s

मानव बेचबिखन बर्सेनि बढ्दै

शिल्पा कर्ण
  
नेपाल प्रहरीमा वर्षैपिच्छे मानव बेचबिखनका मुद्दा संख्या बढदै गएको छ। मानव बेचबिखनका सिकार हुनेमा महिलाको संख्या अत्यधिक छ। 
 
प्रहरीमा आर्थिक वर्ष २०६८/६९ मा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी १ सय १८ मुद्दा दर्ता भएका थिए। आ.व. २०६९/७० मा बढेर १ सय ४४ पुगेको थियो। अर्को आर्थिक वर्षमा यो संख्या बढेर १ सय ८६ पुगे पनि आव २०७१/७२ मा थोरै घटेर १ सय ८१ मा झरेको थियो। तर आर्थिक वर्ष २०७२/७३ मा २ सय १२ वटा मुद्दा दर्ता भएका छन्। मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६५ अनुसार मानव बेचबिखन तथा ओसारपसारको कसुरसम्बन्धी मुद्दामा उजुरी सुन्ने र अनुसन्धान गर्ने अधिकार नेपाल प्रहरीलाई छ। 
 
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग, महिला तथा बालबालिका सेवा निर्देशनालयका अनुसार आव २०६८/६९ मा १ सय ३० महिला र ११ जना पुरुष बेचबिखन र ओसारपसारसम्बन्धी अपराधमा पीडित भएका छन्। आव २०६९/७० मा पीडित महिलाको संख्या बढेर १ सय ५८ पुगेको छ भने पीडित पुरुषको संख्या घटेर ३ भएको छ। आव २०७०/७१ मा पीडितको संख्या हात्तै बढेर ३ सय हाराहारी पुगेको छ। २०७१/७२ मा भने २ सय ४४ महिला र ३६ पुरुष पीडित भएको उजुरी परेको थियो। 
 
११ वर्षमाथि र १८ वर्षमुनिका बालबालिका/किशोरकिशोरी धेरै बेचिएको र शोषणमा परेको देखिन्छ। आव २०७१/७२ मा यो उमेर समूहका १ सय ४७ बालबालिका र किशोरकिशोरी बेचबिखनको सिकार भएका थिए। त्यसैगरी १९ देखि २५ वर्षका ९२ जना, २६ देखि ३५ उमेरका २८ जना र ३६ भन्दा माथिका १२ जना उक्त आवमा मानव बेचबिखन र ओसारपसारमा परे। 
 
बेचबिखनमा पर्नेमा अशिक्षित र साधारण लेखपढ गर्न जान्ने बढी छन्। आव २०७१/७२ को तथ्यांकले अनपढ १७ जना र साधारण लेखपढ गर्न जान्ने १ सय ७४ जना बेचबिखनमा परेको देखाउँछ। सबभन्दा बढी पूर्वाञ्चल विकास क्षेत्रबाट ७८ र सबभन्दा कम सुदूरपश्चिममा २१ जना बेचबिखनमा परेका छन्। 
 
नेपाल प्रहरीका प्रवक्ता माधव जोशीका अनुसार पहिले नेपालबाहिर भारतका वेश्यालयमा बेच्ने गरिन्थ्यो भने अहिले अफ्रिकासम्म पनि नेपाली बेचिएका छन्। मानव बेचबिखनपछि अधिकांशलाई यौन व्यवसाय र घरेलु कामदारका साथै जोखिमपूर्ण काममा लगाइने गरिन्छ। मानव बेचबिखनको स्थिति भयावह बन्दै गरेको बताउँदै उनले भने, ‘आफन्त वा चिनेजानेकाले नै बेच्ने क्रम जारी छ।’
 
उनका अनुसार कम उमेरका मानिसलाई फकाउन सजिलो हुने र कम उमेरैको माग यौन व्यवसायमा बढी भएकाले कलिलो उमेरमा बेचिनेको संख्या धेरै देखिन्छ। अहिले पनि अधिकांशले ललाइफकाई र लोभलालच देखाई बेच्ने गरेका छन्। आफन्त भेटाइदिने वा घुम्न जाने भनेर पनि बेचिएको अनुसन्धानका क्रममा पाइएको छ। वैदेशिक रोजगारको आवरणमा महिलाहरू विदेशमा बेचिने क्रम पनि जारी रहेको जोशीले बताए। हिंसामा परेका महिलाका क्षेत्रमा कार्यरत संस्था महिला पुन:स्थापना केन्द्र (ओरेक) का लैंगिकतामा आधारित हिंसा व्यवस्थापक नीता तिमल्सिना महिलाहरू शिक्षा र चेतनाको अभावले बढी बेचबिखनको सिकार हुने गरेको बताउँछिन्। ‘सरकारी र गैरसरकारी संस्थाहरूबाट भएका कामहरू लक्षित वर्गसम्म पुग्न नसकेकाले पनि महिला बढी पीडित भएका हुन्,’ उनले थपिन्, ‘समाज परिवर्तन भएकाले आर्थिक समुन्नति खोज्ने महिलाको संख्या पनि बढेको छ। यसै क्रममा जागिर खोज्दै जाँदा, वैदेशिक रोजगारीमा जान खोज्दा उनीहरू गलत मानिसको सम्पर्कमा आई बेचिन्छन्।’
 
मानव बेचबिखनमा पर्ने पुरुषहरू पनि उत्तिकै रहे पनि महिलाजति खुलेर अगाडि आउन नसकेकाले संख्या नगन्य देखिएको अधिवक्ता अञ्जनकुमार दाहाल बताउँछन्। सरकारी र गैरसरकारी संस्थाहरूले पनि नेपालका सीमामा कडाइ गर्दा महिला र बालबालिकालाई नै हेर्ने भएकाले पुरुषहरूलाई बेचबिखनको परिभाषाभित्र अझ समेट्न नसकिएको उनी बताउँछन्। ‘विदेशमा बेचिएका पुरुषहरू पनि धेरै छन् तर उनीहरू तत्काल क्षतिपूर्ति पाइने भएकाले ठगीको मुद्दा हाल्छन्,’ उनले थपे, ‘स्वयंलाई बेचबिखन गरिएको भन्न हिचकिचाउने हुनाले पुरुष अगाडि आउन सकिरहेका छैनन्।’ 
 
मानव बेचबिखन गर्ने व्यक्तिलाई २० वर्ष जेल सजाय र दुई लाख जरिवाना हुन सक्छ। मानिसलाई बेचेर वा बेच्ने कार्यमा मतियार बनेका, मानव अंग बिक्री गर्ने, यौन शोषण वा श्रम शोषण गर्नेलाई पनि कानुनले दण्डित गर्छ। बेचबिखन हुन लागेको व्यक्तिले सो कुरा थाहा पाई त्यस्तो स्थानबाट भाग्न खोज्दा वा प्रतिकार गर्दा त्यस्ता अपराधमा संलग्न हुन लागेका व्यक्तिको ज्यान गए वा अंगभंग भए त्यसरी प्रतिकार गर्ने व्यक्ति सजायको भागीदार नहुने व्यवस्था पनि छ। 
 
प्रहरीमा उजुरी 
०६८/६९ – ११८
०६९/७० – १४४
०७०/७१ – १८६
०७१/७२ – १८१
०७२/७३ – २१२
 
Published on: 4 September 2016 | Kantipur

Back to list

;