s

माल्टा पठाउने भन्दै एउटै कन्सल्टेन्सीले ठग्यो सात सय युवा

दोहोरो सम्झौतापत्र, पासपोर्ट र चेक बरामद, मुख्य अभियुक्त फरार

टेकराज थामी

दक्षिण युरोपियन मुलुक माल्टा जाने प्रलोभनमा एउटै कन्सल्टेन्सीबाट सात सयजना ठगिएका छन् । एक सय १८ जनाले त प्रहरी कार्यालयमा उजुरी नै दिएका छन् । उपत्यकाका विभिन्न ठाउँमा चारवटा शाखा कार्यालय खोली चाबहिलस्थित ग्रिनफिल्ड एजुकेसन कन्सल्टेन्सीले ठगी धन्दा चलाउँदै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

अनुसन्धानपछि प्रहरीले विभिन्न व्यक्तिका ७६ वटा पासपोर्ट बरामद गरेको छ । माल्टा लैजाने भन्दै सात सय ३७ जनासँग गरिएको दोहोरो सम्झौतापत्रसमेत बरामद भएको छ । कन्सल्टेन्सीले पीडितबाट उठाएको दुई करोड ८६ लाख रुपैयाँको चेकसमेत बरामद गरेको प्रहरीले जनाएको छ । तर, प्रहरीकहाँ कानुनी उपचारका लागि एक सय १८ को मात्रै जाहेरी परेको छ । जाहेरी दिनेको मात्रै एक करोड ८८ लाख ११ हजार रुपैयाँ ठगी भएको अनुसन्धानबाट खुलेको छ । तर, ठगीका मुख्य अभियुक्त सञ्जिव तामाङ र रूपबहादुर गुरुङ भने फरार छन् । उनीहरू कन्सल्टेन्सी सञ्चालक हुन् ।

परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले माल्टा लैजाने प्रलोभनमा एउटै कन्सल्टेन्सीबाट ठगिनेको संख्या धेरै भएको बताए । उनले भने, ‘ठगिएको भन्दै उजुरी आयो । प्रहरी तत्काल अनुसन्धानमा जुट्यो । कन्सल्टेन्सीमा छापा पनि मारियो । यसक्रममा केही डकुमेन्ट फेला परेको छ । ठगिनेको संख्या धेरै भएको भेटिएको छ । जसमध्ये एक सय १८ को जाहेरी परेको छ । बाँकीको जाहेरी आउने क्रममा छ ।’

प्रहरीका अनुसार कन्सल्टेन्सीले पाँच महिनाकै अवधिमा सात सय भन्दा धेरैलाई ठगी गरेको छ । यसका लागि उसले सामाजिक सञ्जाल प्रयोग गरेको थियो । फेसबुकमा ‘वैदेसिक डिमान्ड अनलाइन’ नामको आइडी खोलिएको थियो । सोही आइडीमा माल्टास्थित विभिन्न होटलका लागि कर्मचारी आवश्यक भएको र कमाइ प्रतिमहिना एक लाख ३० हजार रुपैयाँ हुने उल्लेख थियो ।

लोभिएका सर्वसाधारण सोही आइडीमार्फत कन्सल्टेन्सीको सम्पर्कमा पुगेका थिए । प्रलोभनमा फसेका उनीहरूले २० हजार रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म बुझाएका थिए । जसमध्ये केहीले नगद र केहीले चेक बुझाएका थिए । रकम संकलनपछि सञ्चालक फरार भए । त्यसपछि मात्रै ठगिएको भेउ पाएर प्रहरी कार्यालय पुगेका थिए ।

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीले भने, ‘ठगीका धेरैजसो केस अन्तिम अवस्थामा पुगेपछि मात्रै प्रहरी कहाँ आउने हो । ग्रिनफिल्ड कन्सल्टेन्सीको हकमा पनि त्यही भयो । ठगिनेको संख्या धेरै छ । जाहेरी पनि धेरै आएका छन् । आउने क्रम जारी छ । घटना अनुसन्धानकै क्रममा छ ।’

हायसचालकले युरोप लैजाने भन्दै आठजनालाई ठगे

काठमाडौंको लोकल रुटमा हायस चलाउने चालकले युरोप लैजाने प्रलोभनमा आठजनालाई गठी गरेको फेला परेको छ । ठगीमा संलग्न नुवाकोट देउराली–६ का सुपा तामाङ हुन् । प्रहरीका अनुसार उनी उपत्यकाभित्रको लोकल रुटमा भाडाको हायस चलाउने चालक हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनले तेह्र वर्ष लन्डन बसेर आएको भन्दै सर्वसाधारणलाई प्रभावमा पार्थे । उनले विशेष गरी युवतीलाई निशानामा पार्थे । विभिन्न बहानामा नजिकिन्थे । आफूसँग लन्डनको विशेष भिसा भएको गफ दिन्थे । सोही भिसामा लन्डन लैजाने प्रलोभन दिन्थे । लोभिएका युवती उनीसँग नजिकिन्थे । विभिन्न स्थानमा घुम्न जान्थे । रकम असुल्थे । अनि सम्पर्कविहीन हुन्थे ।

प्रहरीका अनुसार ठगिएको भन्दै आठ महिलाले प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । उनीहरूको जाहेरीमा सात लाख रुपैयाँ ठगी भएको उल्लेख छ । परिसरका प्रवक्ता बोगटीले भने, ‘हाइस ड्राइभरले लन्डन लैजाने भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको भेटियो । १३ वर्ष लन्डन बसेको गफ दिएर युवतीसँग नजिकिने रहेछ । यही मौकामा रकम असुल्ने रहेछ । यसरी आठभन्दा धेरैलाई ठगी गरेको अनुसन्धानबाट खुलेको छ ।’

Published on: 1 August 2019 | Naya Patrika

Back to list

;