s

मानव तस्करी

मानव तस्करी र यौन तथा श्रम व्यवसायमा उनीहरूको बेचविखन नेपालले भोग्दै आएको विकट समस्यामध्ये एक हो । वास्तवमा, विश्वका विभिन्न मुलुकमा यी धन्धा जारी छन् । कोही त्यसबाट लाभान्वित छन् र छवि र सम्मान गुमाएको अनुभूति गर्ने मुलुकहरू पनि छन्, त्यसका कारण । 
 
त्यस्ता मुलुकमध्ये एकमा नेपाल पनि पर्दछ । दक्षिण एसियाली मुलुकहरूमा मानव तस्करीलाई कानुनी, साँस्कृतिक र सामाजिक दृष्टिकोणबाट पनि गम्भीर अपराधका रूपमा लिइन्छ र सार्कले मानव तस्करीलाई सामूहिक सञ्जाल र संयन्त्रमार्फत पराजित र दण्डित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 
 
सार्क मुलुकका सरकारहरूसँगै गैरसरकारी संस्थाहरूका सञ्जाल पनि यस दिशामा सक्रिय छन् । अनि विगत केही वर्षमा महत्त्वपूर्ण नतिजा हासिल भएका छन्, मानव तस्करीविरुद्ध । खासगरी भारतका ‘रेडलाइट' क्षेत्रसँगै बेच्ने क्रममा त्यहाँ पुर्‌याइएका नेपाली किशोरीहरूको उद्धार भएको छ ।
 
तर यो अपराधबाट तात्कालिक आर्थिक लाभ पाउनेहरूको संख्या र सञ्जाल पनि व्यापक छ । यसलाई निरन्तरता दिन उनीहरू नयाँ प्रविधि अपनाउँछन् र नयाँ सञ्जाल तथा सुरक्षित ‘रुट' पनि निर्माण गर्छन् नै । 
 
हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘नेपाली युवती' हरू रहस्यमय ढंगले फरार भएका केही घटनाले यस्ता सञ्जाल र प्रवृत्तिबारे पूर्ण संकेत दिएका छन् । यसबारे तत्काल सत्यतथ्य पत्ता लगाई उचित कारबाही गरिएन दोषीविरुद्ध भने यसले आम आक्रोशको वातावरण निर्माण गर्नेछ र जनतामा कानुन आफ्नो हातमा लिने प्रवृत्तिमा वृद्धि आउनेछ ।
 
यो घटनामा नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा संयन्त्रसँगै खासगरी अध्यागमन जवाफदेही त हुनैपर्छ । त्योसँगै पछिल्लो मानव तस्करी अर्थात् सात युवतीको रहस्यमय र तस्करी र उनीहरू गायब हुनुमा इन्डियन एयरलाइन्सको संदिग्ध भूमिकालाई पनि छानबिनको दायरामा ल्याउनैपर्छ । वास्वतमा मानव तस्करी तथा बेचबिखनविरुद्धको सहमतिमा हस्ताक्षर गर्ने भारतको एयरलाइन्स संस्थागत रूपमा यो छानबिनमा सहयोग गर्न पूर्णरूपमा कटिबद्ध या प्रतिबद्ध हुन्छ र हुनुपर्छ नै ।
 
नेपालबाट भारतबाहेक खाडी मुलुकहरूमा महिला तस्करी बढ्दो क्रममा छ । घरेलु काम भनेर लगिए पनि ‘यौन धन्धा' मा उनीहरूको दुरुपयोग भएका केही घटनामा कूटनीतिक तहको संलग्नतासमेत देखिएपछि त्यसतर्फको आवागमनमा नेपाल झन् बढी सतर्क हुनु आवश्यक छ नै । 
 
तर यताको सबभन्दा पछिल्लो घटनाले त्यसतो सतर्कता अभावसँगै आपराधिक सञ्जालमा ककसको संलग्नता हुन सक्छ, त्यो गहन अनुसन्धानपछि निरोधात्मक प्रविधि र व्यवस्थासमेत स्थापित गरिनु आवश्यक छ, अन्तर्राष्ट्रिय विमानस्थलमा ।
 
नेपालबाट इन्डियन एयरलाइन्सबाट भारत हुँदै कोलम्बो पुगेका दोलखा तथा सिन्धुपाल्चोकका सात युवतीलाई त्यहाँको अध्यागमनले सम्बन्धित मुलुक (नेपाल) नै फर्काउने निर्णय गर्‌यो । त्यस अर्थमा उनीहरूलाई विमानबाट ओरालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेपाली अध्यागमन तथा प्रहरीलाई ती नेपाली युवती हस्तान्तरण गर्ने पूर्ण जिम्मेवारी इन्डियन एयरलाइन्सको नै बन्न जान्छ । 
 
त्यसो नगर्दा उनीहरू ‘अन्तर्राष्ट्रिय प्रोटोकल' सँग नेपालको कानुनको उल्लंघनकर्ताको श्रेणीमा पर्दछन् । नेपाल ल्याइएका ती युवतीको ‘पासपोर्ट’ इन्डियन एयरलाइन्स अध्यागमनलाई बुझा पनि उनीहरू भने फरार छन् । यसबाट तत्काल दुई नतिजा निकाल्न सकिन्छ । 
 
 
पहिलो: अन्तर्राष्ट्रिय विमानस्थलमा मानव तस्करी सञ्जालको वर्चस्व छ र त्यसमा शक्तिशाली संलग्न हुँदा त्यसरी ‘तस्करी' गरिएका व्यक्तिहरूलाई सहज भगाइन्छ । 
 
दोस्रो: इन्डियन एयरलाइन्स यो धन्धामा कुनै रूपमा संलग्न छ, अन्यथा ‘डिपोर्टी' हरूलाई ल्याइदै गरेको अग्रिम सूचनासहित उनीहरूलाई हस्तान्तरण गर्ने एकल जिम्मेवारी बोकेको संस्थाका कर्मचारीहरूले किन पासपोर्ट मात्र दिए ? 
 
यो रहस्य ओझेलमा पर्नेछ, यदि उनीहरूलाई तत्काल सोधपुछ गरिएन भने र नेपालले पराजित गर्न प्रतिबद्धता व्यक्त गरेको एउटा ‘युद्ध' मा ऊ हार्ने मात्र हैन, त्यसबाट उसले राष्ट्रका रूपमा आफ्ना छवि र विश्वसनीयतासमेत गुमाउनेछ । 
 
विषयको गम्भीरता हेर्दै यसमा कुनै ‘नियमित’ छानबिन हैन, व्यापक अधिकार क्षेत्रको आयोग बन्नु जरुरी छ । सम्बन्धित घटनासँगै विमानस्थलको सुरक्षा व्यवस्था तथा त्यहाँभित्रका अवाञ्छित आवागमन र गतिविधिलाई नियमित तथा पारदर्शी बनाउनेबारे वैकल्पिक योजनासमेत प्रस्तुत गर्ने जिम्मेवारी दिइनुपर्छ, उसलाई ।
 
Published on: 22 February 2016 | Annapurna Post

Back to list

;