s

मलेसियामा अलपत्रलाई दुई साताभित्र नेपाल फर्काइने

सुरेन्द्र पौडेल

मलेसियामा दुई महिनादेखि अलपत्र परेका करिब ११ सय नेपाली कामदारलाई रोजगारदाता कम्पनीले दुई साता भित्र स्वदेश फर्काउने भएको छ। रोगजार गुमाएका उनीहरुलाई तीन महिना तलब बराबरको रकम उपलब्ध गराई नेपाल फर्काउन लागिएको हो। नेपाल पर्कदा लाग्ने सम्पूर्ण खर्च रोजगारदाता विद्युतिय कम्पनी फ्लेक्ट्रोनिक्स टेक्नोलोजिले व्यहोर्ने छ।
 
'रोजगारदाता कम्पनीले अलपत्र परेका कामदारलाई राहत प्याकेज दिन तीन बुँदे सहमति गरेको जानकारी हामीलाई प्राप्त भएको छ,' वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले जानकारी दिए, 'तत्काल नेपाल फर्कन नचाहनेको लागि विकल्प समेत कम्पनीले दिएको छ।'
 
महानिर्देशक भट्टराईका अनुसार रोजगारदाता फ्लेक्ट्रोनिक्स कम्पनीले रोजगार गुमाएका नेपाली कामदारलाई तीन महिना तलब बराबरको रकम उपलब्ध गराउने, स्वदेश नफर्केसम्म वा त्यहीं अन्य कम्पनीमा रोजगार नपाएसम्म बस्दा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने, नेपाल फर्कदा लाग्ने खर्च व्यहोर्ने र मलेसियामा रहेका अन्य कम्पनीमा रोजगार गर्न इच्छुकलाई आवश्यक सहयोग गर्ने सहमति गरेको छ।
 
फ्लेक्ट्रोनिक्सले स्वदेश फर्कन चाहनेलाई फेव्रुअरीको अन्त (फागुन १७)सम्म पठाइसक्ने जानकारी दिएको उनले जनाए। 'कोही व्यत्ति अन्य कम्पनीमा काम गर्न चाहे मलेसियास्थित नेपाली दूतावास र फ्लेक्ट्रोनिक्सले आवश्यक सहयोग गर्नेछन्,' रोगजार गुमाएकालाई त्यहीं काम गर्ने विकल्प पनि दिईएको महानिर्देशक भट्टराईले सुनाए।
 
मलेसियामा हजारभन्दा बढि नेपाली कामदार अलपत्र भएको समाचार प्रकाशनमा आएपछि मंगलबार वैदेशिक रोजगार विभागले कामदार पठाउने चारवटा म्यानपावर कम्पनीका सञ्चालकलाई बोलाई छलफल गरेको थियो। छलफलका क्रममा ती व्यवसायीलाई रोजगारदाता कम्पनीले दिएको राहत प्याकेजका बारेमा विभागलाई जानकारी गराएका थिए।
 
कामदार, रोजगारदाता कम्पनी, पठाउने म्यानपावर कम्पनी र मलेसियास्थित नेपाली दूतावासका प्रतिनिधीबीच भएको वार्तामा ती सहमति भएको महानिर्देशक भट्टराईले जनाए। कम्पनी नै बन्द गर्नु परेकोले कामदार अलपत्र परेको रोजगारदाता कम्पनीले जनाएको छ।
 
विश्वप्रसिद्ध इलोक्ट्रोनिक्स कम्पनी एपलले 'आइफोन-५' पाटपुर्जा निर्माण गर्न फ्लेक्ट्रोनिक्सलाई आउटसोर्सिङ गरेको थियो। सोही अनुसार फ्लेक्ट्रोनिक्सले नेपाली कामदारलाई रोजगार उपलब्ध गराएको थियो। दुई महिना अघि एपलले अचानक आँफुले दिएको अर्डर रोकेपछि फ्लेक्ट्रोनिक्समा रहेका नेपाली कामदारले रोजगारी गुमाउन पुगेको महानिर्देशक भट्टराईले बताए।
 
काम रोकिएपछि सबै कामदारलाई फ्लेक्ट्रोनिक्सले एउटै होस्टलमा राख्दै आएको छ। उनीहरुलाई विहान-बेलुकीको खाना कम्पनीले नै उपलब्ध गराउँदै आएको छ भने केही कामदारलाई फर्कासकेको जनाइएको छ।
 
'रोजगारदाता फ्लेक्ट्रोनिक्स कम्पनीले त्यहीं काम गर्न चाहने कामदारलाई अर्को विकल्प पनि दिएको छ,' महानिर्देशक भट्टराईले बताए, 'फ्लेक्ट्रोनिक्सले आउँदो चैत २४ एउटा कम्पनीसँग नयाँ सहमतिपत्रमा हस्ताक्षर हुने जनाएको छ। सहमति भए लगत्तै नयाँ काम सुरु हुने भएकोले त्यहीं बस्न इच्छुकलाई पुनःरोजगारमा लगाउने प्रतिवद्धता फ्लेक्ट्रोनिक्सले जनाएको छ।'
 
फ्लेक्ट्रोनिक्स विद्युतिय उपकरण विकास र निर्माण गर्ने अन्तर्राष्ट्रि कम्पनी हो। फ्लेक्ट्रोनिक्सको मलेसियामा मात्र सिलनगोर र क्यालालमपुर दुई ठाउँमा कारखाना रहेका छन्। चिकित्सा, रक्षा, विमान, उर्जा, कम्प्युटर, मोबाइल, उद्योग लगायतका क्षेत्रमा आवश्यक पर्ने उपकरण यसले निर्माण गर्दै आएको छ।
 
Published on: 13 February 2013 | Nagarik
 

Back to list

;