s

मानव बेचबिखनको मुद्दा लागेका वडाध्यक्षलाई उच्च अदालतले दियो सफाइ

शोभा शर्मा

जिल्ला अदालत नुवाकोटले चेलीबेटी बेचविखन गरेको आरोपमा ३७ वर्ष जेल पठाएका ‍दुप्चेस्वर-१ का वडाअध्यक्ष सुनबहादुर तामाङलाई उच्च अदालत पाटनले सफाइ दिएको छ।

उनलाई जिल्ला अदालत नुवाकोटले २०७४ साल चैत ७ गते चेलीबेटी बेचबिखनकै मुद्दामा ३७ वर्ष जेल सजाय सुनाएको थियो। जिल्ला अदालतको उक्त फैसला सोमबार उच्च अदालतका न्यायाधीश रमेश बहादुर थापा र हरिप्रताप केसीको इजलासले उल्टाएर सुनबहादुरलाई सफाइ दिएको हो। भारतमा बेचिएर फर्केका महिलाहरूले सुनबहादुरसहित ३ जनाविरूद्ध चार वर्षअघि जाहेरी दिएका थिए। प्रहरीले त्यही जाहेरीका आधारमा उनीविरूद्ध मुद्दा चलाएको थियो। यसबाहेक उनीविरूद्ध मानवबेचविखनका अरू पनि मुद्दा छन्।

पहिलो पटक सुनबहादुरलाई चेलीबेटी बेचबिखनको मुद्दा २०५१ सालमा लागेको थियो। त्यो मुद्दामा जिल्ला अदालत नुवाकोटले उनलाई ६ वर्ष कैद सजाय तोकेको थियो। तर उनी जेल गएनन्। प्रहरीले उनलाई 'फरार' सूचीमा राखेको थियो। प्रहरीको फरार सूचीमा रहे पनि गाउँमा उनी 'निस्फिक्री' राजनीति गरिरहेका थिए। प्रहरीका अनुसार, घ्याङफेदी आसपासका क्षेत्रमा चेलीबेटी बेचबिखनको उनको ठूलो सन्जाल छ। तिनै सुनबहादुरले २०७४ वैशाखको स्थानीय चुनावमा कांग्रेसबाट उम्मेदवार बनेर वडाध्यक्ष जिते।बेचिएर फर्किएका तीन महिलाले उजुरी दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गत पुसमा तामाङलाई वडा कार्यालयबाटै पक्रिएको थियो। त्यसपछि तामाङविरूद्ध सरकारले जिल्ला अदालत काठमाडौंमा अर्को २ वटा मुद्दा चलाएको छ।

Published on: 18 July 2019 | Setopati

Back to list

;