s

मानव तस्करीलाई नेपालले गम्भीर रुपमा लिएको छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले मानवतस्करी, बेचविखन  र यस सम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीर रुपमा लिएको बताएका छन्। 
 
इण्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचविखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार त्यहाँ सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपालीहरु वैदेशिक रोजगारीको जाने गरेका कारण पनि यो विषयलाई आफुहरुले गम्भिर रुपमा लिएको बताए।
 
उनले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानवतस्करी र वेचविखन बाधकको रुपमा देखा परिरहेको टिप्पणी गरे। गृहमन्त्री थापाले मानवतस्करी, बेचविखन र अन्तरदेशिय अपराधको सम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायहरुबीच  सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वाँस व्यक्त गरे।
 
उनले विभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागि समेत यो सम्मेलनले दिशा निर्देश गर्ने आशा व्यक्त गरे।आजै सम्पन्न हुने सातौ मन्त्रीस्तरीय सम्मेलनमा बिभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारीहरु सहभागी छन्। सन २००२ मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो। 
 
नेपालसहित चीन, भारत, अस्ट्रेलिया लगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सीहरु आईओएम, युएनएचसिआर र युएनओडिसी सम्मेलनको सदस्यको रुपमा रहेका छन्।
 
गृह मन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए। उनी साउन २३ गते नेपाल फर्कने छन्।
 
Published on: 7 August 2018 | Nagarik

Back to list

;