s

मलेसियासँग श्रम सम्झौता गर्न आप्रवासन सञ्जालको माग

दुई महिनादेखि रोकिएको मलेसिया रोजगारी खोल्नुअघि नेपाल र मलेसियाबीच श्रम सम्झौता गर्नुपर्ने माग गरिएको छ।सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालले बिहीबार पत्रकार सम्मेलन गर्दै द्विपक्षीय श्रम सम्झौता गरेर मात्र मलेसियाको रोजगारी सुचारु गर्न माग गरेको हो । मलेसिया जाने कामदारसँग चर्को शुल्क लिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत जेठ ५ गतेदेखि चार संस्था खारेज गर्दै मलेसिया रोजगारी बन्द गराएको छ ।
 
नेपाली कामदार जान छाडेपछि यतिखेर मलेसियाको रोजगारदाता समस्यामा परेको उल्लेख गर्दै मलेसिया सरकार कामदारप्रति नरम बन्ने सम्भावना देखिएको सञ्जालको ठहर छ । ‘कामदार रोकिएपछि यतिखेर नेपाली कामदारको माग बढेको छ,’ सञ्जालमा आवद्ध निलाम्बर बडालले भने, ‘नेपाली कामदारको माग बढिरहेकाले यतिखेर मलेसियासँग श्रम सम्झौता गर्ने सही मौका हो । यो मौका सरकारले गुमाउनु हुँदैन।’
 
सञ्जालमै आवद्ध मञ्जु गुरुङले श्रम सम्झौता गर्दा अन्तर्राष्ट्रिय श्रम संगठन, न्युयोर्क घोषणापत्र लगायतका मूलभूत सिद्धान्तलाई ख्याल गर्नुपर्ने बताइन् । सञ्जालका अध्यक्ष कुलप्रसाद कार्कीले मलेसिया र नेपालबीच श्रम सम्झौता गरिएपछि कामदादर जिटुजी या अन्य जुनसुकै मोडलमा पठाउन सकिने बताए ।हालसम्मको तथ्यांक अनुसार मलेसिया नेपालको सबभन्दा ठूलो गन्तव्य रहे पनि श्रम सम्झौता हुन सकेको छैन । श्रम सम्झौता हुन नसक्दा कामदार शोषणमा पर्दै आएका छन् । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म श्रम स्वीकृति लिएर करिब १० लाख युवा मलेसिया गएका छन् । जसमध्ये करिब सात लाख मलेसियाको रोजगारीमा रहिरहेको बताइन्छ ।
 
Published on: 3 August 2018 | Nagarik

Back to list

;