s

मलेसिया घटना अध्ययन गर्न दूतावासको विशेष टोली

रामचन्द्र गिरी


दुई दिनअघि यहाँको एक होस्टलमा भएको कुटपिट घटनाको स्थलगत अध्ययन गर्न नेपाली दूतावासले विशेष टोली परिचालन गरेको छ । घटनाको तथ्य सार्वजनिक गर्न तीन कर्मचारी खटाइएको कार्यवाहक राजदूत लेखनाथ भट्टराईले बताए । 'उहाँहरूले त्यहाँ कार्यरत नेपालीको नामावली संकलन गर्दै पहिचान गरिरहनुभएको छ,' भट्टराईले भने, 'जतिसक्दो छिटो विस्तृत विवरण सार्वजनिक गर्छाैं ।'

आइतबार स्थानीय युवाको समूहले यहाँस्थित एक होस्टलमा पसेर नेपाली र विदेशी कामदारमाथि आक्रमण गरेको थियो । अहिले उक्त होस्टलमा सुरक्षा व्यवस्था मिलाइएको दूतावासले जनाएको छ । सोमबार बिहान घटनास्थल पुगेको दूतावास टोलीले त्यहाँ घाइते नेपाली, प्रत्यक्षदर्शी, कम्पनी एवं प्रहरी प्रशासनलगायत विभिन्न पक्षसित सोधखोज गरिरहेको छ । 

विभिन्न सामाजिक सञ्जालहरूमा सोही घटनाको भनिएको भिडियो, फोटोलगायत सामग्री सार्वजनिक हुन थालेको छ । अध्ययनका क्रममा दूतावास टोलीले बुधबार साँझसम्म दुई कम्पनीमा गरी ६० नेपाली रहेको पहिचान गरेको र घाइते दुई जनाका साथै नियन्त्रणमा लिइएका ६ नेपाली स्काटेक कम्पनीमा कार्यरत रहेको खुलेको छ । 

नियन्त्रणमा रहेका अन्य ३ जना इभियाप नामक पाल्म बयल कम्पनीमा कार्यरत रहेको थाहा भएको छ । मंगलबार टोलीले उनीहरूलाई पनि भेटेको थियो । 'प्रहरी नियन्त्रणमा रहेका भाइहरूलाई पनि भेट्यौं, कुरा बुभदा उहाँहरू निर्दोष देखिनुहुन्छ, केही दिनमा छुट्नु होला,' टोलीका एक सदस्यले भने । 'उक्त होस्टलमा रहँदै आएका नेपालीको संख्या र उनीहरूले काम गर्ने कम्पनीको पहिचानपछि यथार्थ पत्ता लाग्नेछ,' राजदूतले भने ।

यसैबीच मलेसियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिले उक्त घटनाबारे गहिरो अध्ययन गरी विस्तृत विवरण सार्वजनिक गर्न माग गरेका छन् । व्यवसायी, गैरआवासीय नेपाली संघ, पत्रकारलगायत प्रतिनिधिले मंगलबार दूतावासमा पुगी घटना गम्भीर रहेको भन्दै विस्तृत अध्ययनको माग गरेका हुन् । दूतावास टोलीले होस्टल सार्न कम्पनीलाई आग्रह गरेको छ । त्यहाँ बस्ने नेपालीका अनुसार विभिन्न ३ कम्पनीले आफ्ना कामदार त्यहाँबाट सारिसकेका छन् । होस्टल परिसरमा नेपाली अझै त्रसित भएकाले सुरक्षा व्यवस्था मिलाइएको दूतावासले जनायो । आक्रमणमा घाइते भएपछि अस्पताल भर्ना भएका सामरी-४ नुवाकोटका राजु विश्वकर्मा बुधबार डिस्चार्ज भएका छन् । बायाँ खुट्टा भाँचिएको र निधारमा गहिरो चोट लागेका उनको उपचारखर्च कम्पनीले बेहोरेको दूतावासले बतायो । अर्का घाइते मोहमदपुर-४ रौतहटका रामलाल साहको हात र खुट्टा भाँचिएको छ । अस्पतालले आगामी अपि्रल ५ मा उनको शल्यक्रिया गर्ने तयारी गरेको छ ।

Published on: 28 March 2013 | Kantipur

Back to list

;