s

मलेसियन राजदूत कामदार ठगीमा संलग्न संस्थाको बचाउमा लागेको आरोप

नेपाल मेडिकल व्यवसायी संघले नेपालका लागि मलेसियाका कार्यबाहक राजदूत अहमद फादिलको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । कार्यबाहक राजदूतले मलेसिया जाने नेपाली कामदार ठगीमा संलग्न संस्थाको बचाउमा लागेको र कूटनीतिक मर्यादाविपरीत कार्य गरेको भन्दै संघका अध्यक्ष सीताराम रेग्मीले सचेत गराउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भेटेर ज्ञापनपत्र बुझाएको जानकारी दिए ।

३७ ओटा मेडिकल, भिएलएन, जिएसजीलगायतका अवैध संस्थाले विगत ५ वर्षदेखि नेपाली कामदारबाट ५ अर्बभन्दा बढीको ठगी गरिसकेका छन् । त्यस्ता, सबै गैरकानुनी संस्था खारेजीको निर्णय गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको टिप्पणी आदेशका आधारमा सरकारले चलाएको मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छ । ती खारेजीमा परेका संस्थाका सञ्चालकहरूले सरकारको कारबाही गलत रहेको भन्दै अभिव्यक्ति दिन कार्यबाहक राजदूत फादिललाई उक्साएको संघको आरोप छ ।

सरकारले अवैध संस्था खारेजीको निर्णय गरेयता नेपाली कामदार मलेसिया जानेक्रम ठप्प छ । मलेसिया जाने कामदारलाई अतिरिक्त आर्थिक भार नपर्ने तथा कामदार जाँदाको सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने गरी श्रम मन्त्रालय र मलेसियाको मानव संशाधन मन्त्रालयबीच पहिलो चरणमा आपसी सम्झौताको मस्यौदा आदान–प्रदान भइसकेको छ ।

दुवै सरकारबीच भइरहेको संवादबाट अलग राखिएको नेपालस्थित मलेसियन दूतावास भने विगतको संरचना मलेसियाको मापदण्डको रूपमा रहेको र नेपालले त्यसलाई स्विकार्नुको विकल्प नरहेको भन्दै सञ्चार माध्यममा सार्वजनिक अभिव्यक्ति दिँदै आएका व्यवसायीहरूको आरोप छ । ‘मन्त्रीज्यूले सरकार खुला प्रतिस्पर्धाको पक्षमा रहेको भन्दै कार्यबाहक राजदूतले यस किसिमको सार्वजनिक अभिव्यक्ति दिन नमिल्ने भन्नुभएको छ,’ रेग्मीले भने, ‘दुई सरकारबीच भएको संवाद राजदूतलाई जानकारी नभएको हुन सक्छ ।’

Published On: 5 September 2018 | Naya patrika

Back to list

;