s

मानव बेचबिखनमा संलग्न अपराधीलाई दलले बचाइरहेको आरोप

शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले मानव बेचबिखनमा संलग्न अपराधीलाई राजनीतिक दलले बचाइरहेको आरोप लगाएकी छिन्।

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको १७औँ दिवसको अवसरमा अखिल नेपाल महिला संघले बुधबार राजधानीमा आयोजना गरेको ‘मानव बेचबिखनको अवस्था र न्यूनीकरण अन्तर्क्रिया’मा तामाङले मानव बेचबिखनमा संलग्न अपराधीलाई खबरदारी गर्नुपर्ने राजनीतिक दलले उल्टै बचाउन खोजेको आरोप लगाएकी हुन्।

मानव बेचबिखन एउटा जघन्य अपराध भएको बताउँदै तामाङले अन्तर्राष्ट्रिय जगतमै यसको जालो फैलिएको बताइन्।

१६ वर्षको उमेरमा भारतमा बेचिएकी चरीमाया दुई वर्षपछि उद्धारबाट नेपाल फर्काइएपछि संस्था शक्ति समूहमा आबद्ध भएर पीडितहरूका लागि काम गर्दै आएकी छिन्।

कार्यक्रममा सामाजिक अभियन्ता गौरी प्रधानले पछिल्लो समय मानव बेचबिखनको सिकार महिला मात्रै नभई पुरुष पनि हुने क्रम बढिरहेको बताए। प्रधानका अनुसार शिक्षित व्यक्तिहरू बढी मात्रामा मानव बेचबिखनमा परिरहेका छन्।

कार्यक्रममा सहभागीहरूले अहिलेसम्म पनि मानव बेचबिखन न्यूनीकरण नहुनु निकै दुःखद कुरा भएको चिन्ता व्यक्त गरेको संघकी प्रचार विभाग प्रमुख कालिका पाठकले जानकारी दिइन्। उनीहरूले मानव बेचबिखन न्यूनीकरणका लागि सबै आ–आफ्नो ठाउँबाट एकजुट भएर लाग्नुपर्नेमा जोडसमेत दिएको पाठकले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु परिवर्तनका कारण मानव बेचबिखनको रूप बिकराल बनेको छ।

गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन्।

संयुक्त राष्ट्रसंघअन्तर्गतको लागुऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रतिको प्रतिक्रिया घट्दै गएको छ।

सन् २०२० मा मानव बेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मानव बेचबिखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो। पछिल्लो समय एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ।

Published on: 7 September 2023 | Naya Patrika

Link

Back to list

;