s

मानव तस्करीमा मिजोरम रुट, २३ महिला नेपाल ल्याइयो

रविन भट्टराई

भारतबाट म्यानमार हुँदै इराक लैजान लागिएका १४७ महिला र ३२ पुरुषलाई माघ अन्तिम साता मणिपुरको इम्फालबाट उद्धार गरियो। दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैरसरकारी संस्थाले उद्धार गरी फागुन ७ गते उनीहरूलाई नेपालको जिम्मा लगायो।

खाडी मुलुक लैजान लागिएका २३ महिलालाई भारतको मिजोरमबाट उद्धार गरी बिहीबार नेपाल फिर्ता ल्याइएको छ। स्थानीय नेपालीभाषीको सुराकीका आधारमा भारतीय संस्था र मिजोरम प्रहरीले ६ दिनअघि उनीहरूलाई चम्फीबाट उद्धार गरेको थियो। उनीहरूलाई काँकडभिट्टास्थित माइती नेपालको सेफ होममा राखिएको छ। त्यसपछि काठमाडौं लगी परिवार र काममा पुनःस्थापित गर्ने तयारी छ।
 
मिजोरम बर्मासँग सिमाना जोडिएको भारतको उत्तरपूर्वी राज्य हो। भारतका मणिपुर, मिजोरम र नागाल्यान्ड राज्यको सिमाना बर्मा (म्यानमार)सँग जोडिन्छ। मणिपुरको मोरे नाकामा कडाइ गरिएका कारण दलालले अर्को रुट प्रयोग गरेको देखिएको छ। माघ अन्तिम साता बर्मासँग सीमा जोडिएको मणिपुरको मोरेबाट १ सय ७९ नेपालीलाई उद्धार गरी नेपाल फर्काइएको थियो। त्यसअघि मणिपुरको राजधानी इम्फाल र तेंगनौपालमा राखेर एजेन्टले म्यानमार हुँदै इराक लगेको प्रहरी अनुसन्धानले देखाएको छ।
 
त्यहाँ पुर्‍याइएका नेपालीलाई मणिपुरको सीमाबाट म्यानमार लगेर खाडी देशमा तस्करी गर्ने घटना बढेपछि मणिपुर प्रहरीले इम्फालमा कडाइ गरेको छ। रुट परिवर्तन गरेका दलालले मिजोरमबाट २३ महिलालाई अन्य देश पठाउने तयारी गरिरहेको थाहा पाएपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए। त्यसपछि होटलमा छापा मार्दा उनीहरू भेटिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसालले बताए।
 
शक्ति समूह, माइती नेपाललगायत संस्थाको पहलमा उनीहरूलाई बसबाट चार दिन लगाएर काँकडभिट्टा नाका हुँदै नेपाल ल्याइएको हो। भारतीय प्रहरी र ती संस्थाले बिहीबारै मन्त्रालयका उपसचिव भुसाललाई काँकडभिट्टास्थित माइती नेपालमा कागजातसहित जिम्मा लगाए।
 
नेपालीभाषी भारतीय नागरिक लालबहादुरले उनीहरूलाई सो स्थान पुर्‍याएको खुलेको छ। लालबहादुरलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको मिजोरमका प्रहरी महानिरीक्षक एलएच शान्लियानाले बताए। उपसचिव भुसालका अनुसार नेपालबाट सो स्थानसम्म अबैध बाटोको प्रयोग गर्दै लैजाने व्यक्तिको पहिचानका लागि प्रहरीले अनुसन्धान गरिरहेको छ।
 
उद्धारमा भारतीयको सक्रियता
 
दक्षिण–पूर्वी एसियाली मुलुक लैजान लागिएका नेपालीको उद्धारमा मणिपुर प्रहरी र दिल्ली महिला आयोग सक्रिय देखिएका छन्। माघ १० र ११ गते पनि इम्फाल र तेंगनौपालका विभिन्न होटलमा छापामारी मणिपुर प्रहरीले १ सय २८ जनालाई उद्धार गरेको थियो। त्यसमध्ये ७३ जना युवती थिए। त्यस बेला पहिलो पटक ठूलो संख्यामा उद्धार गरिएको मिजोरमका प्रहरी महानिरीक्षक शान्लियानाले बताए। त्यस बेला उद्धार गरिएकामध्ये धेरै नेपाली थिए। भारतीय प्रहरीले उक्त क्षेत्रबाट लालबहादुरसहित ६ तस्करलाई पक्राउ गरेको छ।
 
फागुन पहिलो साता नयाँ दिल्लीको भलस्वाबाट ६ नेपाली युवतीको उद्धार भारतीय प्रहरीले गरेको थियो। उनीहरूले ठूलो समूहमा नेपाली युवतीलाई मणिपुरको बाटो हुँदै म्यानमार पुर्‍याएर खाडी मुलुकमा तस्करी गर्ने गरेको बताएका थिए।
 
मणिपुर जनविभागअन्तर्गतका एनजीओले प्रहरीको सहयोगमा कारबाही अभियान चलाएका छन्। इम्फाल, मोरेह र तेंगनौपाल तथा अन्य स्थानका होटलमा छापा मार्ने अभियानै सञ्चालन भइरहेको छ। मणिपुर एलाइन्स फर चाइल्ड राइट्सका अनुसार डिसेम्बर २०१८ देखि जनवरी २०१९ सम्म ३ सय १० भन्दा बढी नेपाली युवतीको उद्धार भइसकेको छ।
 
नेपाल प्रहरी र माइती नेपाललगायत संघसंस्थाका अधिकारी भने उद्धारपछि भारतले सम्पर्क गर्दा लिन मात्र जाने गरेका छन्। सिमानामै कार्यालय स्थापना गरेर माइती नेपाल खटिँदा पनि अवैध बाटोबाट भारतसहित अन्य देश जाने महिलाको संख्यामा कमी आउन सकेको छैन।
 
Published on: 10 May 2019 | Annapurna Post

Back to list

;