s

'मलेसिया घटनामा नेपालीको मृत्यु भएको छैन'

 

मलेसियाको जोहोरबारुस्थित पासिर गुडांगमा भएको आक्रमणमा नेपालीको मृत्यु नभएको मलेसियाली दैनिक द स्टारले आफ्नो अनलाइनमा लेखेको छ । प्रहरीलाई उद्धृत गर्दै उसले सार्वजनिक स्थानमा मादक पदार्थ सेवन गरेकाहरूबीच भएको झगडापछि उक्त घटना भएको र कोही पनि नेपालीको मृत्यु नभएको उल्लेख गरेको छ । गत आइतबारको घटनामा प्रहरीले २२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको र चार जना घाइतेलाई अस्पतालमा पठाइएको उल्लेख छ । 'विदेशी कामदार जो यहाँ काम गरेर केही कमाउन चाहन्छन्, उनीहरूले मलेसियाको कानुन मान्नुपर्छ,' प्रहरी अधिकारीको भनाइ उद्धृत गर्दै अनलाइनमा छ, 'स्थानीयसितको त्यो झडपमा नेपालीको मृत्यु भएको छैन ।' सामाजिक सञ्जालका विवरण अनर्गल ः दूतावास उक्त घटनालाई लिएर फेसबुक तथा अन्य सामाजिक सञ्जालमा आएका तस्बिर र सामग्री अनर्गल र भ्रमणपूर्ण रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ । 'नेपाल तथा मलेसियाको द्विपक्षीय सम्बन्धमा खलल पुर्‍याउने गरी भइरहेका यस्ता गतिविधिप्रति सचेत रहन आग्रह गर्दछौं,' क्वालालम्पुरस्थित कार्यवाहक राजदूत लेखनाथ भट्टराईद्वारा जारी विज्ञप्तिमा छ, 'नेपालीहरू बसेको होस्टलमा भएको घटनाबारे मलेसिया सरकारले गम्भीरतापूर्वक अध्यन गरिरहेको जनाएको छ ।' त्यसका लागि घटनास्थलमा तीन कर्मचारी खटाइएको कार्यवाहक राजदूत लेखनाथ भट्टराईले बताए । 'जतिसक्दो छिटो विस्तृत विवरण सार्वजनिक गर्छाैं,' उनले भने । विभिन्न सामाजिक सञ्जालमा सोही घटनाको भन्दै अन्यत्रका भिडियो, फोटोलगायत सामग्री सार्वजनिक हुन थालेपछि दूतावासले शुक्रबार पुनः विज्ञप्ति जारी गर्दै असम्बन्धित सामग्री नराख्न आग्रह गरेको हो । विज्ञप्तिमा घटनालाई बढाएर नेपाल र मलेसियाबीचको सम्बन्धमा ठेस नपुर्‍याउन आग्रह गरिएको छ । घटनामा घाइते दुई नेपालीमध्ये एक स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेको र अर्का एक घाइतेको उपचार भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Published on: 30 March 2013 | Kantipur

Back to list

;