थीहरूसमेत अमेरिका पुग्न थालेपछि अमेरिकी सरकारले चासो देखाउनुले पनि मुलुकको अवस्था झन् छचल्किएको छ । नेपाली बालबालिका राखिने केन्द्रमा संयुक्त राज्य अमेरिका मात्र नभई दक्षिण अमेरिकी मुलुकसमेत पर्ने गरेका छन् । कोस्टारिका र पानामाका ‘माइनर’ केन्द्रले जानकारी दिएका कारण यो अवस्थामा निकै जटिलता देखिने गरेको छ । फर्जी पासपोर्टमा यसरी अमेरिका प्रवेश गरेका बालबालिकासँग कुनै वैधानिक कागजात हुँदैन । अमेरिकाका त्यस्ता केन्द्रमा १६ किशोरकिशोरी रहेको जानकारी औपचारिक रूपमा दिइएको छ ।
 
अमेरिकी अधिकारीले यसलाई रोक्नुपर्नेमा जोड दिँदै यसमा गम्भीर बनेको दूतावासले जनाएको छ । अमेरिकी सरकारले जानकारी दिएको संख्याबाहेक अन्यत्र पनि यस्ता नेपाली हुन सक्ने आशंका छ । यस्ता कार्यमा संलग्न जोकोही भए पनि अनुसन्धान गरी कारबाही गर्न आवश्यक छ । त्यसमा दूतावास बढी सक्रिय हुन जरुरी छ । दूतावासको समन्वय र कर्मचारीको सक्रियता बढी आवश्यक छ । कर्मचारीको मिलेमतोबिना तस्करहरूले यो जालो फैलाउन नसक्ने हुँदा यसले रक्षकै भक्षक भएको सन्देश दिनेछ । कतिपय मुलुकका मानिसले नेपाली राहदानी बोकेको पाइएकाले यसमा गम्भीर हुँदै छानबिन गर्नुपर्छ र संलग्नहरूलाई कारबाही गर्नुपर्छ । राहदानीको आधार नागरिकता हो । 
 
हाम्रामा कर्मचारीहरूसँगको मिलेमतोमा नागरिकता र राहदानी सजिलै पाउन सक्ने हुनाले यस्तो समस्या सिर्जना भएको हो । यस्ता विषय छानबिन गर्न कोही पनि चुक्नु हुँदैन । मानव तस्करीको गम्भीर अपराधको जालो तोड्न सक्रियता जरुरी छ ।
 
Published on: 7 November 2017 | Kantipur

Back to list

;