s

मानव बेचबिखनको बदलिँदो प्रवृत्ति

दुर्गा घिमिरे
  
विगत डेढ दशकदेखि मानव बेचबिखन तथा ओसारपसारमा परिवर्तन हुँदै आएको छ । सुरुमा ९० प्रतिशत भारतमा ओसारपसार हुने गथ्र्याे । हाल खाडी मुलुक, काजकिस्तान, केन्या, चीन, दक्षिण कोरिया लगायत देशमा गन्तव्य बनाई वैदेशिक रोजगारीमा जाने गरेको प्रकाशमा आउने गरेको छ । अमेरिकाबाट प्रकाशित हुने वल्र्ड वाचको बुलेटिनअनुसार भारतमा गरिएको एउटा अनुसन्धानअनुसार देह व्यापारमा संलग्न केटीहरूमा ११—१२ देखि २० वर्षसम्मकाहरूको संख्या सबैभन्दा बढी पाइएको छ । अन्तर्राष्ट्रिय यौन बजारमा विशेष गरेर ११ देखि १४ वर्षका रहेका छन् । यसको प्रमुख कारण बालिकामा एड्सको संक्रमण कम हुने आम धारणाले हो । उक्त बुलेटिनअनुसार भारतमा ४ लाखभन्दा बढी बालिका यौनकार्यमा संलग्न छन् ।
 
श्रम तथा रोजगार मन्त्रालयको सन् २०१४ को प्रतिवेदनअनुसार रोजगारको खोजीमा घरेलु कामको लागि गएका जम्मा आप्रवासी महिलाको संख्या २९,१५४ रहेको छ । तर भारतबाट दलालहरूमार्फत दर्ता नभई जानेको संख्याको कुनै तथ्यांक छैन । धेरैजसो अशिक्षित र सीप नभएको हुनाले शोषणको सिकार भएको पाइएको छ । यसरी वैदेशिक रोजगारमा जाने महिलाले विप्रेषणमार्फत देशको अर्थतन्त्रमा योगदान दिए तापनि उनीहरू हिंसाको सिकार भएको पाइएको छ । 
 
सूर्यपुराकी शारदा अत्यधिक गरिबीको कारण विवश भएर घरेलु कामदारका रूपमा साउदी पुगेकी अहिले फिर्ता आएकी छन् । घर फर्कने क्रममा साउदीबाट मुम्बई एयरपोर्टमा नक्कली महिला प्रहरीले उनलाई बाहिर लगी सहयोग गरिदिन्छु भनी रेल स्टेसनमा लगी नेपाल पठाएको थियो । भारतको भोपाल भन्ने ठाउँमा पुगेपछि डाँकाहरूको समूहले उनले दुई वर्ष कमाएर ल्याएको दुई लाख नेपाली रुपियाँको व्याग लिएर भाग्न खोज्दा त्यो व्यागलाई बचाउन प्रयास गर्दा ट्रेनको ढोकाबाट खसी दाहिने खुट्टा भाँचियो र एउटा काट्नुपर्‍यो । यसले गर्दा अहिले उनी अपाङ्ग छन् । 
 
भारतको पुनेबाट चरम यौनशोषणका साथै मरणासन्न हुनेगरी कुटिएको अवस्थामा नेपाल फर्किएकी अर्की एक चेलीले आफ्नो कथा यसरी सुनाइन्, ‘मलाई घरेलु कामदारको रूपमा लगिएको थियो, तर यौनजन्य कार्य गर्न नमानेपछि धेरै कुटे । रडले टाउकोमा हानी बेहोश पारेपछि आधा यौनअंग काटिदिए, कम्मर र पाखुरामा पनि काटी छियाछिया पारी मरी भनी छाडेका थिए, तर पछि होशमा आएँ ।’ अहिले देखिएको नयांँ प्रवृत्तिमा ससाना बालकको पनि ओसारपसारमा वृद्धि हुने गरेको छ । गत वर्षमात्र जनकपुर नाकाबाट ओसारपसार हुनलागेका २५ जना बालकलाई स्थानीय संस्थाहरूको सहयोगमा नियन्त्रणमा लिइएको थियो । यसरी विभिन्न प्रयोजनका लागि ससाना बालकको ओसारपसार भइरहेको बुझिन्छ । 
 
कैयौं बालकले जोखिमपूर्ण काम गरी शारीरिक रूपमा अशक्त भई फर्किनुपरेको छ । महोत्तरीका एक ८ वर्षीय बालक भारतको मुम्बईमा कपडामा बुट्टा भर्ने कारखानामा काम लगाइदिने भनी ओसारपसारमा परेको र उक्त कारखानामा अत्यधिक शोषण भई शारीरिक र मानसिक यातनासहित फर्किनुपरेको थियो । ती बालकले दिनको १८ घन्टासम्म काम गर्नुपरेको र काम गर्दागर्दै निदाएमा मालिकले नुन र खोर्सानीको धुलो आँखामा हालिदिने गरेको जस्ता अत्यन्त हृदयविदारक घटना सुनाए । 
 
मानव ओसारपसारको नयाँ आयामबारे कुरा गर्दा हाल नेपालमा नक्कली विवाह गराउने कम्पनीहरू दर्ता भएका छन्, जसले विभिन्न प्रलोभनमा पारी महिलालाई ओसारपसार गरेका छन् । एसियन मानवअधिकार र सांस्कृतिक विकासका अनुसार ग्रामीण क्षेत्रका १८ देखि २५ वर्षका महिलालाई प्रलोभनमा पारेर वार्षिक १००० जनालाई दक्षिण कोरिया पठाएको पनि जानकारीमा आएको छ । शिक्षाका नाममा खुलेका परामर्श केन्द्रहरूले उज्ज्वल भविष्यको नारा दिएर कैयन युवायुवतीलाई झुटो आश्वासन दिई विदेश ओसारपसार गरेको पाइएको छ । नेपाल प्रहरीका अनुसार ३५ वटा यस्ता कम्पनीका सञ्चालकलाई पक्राउ गरी कारबाही बढाइएको छ । 
 
हाम्रो छिमेकी भारतको विहारमा विगत दुई वर्षयता भर्खरै जन्मिएका बालबालिकालाई दूध चुसाउने प्रयोजनका लागि सीमा क्षेत्रबाट भर्खर सुत्केरी भएका नेपाली महिलाको ओसारपसार भइरहेको कुरा भारतको सीमा क्षेत्रमा काम गर्ने संघ/संस्थाबाट प्रकाशमा आएका छन् । मानव बेचबिखनको समस्या राष्ट्रिय समस्यामात्र नभई यो एउटा क्षेत्रीय र अन्तर्राष्ट्रिय समस्या पनि हो । यसको नियन्त्रणका लागि द्विपक्षीय र क्षेत्रीय वार्ता हुनु जरुरी छ । अन्तर्राष्ट्रिय सन्धि—सम्झौता अनुरूपको राष्ट्रिय कानुनको निर्माण आवश्यक छ । कानुनको कार्यान्वयन प्रभावकारी रूपमा गर्नुपर्छ । सरकारको दरिलो राजनीतिक प्रतिबद्धता अपरिहार्य आवश्यकता हो । मानव बेचबिखन विरुद्ध गाविसदेखि राष्ट्रिय तहसम्म गठन भएको कार्यदलबीच दरिलो समन्वय हुनुपर्छ ।
 
Published on: 21 September 2016 | Kantipur

Back to list

;