s

मलेसियन दूतावासबाट सोझै भिसा पाएकालाई श्रमस्वीकृति दिन सुरु

कलिङ भिसा पाएका श्रमिकको विवरण लिनेछौं : मन्त्रालय

व्यवसायीले भिसा प्रक्रियाको लागि फाइल पेश गर्नेछौं : संघ

होम कार्की

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंस्थित मलेसियन दूतावास आफैंले राहदानी लिई श्रमिकलाई सोझैं भिसा उपलब्ध गराइएमा श्रमस्वीकृति दिने निर्णय गरेको छ ।

मन्त्रालयको निर्णय अनुसार वैदेशिक रोजगार विभागले दूतावासबाट सोझै भिसा पाएका २० जनालाई श्रमस्वीकृति दिएको हो । श्रमस्वीकृति पाएका २० जना मलेसिया गइसकेका छन् । श्रम सम्झौतापछि मलेसिया जाने यो पहिलो समूह हो । उनीहरु ओटा टनेल कम्पनीमा ५ हजार रिंगेट तलब पाउने गरी गएका हुन् ।

विभागले काठमाडौंस्थित मलेसियन दूतावासको पत्रलाई टेकेर श्रमस्वीकृति दिइएको जनाएको छ । ‘दूतावासबाट सोझै‌ं भिसा पाएकालाई श्रमस्वीकृति दिन कम्पनीले विभागमा निवेदन दिएको थियो । त्यसलाई श्रमस्वीकृति दिन मन्त्रालयबाट सहमति प्राप्त भयो,’ विभागका महानिर्देशक दिलिप चापागाईले कान्तिपुरलाई भने,‘दूतावासले भिसा पाएका नामवलीसहित पत्र पठाएको थियो ।’

विभागका अनुसार दूतावासले यसैगरी भिसा पाउने श्रमिकको नामावलीसहित पत्र पठाएमा श्रमस्वीकृति दिँदै जानेछ । सरकारले गत जेठ २ देखि मलेसिया जाने नयाँ श्रमिकको श्रमस्वीकृति रोकेको थियो । गत कार्तिक १२ गते दुई देशबीच द्धिपक्षीय श्रम सम्झौता भएपनि श्रमस्वीकृति प्रक्रिया सुचारु भएको थिएन ।

भिसा प्रक्रियाको लागि वैदेशिक रोजगार व्यवसायीले सोझै राहदानी बुझाउन जाँदा काठमाडौंस्थित मलेसियन दूतावासले राहदानी लिने गरेको छैन । दूतावासले भिएलएन नेपालमार्फत भिसा प्रक्रिया गर्न भन्दै आएको छ । भिएलएनलाई सरकारले खारेज गरेको छ । काठमाडौं र ललितपुर जिल्ला अदालतमा भिएलएन विरुद्ध मुद्दा छ । ललितपुर अदालतले भने भिएलएनको मुद्दा खारेज गरिदिएको छ ।

वैदेशिक रोजगार व्यवसायी संघले श्रमिकले भिसा प्रक्रियाको लागि भिएलएन नेपाललाई रकम बुझाएको जनाएको छ । श्रमिकले भिसा प्रक्रियाको लागि ७ हजार चार सय रुपैया शुल्क बुझाएको हो । ‘व्यवसायीले कलिङ भिसा पाएका श्रमिकलाई श्रमस्वीकृति दिन वैदेशिक रोजगार कार्यालयमा फाइल पेश गर्नेछ,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले भने, ‘कार्यालयबाट व्यक्तिगत मात्रै नभई संस्थागत रुपमा जाने श्रमिकलाई श्रमस्वीकृति प्रक्रिया अगाडि बढाइनेमा हामी आशावादी छौं । त्यसको लागि मन्त्रालयबाट आवश्यक सहजीकरण हुने अपेक्षा राखेका छन् ।’श्रमस्वीकृति दिइएमा मन्त्रालयले कारण, औचित्य, सहित सबैले बुझ्ने भाषामा स्पष्ट पार्नुपर्ने गुरुङले बताए ।

श्रम समझदारीको भावना अनुरुप श्रमस्वीकृति प्रक्रिया अगाडि बढाएको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयले कलिङ भिसा पाएकालाई सोझै भिसा उपलब्ध गराउन मलेसियालाई अनुरोध गरेको छ । झन्डै १० हजार श्रमिकले कलिङ भिसा पाएको वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ ।

मन्त्रालयले कलिङ भिसा पाएको श्रमिकको विवरण संकलन गर्ने तयारी गरेको छ । ‘उनीहरुको राहदानी दूतावासबाटै लिई भिसा दिने वा त्यही कलिङ भिसाको आधारमा गई मलेसिया पुगेपछि भिसामा छाप लगाइदिने । यो दुई वटै विकल्पमा श्रमिक पठाउन मन्त्रालय तयार छ,’ मन्त्रालयका एक उच्च अधिकारीले कान्तिपुरलाई भने,‘दूतावासले सहयोग गरेमा विभागबाट कलिङ भिसा पाएकालाई पनि श्रमस्वीकृति दिलाइन्छ ।’

मन्त्रालयले सम्झौतामा उल्लेख गरिएको संयन्त्रलाई मात्रै कार्यान्वयन गर्ने जनाएको छ । श्रम सम्झौतामा श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था र औठा छाप लिने संयन्त्र मात्रै उल्लेख गरिएको छ । भिसा प्रक्रियाको लागि श्रमिकको राहदानी संकलन गर्ने र दूतावासबाट राहदानी पठाई तथ्याङ्क राख्ने संयन्त्रबारे उल्लेख छैन ।

मन्त्रालयले स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाको छनोटको लागि मापदण्ड पठाइदिन मलेसिया सरकारलाई पत्र पठाइसकेको छ । ‘हाम्रो चाहना मलेसिया जाने श्रमिकलाई रोक्ने होइन,’ ती अधिकारीले भने,‘यथासक्य छिटो मापदण्ड पठाउन अनुरोध गरेका छौं ।’

Published On: 21 January 2019 | Kantipur

Back to list

;