s

मानव तस्करीको नयाँ गन्तव्य बन्दै किर्गिस्तान

सुरेन्द्र काफ्ले
 
नेपालगन्ज: नेपालगन्ज तथा आसपासका नाका हुँदै किर्गिस्तानसम्म मानव तस्करी हुन थालेको छ । माइती नेपालका नेपालगन्ज संयोजक केशव कोइरालाले पछिल्लो समयमा किर्गिस्तानमा मानव तस्करीको नयाँ गन्तव्य बनेको बताए ।
 
जनवरीयता भारत हुँदै अवैध रूपमा किर्गिस्तान जान लागेका १६ जना महिलालाई नेपालगन्ज नाकाबाट रोकिएको संयोजक कोइरालाले बताए । दाङ, सिन्धुपाल्चोक, नवलपरासीलगायतका जिल्लाबाट ल्याएर नेपालगन्ज नाका हुँदै किर्गिस्तान लैजान लागिएको थियो ।
 
अन्य खाडी मुलकमा भन्दा राम्रो आम्दानी हुने भन्दै उनीहरूलाई किर्गिस्तान लैजाँदै गरेको अवस्थामा प्रहरीको सहयोगमा नाकामा रोकिएको संयोजक कोइरालाले बताए ।
 
मानव तस्करीमा संलग्नले भारतको बाटो हुँदै किर्गिस्तान लाने गरेको भेटिएको उनले बताए । भारतमा भिसा बनाएर उनीहरूलाई किर्गिस्तान लाने तयारी गरिएको अवस्थामा रोकिएको हो । नेपालगन्ज नाका हुँदै अवैध रूपमा खाडी मुलकमा मानव तस्करी हुँदै आएको छ ।
 
डेढ वर्षअघि किर्गिस्तान पुर्‌याइएकी एक किशोरीलाई माइती नेपालले उद्धार गरेको संयोजक कोइरालाले जानकारी दिए । सिरिया पुर्‌याइएकी अर्की एक महिलाको पनि उद्धार गरिएको उनले बाए ।
 
संयोजक कोइरालाका अनुसार २०७२ भदौ २० देखि हालसम्म नेपालगन्ज नाकाबाट उद्धार गरी आवधिक गृहमा प्रवेश गराइएको संख्या ८ सय ५० छ । ८ सय ७३ जनालाई मानब बेचबिखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ । यस्तै २६ जना श्रम र यौन शोषणमा परेकाहरूको उद्धार गरिएको छ ।
 
५ सय १० जनालाई बोर्डरबाट परामर्श दिई घर फिर्ता गराएको कोइरालाले बताए । माइती नेपाल नेपालगन्जमा ६ सय २५ जनाको खोजतलासको निवेदन परेको छ जसमध्ये ८६ जना फेला परेका छन् । वैदेशिक रोजगारीमा गएका ३० जना घरेलु हिंसामा परेको निवेदन आएको कोइरालाले बताए ।
 
बेचबिखनका घटना धेरै हुने गरेको बाँके जिल्ला अदालतमा ३ वटा मुद्दा मात्रै एक वर्षको अवधिमा दर्ता भएका छन् । यो वर्ष वैदेशिक रोजगारीका क्रममा २ जना महिलामाथि जबरजस्ती करणी भएका निवेदनसमेत माइती नेपाल नेपालगन्जमा परेको छ ।
 
रोजगारी, उपचार, शिक्षा र भ्रमणको नाममा प्रलोभनमा पारेर दलालहरूले नेपाली महिलालाई बेचबिखन गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताए । उनले खुला सिमानाका कारण भारत हुँदै खाडी मुलुकसम्म मानव तस्करी भइरहेको बताए । उनले मानव तस्करी र बेचबिखन नेपाल र भारत दुवै देशको साझा समस्या भएकाले संयुक्त रूपमा लाग्नु पर्नेमा जोड दिए ।
 
बाँकेका प्रमुख जिल्ला अधिकारी पन्थले अवैध रूपमा मानव तस्करी रोक्न सिमानामा कडाइ गरिएको बताए । उनले सिमानामा कडाइ गरिए पनि खुला नाका भएकाले पूर्ण रूपमा रोक्न भने नसकिएको स्वीकार गरे ।
 
२०७२ भदौ २० देखि हालसम्म नेपालगन्ज नाकाबाट उद्धार गरी आवधिक गृहमा प्रवेश गराइएको संख्या ८ सय ५० छ । ८ सय ७३ जनालाई मानब बेचबिखन र सुरक्षित बसाइँसराइबारे जानकारी दिई पारिवारिक पुनर्मिलन गराइएको छ ।
 
Published on: 12 September 2016 | Annapurna Post

Back to list

;