s

मानव बेचबिखनको आयाम

पुनम थपलिया

मानव बेचबिखन तथा ओसारपसारको प्रवृति फेरिँदै गएको छ। यसका कारण पनि परिवर्तन भइरहेका छन्। मानव बेचबिखन तथा ओसारपसारबाट प्रभावितहरुको क्षेत्र पनि फराकिलो भएको छ। कुनै पनि व्यक्तिको इच्छाविपरीत धम्कीको प्रयोग, जबर्जस्ती तथा धोकाद्वारा कुनै प्रकारको शोषण, घरेलु काम, मानव अङ्ग झिक्ने, बेश्यावृति वा अन्य प्रकारका यौन शोषण गरिन्छ भने त्यो नै मानव बेचबिखन तथा ओसारपसार हो। मानव बेचबिखन तथा ओसारपसार आधुनिक दासता हो।

वर्तमान अवस्थामा विभिन्न प्रयोजनका लागि देशभित्र तथा बाहिर मानिसको ओसारपसार भइरहेको छ।

हात हतियार ओसारपसार पहिलो, लागुपदार्थ ओसारपसार दोस्रो र मानव बेचबिखन तथा ओसारपसार तेस्रो स्थानमा विश्वमा परिचित छ। यो समस्याबाट नेपाल पनि प्रभावित भइरहेको अवस्था छ। मानव बेचबिखन तथा ओसारपसारको पवृति दिन/परदिन बदलिँदो अवस्थामा छ। गरिबी, सूचनाको अभाव, लैङ्गिक हिंसा, महŒवाकांक्षा जस्ता कारण मानिसहरु बेचबिखनको जोखिममा परेको विभिन्न अनुसन्धानले देखाएको छ। तर अबको दिनमा नयाँ कारण थपिँदै गएको छ। पुँजीवादी मूल्य/मान्यता, वैदेशिक रोजगार तथा स्थानान्तरण, घुसपैठ, अङ्ग प्रत्यारोपण (किड्नी बेचबिखन) मानव बेचबिखन तथा ओसारपसारको कारक तत्व बन्दै गएको अवस्था छ।

नेपालको राजनीतिक, सांस्कृतिक तथा ऐतिहासक पृष्ठभूमिसँगै यस समस्याको प्रक्रिया तथा प्रकारहरु विस्तारै परिवर्तन हुँदै आएको हो। २००७ सालअगाडि चेलिबेटी बेचबिखन भनिन्थ्यो, जसको प्रयोजन देशभित्र देहव्यापार र रखेलका लागि हुने गर्थ्यो । समयको विकासक्रम तथा सामाजिक संरचनाहरुमा आएको परिवर्तन सँगसँगै नेपाली चेलिबेटी भारतको बेश्यालयहरुमा नारकीय जीवन बिताउन बाध्य भए अथवा विभिन्न बहानामा बेचिन थाले। जुन क्रम अहिलेसम्म पनि जारी छ। विशेषतः चेलीबेटी बेचबिखन यौन शोषणमा नै सीमित थियो।

यो परिपाटी वर्तमान अवस्थामा भने परिवर्तन हुने क्रममा छ। यस समस्याले अझ विकराल रूप लिँदैछ। अब किशोरी तथा बालबालिका बेश्यालयमा बेचिनुमात्रै मानव बेचविखन तथा ओसरपोसारका घटना रहेन, त्यसले फराकिलो रूप लिइसकेको छ।

नेपाल सरकारको विद्यमान कानुनले प्रचलित कानुनबमोजिम मानिसको अङ्ग झिक्नेलाई मानव बेचबिखन तथा ओसारपसारको परिभाषामा समेटेको छ। केही हप्ताअगाडि मात्र छापामा छाएको होक्से गाविस, काभ्रेपलाञ्चोकका ९० भन्दा बढी व्यक्तिले किड्नी बेचेको समाचार सबै मानव बेचबिखन तथा ओसारपसारका उदाहरण हुन। यसको मुख्य कारण जनचेतनाको अभाव तथा गरिबी भनिएको छ। तर यदि गरिबीका कारण नै होक्सेका मानिसले किड्नी बेचेका हुन भने होक्से भन्दा पनि विकट गाविस नेपालमा छन्। यसको मुख्य कारण जनचेतनाको कमी वा सूचनाको अभाव नै हो भन्ने लाग्छ। ती व्यक्ति यो कार्य गैरकानुनी हो वा आफू बेचबिखन तथा ओसारपसारबाट प्रभावित भइरहेको छु भन्ने सूचनाबाट टाढा छन्।

नेपालमा महिला तथा पुरुषहरु वैदेशिक रोजागारका लागि स्थानान्तरण भइरहेका छन्। असुरक्षित वैदेशिक रोजगार वा स्थानान्तरणका कारण मानिसहरु बेचविखन तथा ओसारपसार र अन्यखालका जोखिममा परिरहेका छन्। सबै स्थानान्तरण/वैदेशिक रोजगार बेचबिखन होइनन् तर असुरक्षित तवरले गरिने स्थानान्तरण/वैदेशिक रोजगारमा बेचबिखन तथा ओसारपसारको जोखिममा पर्ने सम्भावना बढी रहन्छ। विभिन्न प्रतिवेदनले लगातार वैदेशिक रोजगारी क्रमशः मानव बेचविखन तथा ओसारपसारको महŒवपूर्ण माध्यम बन्न लागेको औल्याइरहेको अवस्था छ।

वैदेशिक रोजगारमा जानेको संख्या बढ्दो अवस्थामा छ। रोजगारीका क्रममा विभिन्न प्रकारको शोषणमा परिरहनुपरेको छ। कानुनी प्रक्रिया पूरा गरेर अथवा श्रम स्वीकृति लिएर जानेसँगै अवैध तरिकाले बाहिरिनेहरुको संख्या पनि ठूलो छ। विभिन्न बहानामा भारतको सिमाना पार हुँदै सीमा राष्ट्र भारतमा कामको खोजीमा जाने अथवा दिल्लीको बाटोबाट विभिन्न कामको खोजीमा उज्ज्वल भविष्यको खोजीमा वैदेशिक रोजगारका लागि विभिन्न राष्ट्रमा जाने आमनेपाली नागरिक यो सरकारी तथ्यांकभित्र पर्दैनन्।

अवैधरूपमा विदेशिनेहरु दिनदिनै दुःख पाइरहेका छन्, अप्ठेरोमा परिरहेका छन्, अङ्गभङ्ग भइरहेका छन् भने कतिपय त आफ्नै ज्यान नै गुमाइरहेको अवस्था छ। विदेशिइसकेपछिको अवस्थामा विभिन्न अप्ठ्यारा अवस्था आइपर्ने गरेका छन्। जे कामका लागि गएको हो सो काम नपाउने, भनेको जति तलब नपाउने, तलव नपाए स्वदेश फर्कन्छु भन्दा पनि बधुँवा मजदुर भएर काम गर्नुपर्ने बाध्यतामा उनीहरु परिरहेका छन्।

यसरी राम्रो कामको प्रलोभन वा उज्यालो भविष्य बनाउने र आफ्नो जीवनस्तर उकास्ने योजना बनाउँदै वैदेशिक रोजगारमा लगिने वा जाने व्यक्तिहरु कुनै न कुनै प्रकारले मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परिरहेका छन्। महिला कामदारको स्थिति झनै संवेदनशील छ।

महिलाहरु परिवार विखण्डनको अवस्थामा छन्। सामाजिक अस्वीकृति जस्ता जटिल समस्या महिला कामदारका अगाडि चुनौतीका रूपमा आइरहेको छ। महिलाहरु यसरी गैरकानुनी तथा कानुनीरूपमा वैदेशिक रोजगारीको लागि विदेशिनुमा सामाजिक–आर्थिक–राजनीतिक कारण छन्। विशेषतः महिला हिंसा, आन्तरिक बेचखिन, आर्थिक निर्भरता तथा हाम्रो महिलाप्रतिको कमजोर कानुनी प्रावधान नै मुख्य कारण हुन्।

चेली वा बालबालिकामात्र नभएर अबको दिनमा जो कोही व्यक्ति बेचबिखन तथा ओसारपसारबाट प्रभावित हुन सक्छन्। त्यसकारण हामीले मानव बेचबिखन तथा ओसारपसारको दायरा फराकिलो भइसकेको कुरा बुझ्न र चेतनशील हुन जरुरी छ।

यो समस्याबाट हाम्रो समाजलाई थप जोखिमबाट जोगाउन समाजमा जनचेतना बढाउन जरुरी छ। भावी पुस्ताका लागि विद्यालयस्तरबाट शिक्षा दिइनु जरुरी छ। रोजगारीका अवसर देश वा विदेशमा के/कस्ता किसिमका छन् र सोको बारेमा सम्पूर्ण व्यावहारिक ज्ञान तथा जानकारी विद्यालयस्तरबाट नै दिन सक्यौं भने आगामी पुस्तालाई चेतनशील बनाउन सकिन्छ।

Published on: 4 July 2013 | Nagarik

Back to list

;