s

मलेसियामा कामदारको तलब वृद्धि चरण

कतिलाई लाग्न सक्छ, मलेसियामा कार्यरत कामदारको पारिश्रमिक वृद्धि भएर मासिक न्यूनतम ९ सय रिंगिट तलब पुगिसकेको छ । गत वर्ष जनवरीबाट बढ्ने भनिएकाले त्यस्तो लाग्नु स्वाभाविक पनि हो । तर मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिक सबै कम्पनीमा जनवरीदेखि लागू नभएपछि सबैले बढेको तलब नपाएपछि मलेसिया सरकारले चरणबद्ध रूपमा तलब वृद्धि गर्न कम्पनीलाई पुनः निर्देशन गरेको छ । जसअनुसार तलब वृद्धिको निर्णय जनवरीबाट सुरु भएर सबै कम्पनीमा लागू हुन अक्टोबरसम्म कुर्नुपर्छ ।  मलेसियाले गत वर्ष मे महिनामा पहिलो पटक निजी क्षेत्रमा कार्यरत सबै कामदारका लागि -साबाह र सरावकबाहेकका राज्यमा कार्यरतका लागि) ९ सय रिंगिट (करिब २६ हजार रुपैयाँ) 'राष्ट्रिय न्यूनतम पारिश्रमिक' तोकेको थियो । साबाह, सरावक र लिवुवान राज्यमा 'आवासीय खर्च' अन्य राज्यमा भन्दा कम हुने हुँदा त्यहाँ १ सय रिंगिट कम अर्थात ८ सय (२३ हजार रुपैयाँ) रिंगिट पारिश्रमिक तोकेको छ ।

गत वर्ष जुन १ देखि नै लागू गर्ने भने पनि रोजगारदाताको आग्रहका कारण कार्यान्वयनमा ढिलाइ भयो र सरकारले यही नयाँ वर्षदेखि लागू गर्न रोजगारदातालाई निर्देशन दिएको थियो । त्यसको केही दिनपछि विभिन्न एसोसिएसन तथा ६ सय ३५ निजी कम्पनीले व्यापार घाटामा रहेको भन्दै कार्यान्वनका लागि अरू ६ महिना समय दिन -जुलाईसम्म) अनुमति मागे । सोही कारण सरकारले तलबलाई क्रमशः लागू गराउँदै जाने निर्णय लिएको छ ।

रोजगारदाता कम्पनीहरूको मागअनुसार सरकारले २८ डिसेम्बरमा न्यूनतम पारिश्रमिक आदेश संशोधन गरी चरणबद्ध रूपमा लागू गर्ने निर्णय गरेको जानकारी आएको नेपाली दूतावास मलेसियामा पूर्वश्रम सहचारी तथा वैदेशिक रोजगार विभागका निर्देशक सूर्यप्रसाद भण्डारीले बताए । विभागले नयाँ तलबमानअनुसार नै कामदारका लागि श्रम स्वीकृत दिएको छ । मलेसियामा सीमित कतिपय कम्पनी र ३ सयभन्दा बढी पेट्रोलपम्प स्टेसनमा मात्र न्यूनतम पारिश्रमिक जनवरी १ देखि नै लागू भएको छ । मलेसियामा साना ठूला गरी करिब ६ लाख कम्पनी रहेको अनुमान छ । 'कम्पनीले यसपालिदेखि बेसिक ९ सय रिंगिटको हिसाबले तलब दियो,' बढेको तलब हात पारेका वातुपहातस्थित एकोन सुपरमार्केटमा कार्यरत नेपालीले भने, 'हाम्रो नजिकैको फलाम काट्ने कम्पनीले नदिएको साथीहरूले भनेका छन् ।'

सरकारले दोस्रो पटक मौका दिँदै साना तथा मझौला कम्पनी -५ वा ५ भन्दा कम संख्यामा कार्यरत कामदार) लाई आगामी जुलाई १ भित्र लागू गर्न भनेको छ । डिसेम्बर १ भित्र सदस्यता पाएका होटल एसोसिएनका सदस्य रोजगारदातालाई अक्टोबर १ सम्म नयाँ तलबमान लागू गर्न सरकारले निर्देश गरेको छ । त्यस्तै मलेसिएन बस अपरेटर्स एसोसिएसनमा आबद्ध रोजगारदाताहरूले अपि्रल १ सम्म नयाँ तलबमान लागू गर्न सरकारले भनेको छ । मलेसियाको मानव संशाधन तथा रोजगार मन्त्रालयमा निवेदन स्वीकृत भएका ६ सय ३५ निजी रोजगारदातामध्ये १ देखि ७८ नम्बरसम्मका रोजगारदाताले अपि्रल १ सम्म र ६ सय १६ सम्मका रोजगारदाताले जुलाई १ सम्म र बाँकीले अक्टोबर १ सम्म लागू गर्नुपर्ने छ ।

ठूला संख्यामा कामदार कार्यरत कम्पनीले न्यूनतम तलब कार्यान्वनमा ढिलाइ गर्न थालेपछि यसबाट अधिकांश नेपालीलगायत कामदार तत्काल लाभान्वित भएका छैनन् । मलेसियाका लागि नेपाल सरकारले मासिक न्यूनतम पारिश्रमिक ५ सय ४६ रिंगिट तोकेको थियो । कतिपय नेपालीले वर्षौंदेखि सोही न्यूनतम तलब पनि नपाएका कारण नयाँ तलब कम्पनीले पालना गर्ला भन्नेमा विश्वस्त हुन सकेका छैनन् ।

Published on: 12 January 2013 | Kantipur

Back to list

;