s

माल्दिभ्स पठाउने भन्दै ५० लाख ठगेर महिला वेपत्ता

किशोर बुढाथोकी

वैदेशिक रोजगारीका लागि माल्दिभ्स पठाउने भन्दै ५० लाख ठगी गरेर मोरङमा एक महिला वेपत्ता भएकी छिन्।प्रति व्यक्ति एक लाख रुपैयाँका दरले ५० जनासँग रकम ठगी गरेर सुन्दरहरैंचा नगरपालिका १० विराटचोककी ३३ वर्षीय लक्ष्मी दाहाल (विडारी) फरार भएको उजुरी श्रम तथा रोजगार कार्यालय विराटनगरमा परेको छ ।

बेलबारी नगरपालिका १० मा बसोबास गर्दै आएकी उनी परिवारका सदस्यबाट पनि कात्तिक तेस्रो सातदेखि सम्पर्कबिहीन बनेपछि ठगीमा पर्नेहरुले विदेश जानसक्ने सम्भावनालाई मध्यनजर गर्दै लक्ष्मीको एयरपोर्ट रोक्‍का गरिपाऊँ भनेर उजुरी दिएका हुन् ।

पासपोर्ट नम्बर ०८६२४३९५ का आधारमा लक्ष्मीको एयरपोर्ट रोक्का गरिएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए । 'मालदीभ्स पठाउने भन्दै लक्ष्मीले सबैसँग पैसा संकलन गरेको खुलेको छ,' उनले भने, 'तर अहिले गायब बनेपछि पीडित श्रमको शरणमा आइपुगे ।'

वरिष्ठ श्रम अधिकृत सञ्जेलले मालदीभ्स पठाउने भनेर कागज गर्दै बैंक खातामै राख्न लगाएर पैसा असुलेकोलगायतका प्रमाणहरु उपलब्ध भएकाले पासपोर्ट नम्बरका आधारमा लक्ष्मीलाई विदेश जान रोक लगाउँदै एयरपोर्ट रोक्का गरिएको बताए । 'वैदेशिक रोजगारीसम्बन्धी अपराध गरेर विदेश भाग्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै पीडितको आग्रहमा एयरपोर्ट रोक्‍का गरिएको हो, 'सञ्जेलले भने, 'थप कारबाहीका लागि बाँकी प्रक्रिया अघि बढाइने छ ।'

पीडित झापा, मोरङ, सुनसरीलगायतका जिल्लाका रहेको उनले बताए । श्रीमान रुपेश विडारीले पनि लगभग दुई सातादेखि लक्ष्मी पारिवारिक सम्पर्कमा नरहेको जानकारी दिएको पीडितले बताए ।विदेश पठाउने भन्दै पैसा उठाउने काम गरेको थाहा पाएर रोक्न खोज्दा नमानेपछि लक्ष्मीसँग पारिवारिक सम्बन्ध पनि त्यति राम्रो नभएको जानकारी रुपेशले गराएको उनीहरुको भनाइ छ ।

पीडित मध्येका सुन्दरहरैंचा नगरपालिका १२ का प्रतापकुमार कोइरालाले सुरुमा आफूहरु धनकुटा घर भई मालदीभ्समा रहेका सागर भनिने बुद्धिसागर अधिकारीको सम्पर्कमा पुगेको बताए ।

अधिकारीले मालदीभ्सबाटै विभिन्न प्रलोभन देखाउँदै आफूहरुलाई नेपालको सम्पर्क व्यक्तिका रुपमा लक्ष्मीलाई देखाएको उनको भनाइ छ । त्यसपछि भेटघाट गरेर कुरा मिलेपछि लक्ष्मीको सनराइज बैंकको खातामा आफूहरुले पैसा हालिदिएको कोइरालाले बताए ।

आफूलाई अधिकारीले ट्राभर्स एजेन्सीका मेनेजर दीपक मैनालीको सानीमा बैंक नक्साल काठमाडौंको खातामासमेत थप एक लाख रुपैयाँ हाल्न लगाएको उनको आरोप छ । तर मैनालीले लक्ष्मी दाहालले माल्दिभ्सबाट नेपाल फर्किदाको जहाज टिकट ४८ हजार पाँच सय र सुन्दर हरैचाकी मञ्जु तिमल्सिना नेपालबाट माल्दिभ्स जाँदाको जहाजको टिकट बापतको ४२ हजार पाँच सय रुपैयाँ आफूले लिएको बताएका छन् । मैलालीले बाँकी रहेको रकम सागरको परिवारलाई बुझाएको बताए ।

'मासिक सात लाख नेपाली तलब पाउने गरी दुई महिनाभित्रमा मालदीभ्स पठाउने आश्वासन पाइएको थियो,' उनले भने, 'नौ महिना वितिसक्दा पनि काम नभएपछि र पठाउने सम्बन्धीत महिला नै वेपत्ता बनेपछि ठगिएको चाल पाएर सरोकारवाला निकायमा आइपुगेका हौं ।'

उनकाअनुसार त्यहाँको रिसोर्टमा सेक्युरिटी गार्डको काम दिने भनिएको थियो । कोइरालाले आफूसँगको सम्पर्कमा मालदीभ्समा रहेका बुद्धिसागर अधिकारीले पटक-पटक सामाजिक सञ्जालमार्फत विभिन्न कागजपत्र देखाएर काम भइरहेको भन्दै झुक्याएको बताए । मालदीभ्समा रहेका अधिकारी पनि सम्पर्कविहीन बनेको पीडितहरुले बताए ।

मालदीभ्स पुर्‍याइसकेपछि भने तीन लाख ५० हजार रुपैयाँ तिर्नु पर्ने सर्त राख्दै सुरुमा प्रतिव्यक्ति एक लाख रुपैयाँ उठाइएको पीडित मध्येका सुन्दरहरैंचा-१२ का तुलबहादुर श्रेष्ठले बताए । अधिकारी सम्पर्कबिहीन बनेको भन्दै पीडितलाई लिएर लक्ष्मी काठमाडौंस्थित श्रम विभागमा समेत अधिकारीका विरुद्ध उजुरी गर्न पुगेकी थिइन् ।

तर विभागले अधिकारीका नाममा पैसा पठाएको कुनै प्रमाण नभएका कारण जसको खातामा पैसा पठाइएको छ उसैलाई कारबाही हुने जवाफ दिएको पीडित कोइरालाले बताए । आफ्नो खातामा पैसा पठाउन लगाउने लक्ष्मी आफूलाई कारबाही हुने थाहा पाएर त्यहाँबाट सम्पर्कबिहीन हुँदै फरार बनेको जानकारी उनले दिए ।

कुनै व्यक्तिलाई विदेश पठाउन आधिकारिक मेनपावर दर्ता गरेर इजाजत लिनु पर्ने कानुन भए पनि त्यसो गरेको नपाइएका कारण यस घटनामा वैदेशिक रोजगार ऐन आकर्षित हुने श्रम अधिकृत सञ्जेलको भनाइ छ । वैदेशिक रोजगार ऐन २०६४ को दफा १० ले मेनपावरको इजाजत नलिइकन कसैलाई विदेश पठाउने वा सोसँग सम्बन्धित काम गर्न रोक लगाएको छ । यदि गरेमा तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीनदेखि सात वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

Published on: 21 November 2019 | Annapurna Post

Link

Back to list

;