s

मानव तस्करीमा संलग्न गिरोहविरुद्ध संगठित अपराध कसुरमा अनुसन्धान

अमेरिकामा मानवतस्करी गर्ने गिरोहविरुद्ध प्रहरीले संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ । पक्राउ परेकामाथि प्रारम्भिक अनुसन्धानमा संगठित रूपमै ठूलो गिरोहले तहगत रूपमा मानव तस्करी गर्दै आएको खुलेपछि संगठित अपराध निवारण ऐनअनुसार प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले गत ७ साउनमा कमल तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । तामाङलाई अप्रत्यक्ष रूपमा सघाउने थप दुईजनालाई पनि पक्राउ गरिएको र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान थालिएको ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । अमेरिका लैजाने भन्दै केही युवालाई सो समूहले विभिन्न देशमा लगेर लाखौँ असुलेको थियो । गिरोहका नाइकेहरू विदेशमै रहेको प्रहरी स्रोत बताउँछ ।

सो समूहबाट पीडितमध्ये धेरै दाङ, रुकुम र सल्यानका युवा भएको र त्यसमध्ये थोरैले मात्र प्रहरीमा उजुरी दिएको उनको भनाइ छ । पक्राउ परेका गिरोहका सदस्य तामाङ गल्फ खेलाडीसमेत हुन् । उनले काठमाडौंको जयबागेश्वरीमा एटलान्टिक माइग्रेसन सेन्टर नामको कार्यालय खोलेका छन् । सोही कार्यालयमा विदेश जानेहरूलाई बस्ने सुविधासमेत छ । यो गिरोहमा संलग्न कतिपय व्यक्ति विदेशमा रहेको खुलेको छ ।

प्रहरीका अनुसार एकै व्यक्तिले अमेरिकाको सपनामा एक करोड १८ लाख गुमाएका छन् । उनलाई अमेरिका लैजाने भन्दै कहिले थाइल्यान्ड, कहिले दुबई तथा कहिले जाम्बिया लगिएको थियो । महिनौ विभिन्न देशमा राखिएपछि उनी स्वदेश फर्किएका हुन् । आफन्तलाई समेत अमेरिका पठाउने सर्तमा उनले पटक–पटक गरेर एक करोड १८ लाख बुझाएका हुन् । पछि दलालहरू सम्पर्कविहीन भएपछि उनी पनि उजुरी लिएर प्रहरीमा पुगेका छन् । अमेरिका लैजाने भन्दै मानवतस्करी गर्ने गिरोहको विश्वासमा परेर धेरै युवायुवती ठूलो समस्यामा परेको प्रहरी अधिकारीहरू बताउँछन् ।

Published on: 5 September 2023 | Naya Patrika

Link

Back to list

;