s

मानव तस्करी नियन्त्रण र सीमामा दुर्व्यवहार रोक्ने निर्णय

दिल्लीमा नेपाल–भारत सुरक्षा बैठक
 
दिल्लीमा सम्पन्न नेपाल–भारत सुरक्षा बैठकले मानव तस्करी नियन्त्रण गर्ने निर्णय गरेको छ । सशस्त्र प्रहरी बल (एपिएफ) र भारतको सीमा सशस्त्र बल (एसएसबी) बीच बुधबारदेखि शुक्रबारसम्म भएको तेस्रो समन्वय बैठकमा सीमा पार गर्ने क्रममा नागरिकमाथि हुँदै आएका दुव्र्यवहार रोक्ने, मानव तस्करीमा रोकथाम र खुला सीमा दुरुपयोग नियन्त्रणजस्ता विषयमा समझदारी भएको हो ।
 
बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र भारतका तर्फबाट एसएसबीका महानिर्देशक रजनीकान्त मिश्रसहित दुवै संगठनका अधिकारी तथा गृह मन्त्रालका अधिकारी सहभागी थिए ।
 
नेपालबाट दिल्ली पु-याइएका ७१ जना महिलाको उद्धार भएको एक सातापछि सुरक्षा अधिकारीको बैठकमा अपराध नियन्त्रण गर्ने निर्णय भएको हो । ‘बैठकमा नेपाल–भारत सीमा क्षेत्रको समग्र सुरक्षा स्थितिबारे विस्तृतमा छलफल भयो,’ बैठकपछि भारतस्थित नेपाली दूतावासका प्रवक्ता हरिप्रसाद ओडारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सीमा सुरक्षाका सन्दर्भमा दुवै सुरक्षा फौजबीच समन्वय र सहकार्य थप प्रगाढ बनाउने गरी छलफल भएको छ ।’ ओडारीका अनुसार नेपाल–भारत सीमा क्षेत्रका स्थानीय तहमा कार्यरत स्थानीय नेतृत्वबीच नियमित र समयबद्ध छलफल गर्ने निर्णय भएको छ ।
 
करिब १८ सय किलोमिटर नेपाल–भारत सीमामा नेपालतर्फ सशस्त्र प्रहरी र भारततर्फ एसएसबीले सुरक्षा दिँदै आएका छन् । ‘बैठकमा दशगजा क्षेत्रमा मानव तस्करी, लागुऔषध ओसारपसार, हतियार तथा गैरकानुनी सामानको तस्करी रोक्न संयुक्त गस्ती बढाउने सहमति भएको छ,’ प्रवक्ता ओडारीले भने । सुरक्षा अधिकारीलाई जनमैत्री बनाउन थप तालिम दिइने पनि सहमति भएको छ ।
 
सीमावर्ती क्षेत्रमा नेपाली नागरिकलाई भारतीय सुरक्षाकर्मीबाट दुव्र्यवहार भएका घटना आइरहेका सन्दर्भमा यो निर्णय भएको नेपाली अधिकारीले बताए । चाडबाडको समयमा जनताको आवतजावत थप सहज बनाउन र अपराध नियन्त्रण गर्न प्रमुख सीमाबिन्दुमा हेल्प डेस्क राख्ने निर्णय पनि भएको छ ।
 
Published on: 11 August 2018 | Naya Patrika

Back to list

;