s

मानव बेचबिखन गरी सम्पत्ति आर्जन: तीनजनालाई दुई-दुई वर्ष कैद सजाय

विशेष अदालतले तीनजनालाई सम्पत्ति शुद्धीकरण अभियोगमा सजाय सुनाएको छ। अप्सरा भनिने एलिना खत्रीलगायतमाथि कसुर ठहर हुने फैसला भएकोमा आइतबार सजाय निर्धारण भएको हो।

विशेष अदालतले गत ६ जेठमा मानव बेचबिखनबाट आर्जित सम्पत्ति शुद्धीकरण गरेको कसुरमा एक दम्पतीसमेत तीनजनालाई दोषी ठहर गरेको थियो। उनीहरू दुवैलाई आइतबार २-२ वर्ष कैद सजाय तोकिएको हो।

तीनैजना प्रतिवादीलाई जरिवानासमेत भएको छ। उनीहरूविरुद्ध कायम बिगोको दोब्बर जरिवाना भएको हो। खत्री र अजित साहलाई ५७ लाख १४ हजार रुपैयाँको दामासाहीले हुन आउने रकम जरिवाना भएको हो।

विशेषका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासबाट यस्तो फैसला भएको हो। उनीहरूका नाममा भेटिएका बैंक खाताको रकम र जग्गा पनि जफत हुने फैसला भएको विशेषका अधिकृत यज्ञराज रेग्मीले बताए।

अर्का प्रतिवादी मानबहादुर तामाङलाई भने कैदका साथै सात लाख चार हजार रुपैयाँ जरिवाना हुने भएको छ। उनीहरू तीनैलाई सामाजिक र सांस्कृतिक पृष्ठभूमि एवं दायित्व कसुर गर्दाको अवस्था र परिस्थिति तथा उमेर अवस्था आदिका आधारमा सजाय निर्धारण गरिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूविरुद्ध १६ साउन २०८० मा मुद्दा दायर गरेको थियो।

तीनैजना प्रतिवादीले मानव बेचबिखनजस्तो अवैध तरिकाबाट सम्पत्ति आर्जन गरेको पुष्टि भएको थियो। तीनैजनाविरुद्ध जिल्ला अदालत काठमाडौं र झापामा मानव बेचबिखन तथा ओसारपसारको मुद्दा विचाराधीन रहेकै वेला सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई छानबिन तथा अनुसन्धान गर्न पत्र आएको थियो।

झापाको इलाका प्रहरी कार्यालय अनारमनीले विभागलाई पत्राचार गरी अनुसन्धान गर्न भनेकोमा मुद्दा दायर भएको हो। अनुसन्धानका क्रममा नेपाली युवतीलाई भारतको असामस्थित कोठामा खत्री र साहले बेच्ने गरेको खुलेको थियो भने यसका लागि तामाङलाई कमिसन दिने गरेको भेटिएको थियो।

Published on: 3 June 2024 | Naya Patrika

Link

Back to list

;