s

मलेसियामा नेपालीमाथि सांघातिक आक्रमण

रामचन्द्र गिरी

मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको एक कम्पनीको होस्टलमा नेपालीमाथि आइतबार सांघातिक आक्रमण भएको छ । तामान चिन्तानामा रहेको नेपाली कामदार बस्ने होस्टलमा सामान्य विवादमा स्थानीय युवाको करिब डेढ सय जनाको समूहले धारिलो हतियारसहित आइतबार साँझ करिब ६ बजे आक्रमण गर्दा दुई नेपाली गम्भीर घाइते भएका छन् । सामरी-४ नुवाकोटका राजु विक र महमतपुर-४ रौतहटका रामलाल साह गम्भीर घाइते भएका हुन् । तीबाहेक अन्य केही सामान्य घाइते भएको दूतावासले जनाएको छ । घाइते साहका हातगोडाहरू भाँचिएका छन् । विकको बायाँ खुट्टा भाँचिएको छ । हाल उनीहरूको स्थानीय सुल्तान इस्माइल अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न आरोपमा प्रहरीले ९ नेपाली, दुई म्यानमारी र दुई स्थानीय युवालाई हिरासतमा लिएको दूतावास स्रोतले बताएको छ । हिरासतमा रहेका नेपालीमा सन्तोष पौडेल, रमेशकुमार भुजेल, अमन गुप्ता, रगन राई, मनोज सुनार, नीलकण्ठ जैसी, दलबहादुर बयम्वु, पवन साह र राकेश राज छन् । घटनालगत्तै त्यहाँ रहेका नेपालीले सञ्चारकर्मी र दूतावासका प्रतिनिधिलाई टेलिफोनमार्फत जानकारी गराइएपछि सोमबार सबेरै यसबारे बुझ्न दूतावासको एक टोली घटनास्थल पुगेको थियो । 
 
'हामीले घाइते र स्थानीय प्रहरी प्रशासनलाई पनि भेट्यौं । घटनास्थलमा पनि अन्य नेपालीसँग बुझ्यौं,' सोमबार घटनास्थल पुगेका दूतावासका एक प्रतिनिधिले भने । उनका अनुसार इको बयल, क्रेट ब्रास, केएसएम र इभियाप सप नाम गरेका विभिन्न चार कम्पनीका कामदार उक्त होस्टलमा बस्दै आएका थिए । झगडाले उग्ररूप लिएपछि आइतबार रातभर त्यस क्षेत्रमा तनाव छाएको थियो । सोही होस्टलमा बस्ने नुवाकोटका सागर न्यौपानेका अनुसार घटनापछि विभिन्न दुई कम्पनीले सोमबारै आफ्ना कामदारलाई अन्यत्र सारेका छन् । हाल उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । कसैलाई पनि प्रवेश दिइएको छैन । 'सुरुमा एक स्थानीय युवासँग सामान्य विवादपछि नेपालीमाथि फलामे रडलगायत धारिला हतियारसहित होस्टलमै प्रवेश गरी आक्रमण भएको थियो,' घटनास्थलका एक प्रत्यक्षदर्शी सुरज यादवले भने, 'कम्तीमा डेढ/दुई सय जना स्थानीय आएका थिए । हामी ग्राउन्ड फ्लोरमा भएर बाँच्यौं ।' दूतावासको टोली अझै थप जानकारी लिन मंगलबारसम्म उतै रहने बताइएको छ ।  
 
नेपालीको मृत्यु भएको छैन ः दूतावास दूतावासले नेपालीको मृत्यु भएको कुनै आधिकारिक निकायबाट पुष्टि नभएको जनाएको छ । दूतावासले सोमबार अपराह्न विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेको छ । साथै संयमित रहन सबै नेपालीलाई आग्रहसमेत गरेको छ । दूतावासले नेपालीको सुरक्षा माग गर्दै मलेसियाली परराष्ट्र मन्त्रालयलाई सोमबारै पत्र पठाएको छ । 'परराष्ट्रको कन्सुलर शाखामार्फत घटना र सुरक्षा मागलगायत विषयमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेका छौं' कार्यवाहक राजदूत लेखनाथ भट्टराईले सोमबार साँझ कान्तिपुरसित भने, 'घटनाबारे हामी दुखित छौं । सबै नेपालीलाई संयमित हुन हाम्रो आग्रह छ ।' यसरी भयो घटना सदाजस्तै हामी आइतबार पनि कम्पनीमा काममै थियौं । सबै आ-आफ्नै धुनमा थियौं । म कामबाट करिब ८ बजे होस्टल फर्किएको थिएँ । बेलुका करिब ६ बजेको थियो होला, होस्टलमा दुई जना नेपालीबीच सामान्य विवाद भएछ । विवाद गर्नेमध्ये एकजना अवैधानिक भएको पाइयो र उनी अर्कै कम्पनीमा काम गर्छन् । अन्तै बस्छन् । त्यसअघि पनि उनीहरूको सामान्य विवाद थियो रे । 
 
हामीले बुझेअनुसार हाम्रा होस्टलका नेपाली साथी र ती नेपाली साथी पसलमा किनमेल गर्ने क्रममा भेट भएपछि अझै विवाद बढेको रहेछ ।  त्यसपछि करिब सवा ८ तिर दुई स्थानीय युवा बाइक लिएर आइपुगे र होस्टलभित्र प्रवेश गरी तिनै युवाको समर्थनमा नेपालीको अर्को पक्षलाई आक्रमण गर्न सुरु गरे । उनीहरूको आक्रमणको नेपालीले प्रतिकार गरे । त्यसपछि ती दुवै युवा त्यहाँबाट भागेछन् । अनि नेपाली पनि एकै ठाउँजस्तो जम्मा भए । अर्को पक्षका नेपाली पनि त्यतिबेलै भागे । हुल बढ्दै गयो तर केहीबेरपछि हुलका हुल स्थानीय युवा आए र होस्टल प्रवेश गरे । त्यतिबेलासम्म एकपक्ष झगडा नगरौं भन्ने पक्षमा थियो भने अर्को पक्ष हातपात गरिहाल्ने तयारीमा । तर पछि हानाहान सुरु भयो । होस्टल पाँच तलाको छ । ग्राउन्ड फ्लोरमा प्रायः केही पारिवारसहित बस्ने पनि छन् । तर सबै कामदार नै हुन् । त्यतिबेलासम्म म पनि बाहिरै उभिएर हेर्दै थिएँ । झगडासहित लुटपाट पनि भयो । ल्यापटप, फोन, कपडाको ब्याग, चुरोटसम्म लिएर गए । अकस्मात झडप बढ्दै गएपछि कुट्न आउँदै गरेका हुललाई यहाँ पारिवारिक मान्छे छन् भनें । त्यसपछि उनीहरू त्यतापट्ट िपसेनन्, अनि मलगायत केही साथीहरू कोठाभित्र पस्यौं र झ््यालढोका थुनेर बाँच्यौं । (एकै होस्टल तर फरक कम्पनीमा कार्यरत घटनाका प्रत्यक्षदर्शी सागर न्यौपानेसँग टेलिफोनमा गरिएको कुराकानीमा आधारित)

Published on: 26 March 2013 | Kantipur

 

Back to list

;