s

मानव तस्करको सञ्जााल बेलायतसम्म

सिरियाबाट काठमाडौं हुँदै बेलायत जान लागेका दुई सिरियाली उनीहरूका दलालसहित पक्राउ परेपछि नेपालबाट मानव तस्करको सञ्जाल बेलायतसम्म विस्तार भएको खुलेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ गरी मान्छे पठाउने र नक्कली राहदानीमा प्रवेश गरी नेपाललाई ट्रान्जिट बनाएर अन्य मुलुक पठाउने दुई विदेशी दलालसहित अन्य दुई सिरियाली पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो। 

जर्मनी र टर्कीका दुई दलालसहित स्लोभानियाको नक्कली राहदानीमा बेलायत छिराउने भन्दै उनीहरूले नेपाल ल्याएका दुई सिरियाली अहिले अध्यागमन विभागको हिरासतमा छन्। स्लोभानियाको नक्कली राहदानी लिएर आएका ती दुई सिरियालीलाई अध्यागमन अधिकृतले भिसा दिएका हुन्।  कतार एअरबाट स्लोभानियाको नक्कली राहदानी लिएर शुक्रबार बिहान विमानस्थल उत्रिएका फोउआद इजेह र फादिया आजलाई अध्यागमनका कर्मचारीले १५ दिनको पर्यटक भिसा दिएका हुन्। उनीहरूले सिरिया र स्लोभानिया दुवै देशको राहदानी साथमै ल्याएका थिए। ती सिरियालीलाई विमानस्थलमा सेटिङ मिलाउने जर्मनीका ओमइरात हिसाइन र टर्कीका जोरिक इरडइन्ससमेत अध्यागमनको नियन्त्रणमा छन्। 

नेपालस्थित जर्मन दूतावासले आफ्ना कर्मचारी पक्राउ परेको थाहा पाएपछि अध्यागमन विभाग पुगेर जानकारी लिएको छ। ती दुई सिरियालीबाट घूस खाएर भिसा दिन सहयोग गर्ने सवारीचालक मधु केसी र कार्यालय सहयोगी जानुका थापालाई अध्यागमन कार्यालयले निलम्बन गरेको छ। केसी र थापाले ती सिरियालीलाई आगमनपत्र भर्न र बाटो देखाउन सहयोग गरेका थिए। उनीहरूले ती सिरियालीबाट रकम असुली अध्यागमन पार गर्न सहयोग गरेको पुष्टि भएपछि विमानस्थल अध्यागमन कार्यालयले निलम्बन गरेको हो।

विमानस्थल अध्यागमन प्रमुख गोविन्द कार्कीले चालक र कार्यालय सहयोगीले घूस खाएको पाइएपछि उनीहरूलाई निलम्बन गरिएको बताए। 'सीसीटीभीको फुटेज हेर्दा दुवैजनाले पैसा लिएको पाइयो', कार्कीले भने, 'चालकले रकम लिएको स्वीकारे पनि कार्यालय सहयोगीले स्वीकारेकी छैनन्। दुवैले पैसा लिएको पुष्टि भएपछि निलम्बन गरिएको हो।' अध्यागमन विभागका निर्देशक ध्रुवराज जोशीले दुई सिरियाली र दलाल भनिएका अन्य दुईजनाका विषयमा अनुसन्धान थालिएको बताए। उनले बयानपछि मात्र उनीहरूको उद्देश्य र सञ्जालबारे खुल्ने बताए। ती दुई सिरियालीलाई बेलायत पठाउने उद्देश्यले विदेशी दलालले काठमाडौं विमानस्थललाई ट्रान्जिट बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताएको छ। 

अध्यागमनका दुई कर्मचारी लेनदेनमा संलग्न हुनु र नक्कली राहदानीमा भिसा लगाइदिनुले अध्यागमन अधिकृतको समेत संलग्नता हुनसक्ने प्रहरी स्रोत बताउँछ। भिसा लगाइदिने अधिृकतमाथि समेत छानबिन हुने प्रहरीले बतायो। अध्यागमन विभागले समेत भिसा दिने अधिकृतलाई बयान लिने तयारी गरेको छ। तल्ला तहका कर्मचारीको सेटिङमा ती सिरियालीलाई अध्यागमन अधिकृतले भिसा लगाइदिनु रहस्यमय भएको अध्यागमनका एक अधिकृतले बताए।  प्रहरीले दुई सिरियाली र दुई विदेशी दलाललाई ठमेलको एक्सिस होटेलबाट पक्राउ गरी अध्यागमनलाई बुझाएको हो। अध्यागमनबाट भिसा लिएपछि उनीहरूसीधै ठमेल पुगेका थिए। 

प्रहरीले उनीहरूमाथि शंका लागेर विमानस्थलबाटै पिछा गरेको थियो। भिसा पाएपछि निस्किएका सिरियालीलाई अन्य दुई विदेशीले पछ्याउन थालेपछि उनीहरूमाथि प्रहरीले निगरानी थालेको थियो। 

 Published on: 1 December 2014 | Annapurna Post

Back to list

;