s

‘मानव तस्करी सम्बोधन गर्न मुलुकमा कानुन नै छैन’

मानव बेचबिखन र मानव तस्करी दुई फरक विषय हुन् । नेपालको विद्यमान कानुनले कुनै व्यक्तिलाई किन्ने वा बेच्ने, कुनै व्यक्तिको कानुन विपरीत मानव अंग झिक्ने र बेच्ने कार्य वा वेश्यावृत्तिमा लगाउने र वेश्यागमन गर्ने कुरालाई मानव बेचबिखन भनेर सम्बोधन गर्छ ।

त्यसबाहेक विभिन्न देशमा अवैध रुपमा लैजाने कार्य चाहिँ मानव तस्करी भित्र पर्छ । जाने र लैजाने मान्छेको सहमती हुने, लैजाने मान्छेले जाने मान्छेबाट आर्थिक लाभ लिने र अवैध बाटोबाट कुनै पनि देशमा लैजाने कार्यलाई मानव तस्करी भनिन्छ ।

मानव बेचबिखनका घटना आन्तरिक र बाह्य देशमा हुने गरेका छन् । खुला सिमाना भएकाले छिमेकी देश भारतमा विभिन्न बहानामा लैजाने र यौन शोषण, वेश्यावृत्तिमा लगाउने जस्ता मानव बेचबिखनका कामहरु हुने गरेको देखिन्छ ।

अर्काे चाही खाडी मुलुकहरुमा नेपाली महिलालाई घरेलु कामदारका रुपमा लैजान प्रतिबन्ध छ । तर, विभिन्न बाहनामा अवैध रुपमा उनीहरुलाई त्यहाँ लैजाने र उनीहरु यौन शोषणमा पर्ने गरेको घटनाक्रमहरुले देखाउँछ । वैदेशिक रोजगारीका लागि भनेर लैजाने तर शोषण गर्ने कार्यहरु मानव बेचबिखन भित्र पर्छन ।

अर्काे चाहिँ थाइल्याण्डलाई ट्रान्जिट पोइन्ट बनाएर दक्षिण पूर्वी एसियाका देश म्यान्मार, लाओस, कम्बोडियामा भिजिट भिसामा लगेर बन्धक बनाएर अनलाइन स्क्यामहरु गर्न लगाउने गरेको देखिन्छ । यो सबै कामहरु मानव बेचबिखनभित्र पर्छन् ।

तर अहिले मानव बेचबिखनमात्र नभई मानव तस्करी मौलाएको घटनाक्रमहरुले देखाउँछन् । त्यसमा पनि अवैध रुपमा अमेरिका र युरोपहरुमा लैजाने जस्ता मानव तस्करीका घटनाहरु बाहिर आएका छन् । मिडियामा आएका समाचार, प्रहरीमा आएका सूचना, उजुरीहरु हेर्दा यो बढ्दो क्रममा छ भन्न सकिन्छ ।

अहिले अवैध रुपमा अमेरिका र युरोप लगायतका मुलुकमा पुर्याएर मानव तस्करी गर्ने कार्य अझ धेरै छ । प्रतिव्यक्ति २०, ५०, ८० लाख रुपैयाँसम्म लिएर अवैध रुपमा अमेरिका, युरोप र विभिन्न मुलुकमा पुर्याउने गरेको पाइन्छ । कति त त्यसरी जाँदाजाँदै बीचैमा अलपत्र परेका हुन्छन् । कति बीच बाटोबाटै फर्केर आएका छन् भने कति चाहिँ जाँदाजाँदै मृत्यु भएका घटनाहरु छन् ।

कति त के पनि देखिन्छ भने तस्करको पछि लागेर अमेरिका जान भनेर ५० लाख खर्चेर गएका हुन्छन् । बीचबाटोमा पुगेपछि एजेन्टले पैसा थप्न लगाउँछन् र फेरि पैसा थपेर गएको पनि देखिन्छ ।

हामीले केसम्म पायौं भने एउटै घरका दाजु–भाइका दुई छोराले अमेरिका जाने भनेर १ करोड १८ लाख रुपैया खर्च गरेको पनि भेटायौं । उनीहरु बीच बाटोबाटै फर्किएका थिए । तस्करीमा परेर लाखौं करोडौ रुपैयाँ डुबाउने थुप्रै उदाहरणहरु छन् ।

अझ अमेरिका जान भनेर हिँडेर जंगलमा, समुद्रमा डुंगा पल्टेर, बीच बाटोमै मृत्यु भएका घटना त सुनी नै रहेका हुन्छौं । घटनाक्रमले मानव तस्करीको यो जालो ठूलो भएको देख्न सकिन्छ ।

तर, यसमा उजुरी चाहिँ एकदमै थोरै आउँछन् । जाहेरी नआउनुको कारण पहिलो त मानव तस्करी सम्बन्धी कानुन नै नहुनु हो । दोस्रो चाहिँ त्यसरी पठाउने मान्छेहरु पीडितकै चिनजान र आफ्नो मान्छे हुने भएकाले हत्तपत्त उजुरी आउँदैनन् ।

हामीले डिपोर्ट गरेर फर्काएकाहरुको मुद्दाहरु हेर्दै आएका छौं । पछिल्लो पाँच वर्षमा अमेरिकाबाट १८५ जना डिपोर्ट भएर आएका छन् । तीमध्ये वैध र अवैध रुपमा पुर्याएका डिपोर्ट गरिएकाहरु छन् । त्यसरी डिपोर्ट गरिएकाहरुलाई किन, कसरी र कुन एजेन्टबाट गएको भनेर सोध्छौं तर पीडितहरु बोल्नै चाहँदैनन् ।

मुख्य कुरा चाहिँ नेपालमा मानव तस्करी सम्बन्धी कानुन नै छैन । त्यहीकारण यसमा मुद्दा दर्ता हुन सक्दैन । कानुन नहुँदा यी घटनालाई सिधै मानव तस्करीमा मुद्दा चलाउन सकिने अवस्था छैन । त्यसैले मानव तस्करीका घटनालाई पनि मानव बेचबिखन र ठगीमा मुद्दा चलाउनुपर्ने अवस्था छ ।

उदाहरणका लागि– कसैलाई अवैध रुपमा अमेरिका लान्छु भनेर पठायो तर बीचमा लगेर अलपत्र पार्यो भने त्यसलाई मानव तस्करी नभई ठगीको अभियोगमा मुद्दा चलाउनुपर्ने हुन्छ । त्यो भनेको हामीसँग कानुन नभएर हो ।

हामीसँग कानुन भएको भए तस्करीमा संलग्नहरुलाई सिधै मुद्दा चलाउन सकिन्थ्यो । जुन अपराध गरेको हो, त्यही अपराधमा कानुनी दायरामा ल्याउन सकिन्थ्यो । तर सबै घटनामा मानव बेचबिखनमा मुद्दा चलाउन सकिँदैन । चार प्रकृतिका घटनाबाहेक अरुमा मानव बेचबिखन सम्बन्धी मुद्दा चलाउन मिल्दैन ।

मानव तस्करीबाट पनि मानव बेचबिखन भएको हुन सक्छ । यहाँबाट मानव तस्करी गरेर अन्यत्र लैजाने र उता गएर वेश्यावृति, यौन शोषण गर्ने, एक व्यक्तिबाट अर्काे व्यक्तिमा किनबेच गर्ने कार्य भएका हुनसक्छन् । त्यसलाई मानव बेचबिखन अन्तर्गत मुद्दा चलाउँछौं ।

केही समय अघि हामीले अमेरिका पठाउने मुख्यमध्येकै एक एजेन्ट हस्त गौतमलाई पक्राउ गर्यौं । गौतम दाङ र रुकुमका मान्छे अमेरिका पठाउने मुख्य एजेन्ट मानिन्छन् । उसलाई मानव बेचबिखन तथा ओसारपसार, ठगी र संगठित अपराधमा मुद्दा चलाएका छौं ।

(नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसँग अनलाइनखबरका लागि आभाष बुढाथोकीले गरेको कुराकानीमा आधारित ।)

Published on: 7 November 2023 | Onlinekhabar

Link

Back to list

;