s

मानव बेचबिखनका आरोपी ३० वर्षपछि पक्राउ

विराटनगर : मानव बेचबिखनका एक जना आरोपीलाई ३० वर्षपछि प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ। मोरङको साविकको बुधनगर गाविस–१ (हालको विराटनगर महानगरपालिका–१८)का ५१ वर्षीय दिनेश मण्डल मंगलबार बिहान पक्राउ परेका हुन्।

एक जना महिलालाई २०५१ साल साउन १० गते भारतको कटिहार जिल्लाको डरेवर टोलको वेश्यालयमा लगेर बिक्री गरेको आरोप मण्डलमाथि छ। त्यतिबेला उनी २१ वर्षका थिए। पीडितले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन्। तर, लामो समयदेखि फरार रहेका कारण मण्डल पक्राउ परेका थिएनन्।

भागेर भारत पुगी लामो समयसम्म उतै लुकिछिपी बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। विराटनगर फर्किएको मौका पारेर इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले बिहान ११ बजेतिर मण्डललाई पक्राउ गरेको हो। उनलाई विराटनगर–१७ स्थित विराटनगर जुट मिल्सनजिकबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए।

उनका अनुसार मण्डलविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा चलाउन मोरङ अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ। ‘मानव बेचबिखन तथा ओसारपसारका आरोपीलाई प्रहरीले खोजी गरिरहेको थियो,’ बस्नेतले भने, ‘लामो समयपछि पक्राउ गर्न प्रहरी सफल भएको छ।’ भारतमा लुकिछिपी बसेका कारण आरोपीका बारेमा यकिन नभएकाले पक्राउ गर्न समय लागेको उनको भनाइ छ।

पीडित महिलाले प्रहरीमा दिएको किटानी जाहेरीमा लत्ताकपडा किन्नलाई भनी ललाइफकाइ भारतको फारबिसगन्ज लगेर एउटा मिठाई पसलमा राखी लड्डु खान दिएर बेहोस बनाउँदै आफूलाई कटिहारको डरेवर टोलको वेश्यालयमा पुर्‍याइ साथमा भएका गरगहना तथा नगद सबै लिएर मण्डल फरार भएको उल्लेख छ।

उक्त वेश्यालयमा केही दिन बसेपछि त्यहाँबाट भागेर आफू नेपाल आएको उल्लेख गर्दै महिलाले त्यतिबेला प्रहरीमा जाहेरी दिएकी थिइन्। ‘घटना निक्कै पुरानो भएपनि प्रकृति हेर्दा महिलालाई भारत पुर्‍याएर बेचबिखन गरेजस्तो देखिन्छ। आरोपी लामो समयदेखि फरार थिए,’ प्रहरी स्रोतले भन्यो, ‘विराटनगर आएको मौका पारेर बल्ल पक्राउ गर्न सफल भइयो। अनुसन्धानबाट घटनाको वास्तविकता पत्ता लाग्छ।’ प्रहरी स्रोतका अनुसार प्रारम्भिक सोधपुछका क्रममा मण्डलले पनि महिलालाई भारत पुर्‍याएको स्वीकार गरेका छन्।

Published on: 5 June 2024 | Annapurna Post

Link

Back to list

;