s

मलेसियाली संसद्‌मा नेपाली श्रमिक चर्चा, ‘दुवै देशको हितलाई सम्बोधन गर्ने’

मलेसियाली मानव संसाधनमन्त्री एम कुला सेगरनले नेपाली कामदार रोकिएको विषयमा नेपाल सरकारसँग छलफल भइरहेको उल्लेख गर्दै दुवै देशको ‘जित’ हुने गरी समस्या समाधान गरिने बताएका छन् ।
 
मलेसियाली संसद्मा मंगलबार मलेसिया आउने नेपाली कामदारको स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया, सेक्युरिटी क्लियरेन्स गर्न नेपालमा खडा गरिएका विभिन्न कम्पनीबाट चर्को शुल्क असुली भएको बारेमा आवाज उठेपछि मन्त्री सेगरनले समस्या समाधानको पहल भइरहेको जानकारी गराएका हुन् । 
 
उनले नेपाली कामदारसँग चर्को रकम असुलीमा संलग्न कम्पनीमाथि नेपाल सरकारले कारबाही गरी कामदार पठाउन रोकेको समेत संसद्लाई जानकारी गराए । उनले विदेशी कामदारको भर्ना प्रक्रियामा एकाधिकार पाएको मलेसियाकै एक निजी कम्पनी ‘बेस्टिनेट एसडीएन बीएचडी’ को कमजोरीका कारण समस्या आएको बताए । उक्त कम्पनीले सरकारी अनुमतिमा कामदार भर्ना प्रक्रियामा बायोमेट्रिक मेडिकल व्यवस्थापनको काम गर्दै आएको थियो । नेपालको निरन्तर प्रयासपछि मलेसियाले नेपाली कामदारको विषयलाई गम्भीर रूपमा लिएको छ । नेपाली र मलेसियाली अधिकारीबीच दुई सातायता दुईपटक छलफल भइसकेको छ । मलेसियाबाट छिट्टै फलदायी निर्णय हुने विश्वास नेपाली दूतावासको छ ।
 
मलेसियाले कामदार आपूर्ति गर्दा बिचौलिया आउटसोर्सिङ कम्पनी हटाएर सरकार–सरकारबीच कामदार लिनेदिने विषयमा सहमति खोजिरहेको छ । नेपाल भने मलेसिया सरकारको निर्णयको पर्खाइमा छ । मलेसियाको मन्त्रिपरिषद्मा शुक्रबार नेपाली कामदारका विषयमा छलफल हुँदै छ । नेपालले बिनासम्झौता सन् २००१ देखि नै कामदार पठाउँदै आएको थियो । श्रम सम्झौता नहुँदा मलेसियामा नेपाली कामदारले विभिन्न समस्यामा पर्दा न्याय दिलाउन एवं समस्या समाधान गर्न अप्ठयारो हुने गरेको थियो ।
 
नेपालले दुई महिनादेखि कामदार पठाउन रोकेपछि मलेसियामा कामदारको अभाव हुन थालेको छ । नेपाल मलेसियामा श्रमिक आपूर्ति गर्ने दोस्रो ठूलो मुलुक हो । गत महिना सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार यहाँ कानुनी हैसियतमा ३ लाख ७८ हजार ५ सय ७७ नेपाली कार्यरत छन् । तीमध्ये २४ हजार ४ सय २८ जना सुरक्षा गार्डको काम गर्छन् । कामदार अभावको सबैभन्दा बढी मार पनि यहाँको सुरक्षा क्षेत्रमै परेको छ ।
 
Published on: 2 August 2018 | Kantipur

Back to list

;