s

मलेसियाद्वारा पर्यटक भिसामा कडाइ

रामचन्द्र गिरी

मलेसियाले पर्यटक भिसामा आउने विदेशीमाथि कडाइ गर्ने भएको छ । उसले पर्यटक भिसामा आउनुअघि सम्बन्धित देशका नागरिकलाई त्यहाँस्थित आफ्ना कूटनीतिक नियोगमा बायोमेटि्रक (औंठाछाप) सहित आफ्ना 'विवरण दर्ता गर्नुपर्ने' भनेको छ ।

मलेसियाली अध्यागमनको यो प्रस्तावित नियमानुसार मलेसिया प्रवेश गर्ने पर्यटकलाई यहाँको अध्यागमनमा पनि जाँच गरिने र दूतावासमा औंठाछाप दर्ता नगरेको एवं विवरण फरक भएको पाइएमा एनटीएल (नट् टु ल्यान्ड) सूचनामा सूचित गरिनेछ । त्यसरी सूचित गरेपछि त्यस्ता पर्यटकलाई सम्बन्धित देश फिर्ता पठाइने सम्बन्धित अधिकारीको भनाइ उद्धृत गर्दै स्थानीय अंग्रेजी दैनिक 'द स्टार' ले आफ््नो अनलाइन संस्करणमा उल्लेख गरेको छ ।

'औंठाछाप जाँच प्रणालीसहितको भिसा (बायो भिसा) अध्यागमन रूपान्तरणका लागि पहलकदमी थियो र यो डिसेम्बर १ अर्थात् आप्रवासन दिवसदेखि थाल्न सकिन्छ,' अध्यागमन उच्च अधिकारीलाई उद्धृत गर्दै द स्टारले उल्लेख गरेको छ । गतवर्ष २२ हजार १ सय ५७ जना विदेशी पर्यटकहरूको नाम र विवरण 'एनटिएल नोटिस' मा राखिएको जनाउँदै मलेसियाले कडाइ गर्न नयाँ प्रणाली थालेको हो ।

आइतबार प्रकाशित सो समाचारअनुसार यसै वर्ष जनवरीदेखि सेप्टेम्बरसम्म १७ हजार ८ सय २८ जना 'एनटिएल नोटिस' मा सूचीकृत भएका छन् । बायोमेटि्रक जाँच दोहोरो गर्दा सम्बन्धित देशमा रहेको दूतावास र मलेसिया प्रवेश गर्दा अध्यागमनले जाँच गर्दा फरक पर्नु हुँदैन ।

यहाँस्थित दूतावासका अनुसार वाषिर्क सरदर २५ हजार नेपाली पर्यटक मलेसिया घुम्न आउने गरेका छन् । 'सरदर वाषिर्क २५ हजार नेपाली पर्यटकका रूपमा मलेसिया आउने गरेका छन् । बायोमेटि्रक भिसा प्रणाली लागू गर्दा अयोग्य पर्यटक आउने क्रम रोकिने हुँदा यसो गर्न खोजेको हुन सक्छ । तर यसबारे हामीलाई औपचारिक खबर आइसकेको छैन,' कार्यवाहक राजदूत लेखनाथ भट्टराईले कान्तिपुरसित भने ।

मलेसियाका लागि आवश्यक भिसासूचीमा नेपाल, चीन, भारत, बंगलादेशसहित ३८ मुलुक छन् । तीमध्ये भारत र चीनबाट सबैभन्दा बढी पर्यटक मलेसिया घुम्न आउँछन् । गतवर्ष १२ लाख ५० हजार चिनियाँ र ६ लाख ९३ हजार ५६ जना भारतीय पर्यटक मलेसिया घुम्न आएका जनाइएको छ । औंठाछापसहित पर्यटकको राहदानीमा रहेका सम्पूर्ण विवरण/तथ्यांक राखिने हुँदा नक्कली कागजात बनाएर आउने तथा अयोग्य पर्यटक आउनेमा समेत कमी आउने विश्वास मलेसियाको छ ।

संयुक्त राष्ट्रसंघको विश्व पर्यटनसम्बन्धी संगठन (यूएनडब्लूटीओ) का अनुसार गतवर्ष विश्व पर्यटकीय गन्तव्यमध्ये मलेसिया उत्कृष्ट ९ औं र एसियामै चीनपछि दोस्रोमा पर्दछ । सो तथ्यांकमा गत वर्ष मलेसियामा २ करोड ४७ लाख विदेशी पर्यटकहरू घुम्न आएका उल्लेख छ ।

Published on: 30 October 2012 | Kantipur

Back to list

;