s

मानव तस्करीपीडितको उद्धारमा सरकार नै असहयोगी

काभ्रेपलाञ्चोक पाँचखालका कविराम लुइँटेलदम्पती आकर्षक कमाइ गर्न विदेश जाने सोचमा थिए । सोहीक्रममा ३० कात्तिक ०७४ मा महाराजगन्जस्थित साकुरा इप्लोइमेन्ट म्यानपावरको सम्पर्कमा पुगे । त्यहाँ उनीहरूलाई म्यानपावरका सञ्चालक महेन्द्रकुमार रानाले टर्कीमा मासिक १ लाख ६० हजार कमाइ हुने लोभ देखाए । सञ्चालक महेन्द्र र उनका सहयोगी ईश्वर रानाको प्रभावमा परी उनीहरूले त्यतिवेलै राहदानीसहित नगद १ लाख २५ हजार रुपैयाँ बुझाए । त्यसको रसिद अहिले पनि कविरामसँगै छ ।

नगद बुझाएको केही दिनपछि महेन्द्रले फोनमार्फत दुवैजनाको भिसा आएको जानकारी गराउँदै बाँकी पैसा बुझाउन आग्रह गरे । सोहीअनुसार कविरामले तीनपटक गरी ११ लाख ३५ हजार रुपैयाँ महेन्द्रलाई बुझाए । रकम बुझेपछि महेन्द्रले कविरामदम्पतीलाई भारतमा शंकर श्रीस र अर्जुन गिरी नाम गरेका व्यक्तिले रिसिभ गरेर टर्की पु-याउने जानकारी गराए । तर, सरकारी नियमअनुसार वैदेशिक रोजगारीमा जान आवश्यक श्रम स्वीकृति भने लिइएको थिएन । योजनाअनुसार उनीहरू आफ्नी सातमहिने छोरीलाई मामाघरमा छाडेर दुई दिनपछि नेपाल एयरलायन्सको जहाजबाट नयाँदिल्ली गए । त्यहाँ अर्जुन गिरीले उनीहरूलाई केही दिन एक होटेलमा राखे ।

२० मंसिर ०७४ मा इन्दिरागान्धी विमानस्थलबाट बहराइन हुँदै उनीहरूलाई टुरिस्ट भिसामा गिरीले टर्की पठाए । टर्कीको स्तानबुल विमानस्थलमा उनीहरूलाई ग्याल्जेन लामाले रिसिभ गरेर म्याम्सिम भन्ने स्थानमा पु-यायो । सो स्थानमा गैरकानुनी तरिकाबाट पु-याइएका अन्य नेपालीहरूसँगै उनीहरूलाई पनि राखियो । तर, टर्की पुगेको एक महिनासम्म पनि कुनै काममा लगाइएन ।

त्यसपछि नेपालमा बाचा गरिएअनुसार काम नपाएको भन्दै फोनमार्फत म्यानपावर सञ्चालक महेन्द्रकुमार रानासँग नेपाल फर्काउन उनीहरूले आग्रह गरे । तर, म्यानपावर सञ्चालकले आफ्ना सहयोगी ग्याल्जेनलाई कुनै पनि हालतमा नेपाल फर्किन नदिनु भन्ने निर्देशन दिए । त्यसको केही दिनपछि ग्याल्जेनले नै उनीहरूलाई दैनिक १२ देखि १६ घन्टासम्म काम गर्ने गरी एक गार्मेन्ट कम्पनीमा पु-यायो ।

दिनभर कपडाको प्याकिङ गर्ने उनीहरूलाई कारखानाभित्रै बन्धक बनाइन्थ्यो । उनीहरूले आफू सो कारखानामा बिक्री भएको चाल पाए । त्यसपछि कविरामले ३ सय ५० अमेरिकी डलर बुझाएर १६ दिनपश्चात् आफू बन्धकमै रहेर आफ्नी श्रीमतीलाई भने मुक्त गराए । बन्धक जीवनको कष्टकर यातनाका कारण नाक–मुखबाट रगत आउन थालेपछि कम्पनीका साहुले कविरामलाई समेत बन्धकमुक्त गरे । बन्धकबाट मुक्ति पाए पनि उनीहरू स्वदेश फर्किन सक्ने अवस्थामा थिएनन् । त्यसैले म्यानपावर सञ्चालकलाई सम्पर्क गरेर जसरी भए पनि नेपाल फर्काइदिन अनुरोध गरे । तर, महेन्द्रकुमारले भने फोन, म्यासेन्जर तथा इमोलगायत ब्लक गरेर सम्पर्कविहीन भइसकेका थिए ।

टर्की जान भन्दै नगद बुझाएको केही दिनपछि महेन्द्रकुमार रानाले फोनमार्फत कविराम लुइँटेल र उनकी श्रीमती दुवैजनाको भिसा आएको बताउँदै बाँकी पैसा बुझाउन भने । सोहीअनुसार कविरामले तीनपटक गरी ११ लाख ३५ हजार रुपैयाँ महेन्द्रलाई बुझाए । रकम बुझेपछि महेन्द्रले कविरामदम्पतीलाई भारतमा शंकर श्रीस र अर्जुन गिरी नाम गरेका व्यक्तिले रिसिभ गरेर टर्की पु-याउने जानकारी दिए । तर, सरकारी नियमअनुसार वैदेशिक रोजगारीमा जान आवश्यक श्रम स्वीकृति भने लिइएको थिएन ।

‘ठूलो रकम डुबेपछि स्वदेश फर्किन मनले मानेन,’ त्यतिवेलाको अनुभव कविरामले सुनाए । भिसाको म्याद सकिएपछि ग्याल्जेनले नै १ हजार २ सय अमेरिकी डलर लिएर अस्थायी बसाइ अनुमतिपत्र बनाउन सहयोग ग-यो । त्यसले एक वर्षसम्म आफ्नै खर्चमा बस्न र खान त मिल्थ्यो । तर, काम गर्न भने पाइन्नथ्यो । खाने–बस्ने खर्च जुटाउन उनीहरू लुकीछिपी काम गर्न बाध्य भए । सोहीक्रममा कविरामको स्वास्थ्य बिग्रिँदै गएपछि नेपालबाट आफन्तले पठाएको रकमले उनी २ चैतमा स्वदेश फर्किए । तर, पैसा अपुग भएपछि जीवनसंगिनीलाई पराई मुलुकमा एक्लै अलपत्र छाड्न बाध्य भए ।

अदालत जाँदा पनि उद्धारको पहल छैन

स्वदेश फर्केलगत्तै कविरामले श्रीमती सावित्राको उद्धारका लागि पहल गरिदिन भन्दै केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो (सिआइबी)मा उजुरी दिए । उजुरीमा आफूलाई ठग्ने व्यक्तिहरूलाई पक्राउ गरी ठगी भएको रकम, टर्कीमा बन्धकमुक्त हुँदाको खर्च, हवाईभाडासमेत भराई माग गरिएको थियो । त्यसमा मानव बेचबिखनमा परेका कारण आफ्नो र श्रीमतीको शारीरिक तथा मानसिक क्षति भएको भन्दै क्षतिपूर्तिको समेत दाबी गरिएको छ ।

सोही उजरीका आधारमा प्रहरीले ५ असारमा सामाखुसीस्थित म्यानपावरबाट आरोपीमध्येका एक शंकर श्रीसलाई पक्राउ ग¥यो । सोहीक्रममा म्यानपावर सञ्चालक राना र श्रीसविरुद्ध २९ असारमा काठमाडौं जिल्ला अदालतमा बेनामे मुद्दा दर्ता भयो । त्यससँगै राना र श्रीसविरुद्ध मानव बेचबिखन तथा ओसार–पसार र ठगी गरेको विभिन्न प्रमाणसहित जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र पेस गरेको थियो । आरोपीविरुद्ध थुनछेक बहसमा कसुर ठहर भएका उनीहरूलाई अदालतले धरौटीमा छाड्यो । तर, टर्कीमा अलपत्र सावित्राको उद्धारमा भने अदालतको आदेश मौन छ ।

थुनामै नबसी धरौटीमा रिहा

मानव तस्करका मुख्य आरोपी महेन्द्र रानालाई प्रहरीले पक्राउ गर्न सकिरहेको थिएन । सोझै अदालतमा हाजिर भएका रानाविरुद्ध काठमाडौं जिल्ला अदालतमा ४ असारमा थुनछेक बहस थियो । बहसमै कविराम र सावित्रालाई टर्की पठाइदिने भन्दै रकम लिएको स्वीकार गरेका रानाले विदेश भने नपठाएको जिकिर गरे । सोही आधारमा न्यायाधीश कृष्णराम कोइरालाको १३ साउनको एकल इजलासले महेन्द्रकुमारलाई कसुरदार मानेको छ । तर, सोही इजलासले पछि प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम गर्ने गरी २ लाख ५० हजार नगद धरौटीमा पुर्पक्षका लागि तारेखमा राख्न आदेश दिएको हो ।

उद्धार गर्न विभागले मानेन

टर्कीमा अलपत्र श्रीमती उद्धारका लागि कविरामले वैदेशिक रोजगार विभागमा उजुरी दिन खोजेका थिए । तर, वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा नगरेको भन्दै उद्धार गर्न नसकिने विभागले जवाफ दियो । तीनपटकसम्म विभागका कर्मचारीले उजुरी लिनै नमानेको उनको भनाइ छ । निरन्तरको कोसिसपछि रकम बुझाएको रसिदसहित म्यानपावरको कारोबार रोक्का गराउन उनले विभागमा उजुरी दर्ता गराए । त्यसकै आधारमा विभागले म्यानपावरको कारोबार रोक्का गरेको छ । तर, साकुरा इन्टरनेसनलकै मागपत्रलाई आधार बनाएर पोखराको प्रिया म्यानपावर र बुटवलको एक म्यानपावरले पैसा उठाइरहेका छन् ।

Published On: 1 September 2018 | Naya patrika

Back to list

;