s

‘मानव तस्करीलाई नेपालले गम्भीररुपमा लिएको छ’

गृहमन्त्री रामबहादुर थापाले मानव तस्करी, बेचबिखन र यससम्बन्धी अन्तरदेशीय अपराधलाई नेपालले गम्भीररुपमा लिएको बताएका छन् ।
 
इन्डोनेसियाको बालीमा सोमबारबाट जारी ‘मानवतस्करी, बेचबिखन र अन्तरदेशीय अपराध’ सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई मंगलबार सम्बोधन गर्दै गृहमन्त्री थापाले ठूलो संख्यामा नेपाली वैदेशिक रोजगारीमा जाने गरेका कारण पनि यो विषयलाई आफूहरुले गम्भीररुपमा लिएको बताए । उनले दिगो मानव विकास, कानुनी शासन र नागरिक सुरक्षाका लागि मानव तस्करी र बेचबिखन बाधकका रुपमा देखा परिरहेको टिप्पणी गरे । उनले मानव तस्करी, बेचबिखन र अन्तरदेशीय अपराधसम्बन्धी विषयमा राष्ट्रहरुबीच सूचना आदानप्रदान र कानुन कार्यान्वयन गर्ने निकायबीच सहकार्य गर्न जारी सम्मेलनले सहजता प्रदान गर्ने विश्वास व्यक्त गरे ।
 
उनले विभिन्न देशमा रहेका आप्रवासी कामदारको हितका लागिसमेत यो सम्मेलनले दिशा निर्देश गर्ने आशा व्यक्त गरे । मंगलबार सम्पन्न हुने सातौँ मन्त्रीस्तरीय सम्मेलनमा विभिन्न देशका गृहमन्त्री र उच्च सरकारी अधिकारी सहभागी छन् । सन् २००२ मा बाली प्रोसेसको नाममा यो सम्मेलनको आयोजना गर्न सुरु गरिएको हो ।
 
नेपालसहित चीन, भारत, अस्ट्रेलियालगायत ४५ सदस्य राष्ट्र र संयुक्त राष्ट्रसंघीय एजेन्सी आइओएम, यूएनएचसीआर र युएनओडिसी सम्मेलनको सदस्यका रुपमा छन् । गृहमन्त्रालयको चार सदस्यीय टोलीको नेतृत्व गर्दै गृहमन्त्री थापा गत आइतबार त्यसतर्फ प्रस्थान गरेका थिए । उनी यही साउन २३ गते नेपाल फर्कने कार्यक्रम छ ।
 
Published on: 7 August 2018 | Kantipur

Back to list

;