s

मलेसियाबाट फर्केका युवा बेपत्ता

तीन वर्ष मलेसियामा काम गरेर फर्केका एक युवक काठमाडौं उत्रैदेखि नै घर परिवारको सम्पर्कमा छैनन् । फरेना-६, सिद्धनाथ, रूपन्देहीका २१ वर्षीय अर्जुनकुमार गोसाई दुई साताअघिदेखि बेपत्ता भएपछि परिवार खोजीमा लागिरहेको छ ।

मलेसियामा ३ वर्ष बिताएर मंसिर १६ गते दिउँसो काठमाडौं उत्रिएका उनी नयाँ बसपार्क, गोंगबु हुँदै साथीहरूसँगै घर जानुपर्ने थियो । तर त्यति बेलादेखि सम्कर्पविहीन भएपछि उनका दाइ बलिरामले खोजतलासका लागि महानगरीय प्रहरी परिसर, हनुमान ढोकामा निवेदन दिएका छन् । 'मलेसिया एयरपोर्टबाट उड्ने बेला दाइ म आइरहेको छु, काठमाडौंमा मेरो मोबाइल (मलेसियाको सिम भएको) चल्दैन, घर आएर फोन गर्छु भनेको थियो,' उनले भने, 'ऊ घर आउन यति खुसी थियो, कसले के गर्‍यो वा के भयो ? पत्तै पाउन सकेको छैन ।' भारत, पंजाबको लुधियानामा काम गर्ने बलिराम भाइ बेपत्ता भएको खबर पाएपछि खोजीमा काठमाडौं आएका हुन् । बलिरामका अनुसार मलेसियाबाट अर्जुनसँगै आएका अन्य ५ जनासहित उनले तौलिहवा जाने बसको टिकट लिएका थिए । 'बस छुट्नुअघि अन्य देशबाट फर्केकासहित उनीहरू ११ जना थिए,' भाइका साथीहरूको भनाइ उद्धृत गर्दै बलिरामले भने, 'भाइ ट्वाइलेट गयो र फेरि गाडीमा बस्यो । गाडी छुट्न केही ढिला भयो र फेरि भाइ पिसाब फेर्न गयो, त्यसपछि आएन रे ।'

विवाह गर्ने सोचसहित फर्किएका अर्जुनले परिवारमा राम्रो शौचालयसमेत बनाउन भनेका दाइ बलिरामले सुनाए । 'घरमा वृद्ध बुवा-आमा रुँदारुँदै हालत खराब भएको छ, यता भाइ भेटिँदैन,' बलिरामले भने, 'कतै भेटिइहाल्छ कि भनेर प्रत्येक साँझ बिहान बसपार्क जान्छु तर केही पत्तो लाग्दैन ।

Published on: 17 December 2012 | Kantipur

Back to list

;