s

मलेसियामा २२ नेपाली डेढमहिनादेखि अलपत्र

वैदेशिक रोजगारीका क्रममा मलेसिया आएका २२ नेपाली अलपत्र परेका छन् । ३ महिनाअघि मलेसियाको मलक्कास्थित रिकोन धागो कम्पनीमा आएका उनीहरू करारपत्रमा उल्लेख गरिएअनुसार तलब सुविधा नपाएपछि समस्यामा परेका हुन् ।

पीडितहरू डेढ महिनायता कामविहीन छन् । सम्झौताअनुरूप तलब सुविधा नपाएकाले काम छाडेर होस्टलमै बस्दै आएको र नेपाल र्फकन पनि समस्या भएको उनीहरूले कान्तिपुरलाई बताए । 'नेपाल र्फकन्छौं भन्दा म्यानपावरले प्रतिव्यक्ति २ हजार ८ सय रिंगिट तिर्नुपर्छ अनि र्फकन पाउँछौं नत्र पाउन्नौं भन्छ,' पीडितमध्येका एक नांलेभारे साँखु, काठमाडौंका सुरेश दंगालले मंगलबार टेलिफोनमा भने, 'न तोकेअनुसार तलब पाइयो, न त घर र्फकन नै । हामी डेढ महिनादेखि होस्टलमै अलपत्र छौं ।'

काठमाडौंस्थित रोयल गण्डकी, वल्र्ड वेज म्यानपावर प्रालि र नास ओभरसिज प्रालिमार्फत पठाइएका उनीहरूले आफ्नो समस्याबारे यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको तर खासै चासो नदिएको गुनासो गरे । 'हामीले दूतावासमा पनि खबर गरेका थियौं । त्यहाँबाट प्रतिनिधि पनि आउनुभयो, सबै बुझेर जानुभयो । हाम्रो समस्या उस्तै छ, खासै गम्भीर रूपमा लिइएन,' उनीहरूले भने । समस्याबारे बुझ्न गत शनिबार श्रम सहचारी अमलकिरण ढकाल पीडित नेपालीकहाँ पुगेका थिए ।

ढकालका अनुसार उक्त समस्याबारे कम्पनी पक्षलाई करारपत्रमा उल्लेख भएअनुसार तलब सुविधा दिन आग्रह गर्दै पत्राचार गरिसकिएको छ । 'समस्या करारपत्रमा उल्लेख भएअनुसार तलब नपाएको देखियो । कम्पनीले भत्ता, अलाउन्सलगायत सुविधा गरेर न्यूनतम तलब दिइएको दाबी गरिरहेको छ,' उनले भने । 'तर पनि करारपत्र अनुसार तलब सुविधा दिनु भनेर कम्पनीलाई खबर गरिसकेका छौं । पछिल्लो जवाफ पाएका छैनौं ।' ढकालका अनुसार नेपालको श्रम विभागमा पनि यसबारे खबर गरिसकिएको छ ।

पीडितहरूले भने तलबबाहेक कम्पनीले दाबी गरेजस्तो भत्तालगायत सुविधा नपाएको बरु मलेसिया आएलगत्तै मासिक २ सय ८ रिंगिट मासिक तलब पाउने भनी उल्लेखित एक पत्रमा हस्ताक्षर गर्न लगाइएको बताए । 'दैनिक ४ घन्टा ओभरटाइमसहित मासिक ११/१२ सय पाइन्छ भनेर पठाइएको थियो,' दंगालले भने, 'भत्ता, ओभरटाइम त कुरै छाडौं, न्यूनतम ५ सय ४६ रिंगिट पनि पाइएन । दैनिक ११ घन्टा काम गर्दा एक महिनाको ३ सय ८० रिंगिटमात्र पाइयो । बरु मलेसिया आएलगत्तै मासिक २ सय ८ रिंगिट मासिक तलब भनिएको पत्रमा हस्ताक्षर गर्न लगाइयो ।'

उक्त पत्रमा प्रतिघन्टा १ रिंगिटका दरले मासिक २ सय ८ रिंगिट पारिश्रमिक पाइने उल्लेख छ । साथै त्यसमा सिफ्ट र खाद्यान्न भत्ता गरी दैनिक १७ रिंगिटका दरले पारिश्रमिक दिइने उल्लेख छ । तर पीडितहरूले त्यस्तो नपाइएको बताए । 'महिनामा ३० दिन गर्दा पनि धेरैले भत्ता पाएका छैनन् । खानाका लागि दिने भत्ता पछि तलबबाटै काट्छ,' अर्का एक पीडितले भने । नेपालमा दिइएको करारपत्रमा न्यूनतम मासिक तलब ५ सय ४६ रिंगिट र ओभरटाइमसहित मासिक ९ सय ४ रिंगिट पाइने र हप्तामा एक छुट्टी हुने उल्लेख छ । सो पत्रमा खाना कम्पनीले बेहोर्ने उल्लेख छ । कम्पनीले एक छाक खाना उपलब्ध गराउने गरेको तर पछि तलबबाटै प्रतिछाकको (करिब २.६० रिंगिट) काट्ने गरेको पीडितहरूले बताए ।

Published on: 17 April 2013 | Kantipur

Back to list

;